Comments Add Comment

नेपाली सिमेन्ट बजारमा ‘अर्घाखाँची’ ब्रान्डको प्रवेश

Arghakhanchi-Cement-Industry

नविन अर्याल

२२ मंसिर, भैरहवा । रुपन्देहीको मैनहीयामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले व्यवसायीक रुपमा सिमेन्ट उत्पादन शुरु गरेको छ । तीन अर्ब रूपैयाँ लगानी रहेको उद्योगले यसै हप्तादेखि ‘अर्घाखाँची’ ब्रान्डमा ओपीसी सिमेन्ट बजारमा पठाउँदै छ ।

लामो समयदेखि सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर उत्पादन गर्दै आएको उद्योगले आफै सिमेन्ट उत्पादन सुरु गरेको हो । मुलुकमा बन्ने ठूला परियोजनलाई लक्षित गर्दै शत् प्रतिशत ओपीसी सिमेन्ट बजारमा ल्याउन लागेको उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए । उद्योगमा ५ सय जनाले प्रत्यक्ष तथा ६ सय जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएको बताइएको छ ।

उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक एक हजार मेट्रिक टन रहेको रहेको छ । सिमेन्टको उत्पादनसँगै उद्योगले क्लिङ्कर उत्पादन क्षमता बढाएर दैनिक १२ सय मेट्रिक टन पुर्‍याएको मुरारकाले जानकारी गराए । उद्योग सञ्चालन गर्दा यसको क्लिङ्कर उत्पादन क्षमता दैनिक ६ सय मेट्रिक टन रहेको थियो ।

उद्योगमा १७.५ प्रतिशत विदेशी लगानी रहेको छ भने ८२.५ प्रतिशत स्वदेशी लगानी रहेको छ । जसमध्ये मुरारका अर्गनाइजेशनको ३० प्रतिशत, सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, केडीया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत शेयर हिस्सा रहेको छ ।

अर्घाखाँची सिमेन्ट उच्च गुणस्तरको रहेको दाबी गर्दै सञ्चालक मुरारकाले सरकारी मापदण्डअनुसार सिमेन्टको गुणस्तर ३३ एमपीए हुनुपर्नेमा यसको गुणस्तर दोब्बर ७२ एमपीए रहेको बताए । उद्योग अवलोकन गर्न आइतबार उद्योगस्थल पुगेका आर्थिक पत्रकारहरुलाई उनले यसको परीक्षण समेत गरेर देखाएका थिए ।

‘हामीले सिमेन्टको स्याम्पल पठाएका सिने हाइड्रो लगायतका परियोजनाहरुले राम्रो प्रतिकृया दिइरहेका छन्’ सञ्चालक मुरारकाले भने- ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’ उद्योगले लेमिनेटेड बोरामा सिमेन्ट बजारमा पठाउने बताएको छ ।

Arghakhanchi-Cement-udyog-2

सरकारले सिमेन्ट उद्योगलाई उच्च प्राथमिकतामा राखेर सुविधाहरु दिइरहेको हुँदा यसमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । सिमेन्टमा आत्मनिर्भरतातर्फ उन्मुख रहेको नेपालमा विदेशीहरू समेत सिमेन्ट उद्योगमा लगानीका लागि आकषिर्त भइरहेक छन् ।

सरकारले सिमेन्ट उद्योगका लागि खानीसम्म पुग्ने सडक र बिजुलीको व्यवस्था गरिदिने गर्छ । अर्घाखाँची सिमेन्ट उद्योगले अहिलेसम्म कुनै सुविधा नलिएको मुरारकाले दाबी गरे । ‘सरकारले सुविधा कुरेर बस्ने हो भने एक वर्षमा सम्पन्न हुने सडक बन्न ६ वर्ष लाग्ला, कति समय कुर्ने ?’ उनले भने- ‘सडक निर्माण गरिसकेका छौं, हाम्रो अपेक्षा सरकारले यस बाटोलाई स्तरोन्नती गरिदियोस भन्ने हो ।’

सञ्चालक मुरारकाले बिजुली नियमित आपूर्ति गरिदन सरकारसमक्ष आग्रह गरेका छन् । विद्युत नियमित नभएका कारण जेनेरेटर चलाउनुपर्ने बाध्यता हुँदा वाषिर्क २० करोड रुपैयाँ सञ्चालन खर्च बढेको गुनासो उनको छ ।

सरकारले नियमित बिद्युत आपूर्तिको व्यवस्था गरिदिएमा उत्पादन लागत घट्न गई सिमेन्टको मूल्य कम पर्न जाने सञ्चालकहरु बताउँछन् । सस्तो मूल्यमा सिमेन्ट उत्पादन गर्न सकेमा भारतमा समेत निकासी बढाउन सकिने मुरारकाले बताए ।

भारतको सीमावर्ती क्षेत्रमा सिमेन्ट उद्योग नभएका कारण उनीहरुले नेपालबाट सिमेन्ट आयात गर्ने सम्भावना छ । स्वदेशी कच्चा पदार्थ समेत नेपालमा हुँदा पनि विद्युत नियमित आपूर्ति नहुँदा सिमेन्ट महंगो पर्न गएको हो ।

Arghakhanchi-Cement-udyog--3

अर्घाखाँची सिमेन्टले आफ्नै क्लिङ्कर प्रयोग गर्नेछ । उद्योगको अर्घाखाँचीमा आफ्नै चुनढुंगा खानी रहेको छ । साथै, उद्योगले पाल्पामा रहेको खानीबाट पनि चुनढुंगा ल्याउने गर्छ । आफुहरुसँग चुनढुंगाको प्रयाप्त खानी रहेको बताउँदै सञ्चालक मुरारकाले अबको ३५/४० वर्षसम्म यी खानीले उद्योग धान्ने दाबी गरे ।

मुरारकाका अनुसार अहिले सिमेन्ट उद्योगहरुले चुनढुंगा ढुवानी लागत घटाउने प्रयास गरिरहेका छन् । ढुवानीमा मोटो रकम खर्च हुने हुँदा पनि उत्पादन कष्ट बढेको उद्योगीहरुको भनाई छ । उद्योगबाट खानीसम्म पुग्ने बाटो सरकारले स्तरोन्नती गरिदिएमा ठूला ट्रकहरु चलाउन मिल्ने र ढुवानी खर्च पनि घट्ने अपेक्षा उनको मुरारकाको छ ।

उद्योगले करिव २० विगाहा जमिन ओगटेको छ । ९५ प्रतिशत क्लिङ्करमा ५ प्रतिशत जिक्सन मिसाएर ओपीसी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ ।

ठूला प्रोजेक्टका लागि भारतीय सिमेन्टमा भर पर्नुपर्ने बाध्यता अर्घाखाँची सिमेन्टले कम गर्ने सञ्चालकहरुको विश्वास छ । अहिले अधिकांश ठूला परियोजनाका लागि भारतबाट सिमेन्ट आयात गरिदै आएको छ ।

Arghakhanchi-Cement-udyog

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment