२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको कारण देशको प्रतिष्ठामा आँच आएको बताएका छन् । ‘साना माछा’लाई कारवाही गरेर ‘ठूला माछा’लाई उन्मुक्ति दिएको आरोप लागिरहेकोबेला कार्कीले ठूला-साना कुनै पनि भ्रष्टाचारीलाई नछाड्ने चेतावनी दिएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोग केन्द्रीय कार्यालय नक्शालमा आयोजित कार्यक्रममा कार्कीले एक हजार प्रतिष्ठित व्यक्तिहरु छानविनको दायरामा ल्याइएको भन्दै भ्रष्टाचारी जो भए पनि नछाड्ने बताए ।
मुलुकको राजनीतिक संवेदनशीलतालाई विचार पुर्याएर उपयुक्त समयमा ‘ठूलो माछा’ लाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।
कर्मचारीतन्त्रमा अनुशासन हरायो
अख्तियार प्रमुख कार्कीले कर्मचारीतन्त्रमा अनुशासन र जिम्मेवारी हराउँदै गएको बताए । उनले मन्त्रालयका सचिवहरुले केही हदसम्म हिम्मत गर्ने हो भने अमर्यादित र अनियमिता हट्ने जिकिरसमेत गरे ।
‘होनहार विद्यार्थीको भाग्य र क्षमतालाई समाप्त गर्दै पैसाको आडमा कस्तोसम्म अपराध हुँदो रहेछ भन्ने लापरबाहीको पराकाष्ठाको एउटा नमूना चिकित्सा क्षेत्रको छात्रवृत्तिको परीक्षाबाट भेटिएको छ,’ कार्कीले भने, ‘चिकित्सा क्षेत्रमा भएको यस किसिमको लापरबाही गर्नेलाई कानूनी कठघरामा उम्याइने छ ।’
जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायमा हुने कामकारबाही र अत्यावश्यक दैनिक खाद्य पदार्थमा हुने मिसावट रोक्न आवश्यक संख्यामा दरबन्दी सिर्जना गरेर अनुगमन र कार्यान्वयको पाटालाई बलियो बनाउनुपर्ने उनले खाँचो औंल्याए ।
सुदूरपश्चिमाञ्चल क्षेत्रका पहाडी र कर्णाली अञ्चलका जिल्लामा वार्षिक रुपमा कम्तीमा दुई पटक आयोगले अनुगमन गर्ने कार्यतालिका बनाएको कार्कीले जानकारी दिए । मध्य तराईका आठ जिल्लामा ७ सय ७० झोले विद्यालयका नाममा निकासा हुँदै आएको अनुसन्धानबाट फेला परेको उनले जानकारी दिए ।
विद्युत् आयोजना सम्वन्धित निर्णयको बचाउ
केही विद्युत् आयोजनाका बारेमा आयोगबाट भएका निर्णयको भने उनले बचाउ गरे । कार्कीले भने, ‘आयोगलाई कुनै पनि कार्यकारी अधिकार छैन, चाहँदैनौँ र खोजेको पनि होइन, आयोजना रद्द गर्ने निर्देशन पनि भएको होइन ।’
मुख्य सचिव लीलामणि पौडेलले निजामती सेवामा रहका कर्मचारीले सार्वजनिक इज्जत र प्रतिष्ठा स्थापित गर्न जनताले अनुभूत गर्ने गरी भ्रष्टाचार नियन्त्रणको प्रयास गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4