Comments Add Comment

गोल्डेन गेट कलेजको परीक्षा केन्द्र खारेज

BISHWAPRAKASH-PANDIT

२१ मंसिर, काडमाडौं । एमबीबीएसका बिद्यार्थीको छात्रवृत्तिका लागि आगामी साता हुन लागेको परीक्षा अब गोल्डेन गेट कलेजमा नहुने भएको छ ।

राजधानीका ९ स्थानमा शनिबार भएको परीक्षाका क्रममा प्रश्नपत्र बिक्री गरेको अभियोगमा गोल्डेनगेट कलेजका निर्देशकसमेत पक्राउ परेपछि सो कलेजको परीक्षा केन्द्र खारेज गरिएको शिक्षा सचिव विश्वप्रकाश पण्डितले आइतबार जानकारी दिएका छन् ।

शनिबार गोल्डेनगेट कलेजसहित राजधानीका ९ वटा परीक्षा केन्द्रबाट करिब पाँच हजार विद्यार्थीले एमबीबीएसको छात्रवृत्तिका लागि परीक्षा दिएका थिए ।
राजधानीका एलआरआइ कलेज, ट्रिनिटी, पेन्टागन, काठमाडौं मोडल, एम्बिसन एकेडेमी, लिभरपुल, नोबेल एकेडेमी र सायथ वेस्टर्न कलेजका परीक्षा केन्द्रहरु यथावत छन् ।

खारेज गरिएको गोल्डेन गेटको परीक्षा केन्द्र कुन कलेजमा सार्ने भन्ने शिक्षा सचिवले स्पष्ट पारेनन् । शिक्षा सचिव पण्डितले प्रश्नपत्र विक्री गर्ने घटनामा संलग्नमाथि कडा कारवाही हुने र अबदेखि सोर्सफोर्सका आधारमा नभई प्रतिभाशाली विद्यार्थीले मात्रै छात्रवृत्ति पाउने दाबी गरे ।

रिपोर्टस क्लवले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव पण्डितले आब आइन्दा यस्तो घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएका छन् ।

शिक्षाविद डा. विद्याधर कोइरालाले छात्रवृत्तिको विक्री हुनु दुखद रहेको भन्दै परीक्षा प्रणालीमा परिवर्तन गरिनुपर्ने बताए ।

कार्यक्रममा हिसानका महासचिव युवराज शर्मा, प्याब्सनका महासचिव डीके ढुंगाना र हिसानका सचिव बुद्धि पुडासैनी लगायतले प्रश्नपत्र खरिद-बिक्रीको विरोध गरेका थिए ।

एमबीबीएसका विद्यार्थीको प्रश्नपत्र प्रतिवक्ति १० लाखमा विक्री भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार गोल्डेनगेट कलेजका निर्देशक देवीराम पाण्डे र प्राध्यापक खेचरराज सापकोटासहित करिब आधा दर्जनलाई पक्राउ गरेको छ ।

शनिबार रद्द भएको परीक्षा मंसिर २७ गते शनिबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment