पुष्प दुलाल
२४ मंसिर, काठमाडौं । उपेन्द्र पौडेल वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष हुन् । वाल्यकालमा डाक्टर हुने सोच बनाएका पौडेल डाक्टर बन्न नसकेपछि बैंकिङ क्षेत्रमा लागेका हुन् । तर, यो क्षेत्रमा उनी सफल बनेका छन् ।
गत शुक्रबार मात्रै पौडेल नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सन् १९८६ मा तत्कालीन ग्रीनलेज (हालको स्टान्डर्ड चार्टड) बैंकदेखि बैंकिङ करियर सुरु गरेका पौडेल सन् २००८ देखि अहिलेसम्म एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत छन् ।
‘डाक्टर बन्न दिएको परीक्षामा फेल भएपछि व्यवस्थापनको पढाइ सुरु गरेँ’ पौडेलले अनलाइनखबरसँग भने – बैंकर हुन्छु भन्ने त सोचेको पनि थिइँन । तर, बैंकिङ करियर सुरु गरेपछि यसैमा रमाएको छु । ‘जिन्दगी सोजेजस्तो भन्दा पनि भोगेजस्तो हुँदोरहेछ’ उनको निश्कर्ष छ ।
सुरुको तलब ४६१ रुपैयाँ
एकजना मान्छे सानो ठाउँबाट संघर्ष गरेर कसरी सफल बन्न सक्छ भन्ने एउटा संघर्षशील उदाहरण हुन् पौडेल । एकताका मासिक ४ सय ६१ रुपैयाँ तलव खाने पौडेल अहिले मासिक सात लाख रुपैयाँ तलब खान्छन् । आफ्नो आम्दानीबाट उनी राज्यलाई मासिक अढाइ लाख रुपैयाँ कर तिर्न सक्ने भएका छन् ।
सोल्टी होटलमा ३४ वर्षअघि काम सुरु गर्दा पहिलो महिना ४ सय ६१ रुपैयाँ तलब थापेको पौडेलको अनुभव छ । अहिले बैंकमा उनको तलब मासिक ७ लाख रुपैयाँ छ ।
तलबको ३५ प्रतिशत अर्थात मासिक २ लाख ४५ हजार रुपैयाँ राज्यलाई कर तिरेपछि बाँकी मासिक ४ लाख ५५ हजार रुपैयाँ उनका हातमा पर्छ ।
बैंकिङ करियर सुरु गर्दा सन् १९८६ मा उनको मासिक तलब २८ सय रुपैयाँ थियो ।
पारिवारिक हिसावले पनि पौडेलले राम्रो प्रगति गरेका छन् । उनका दुई छोरी अमेरिका र जापानमा स्नातक अध्ययन गरिरहेका छन् । छोरीहरुको पढाइमै मोटो रकम खर्च हुने गरेको पौडेल बताउँछन् ।
मधुसुदन र सोमना पौडेलको पहिलो सन्तानका रुपमा ०१५ सालमा काठमाडौंको बत्तीसपुतलीमा जन्मिएका उपेन्द्र इमानदारितासहितको मिहेनतमा रमाउने बताउँछन् ।
उनले ०४९ मा त्रिभुवन विश्व विद्यालय कीर्तिपुरबाट व्यवस्थापनमा स्नात्तकोत्तर पूरा गरेका छन् ।
पौडेले ग्रीनलेजमा सन् १९८६ देखि २००० सम्म काम गरे । ‘म ग्रीनलेजमा आवद्ध भएको एक महिनापछि पर्शुराम कुँवर, अजय श्रेष्ठ, उदय उपाध्याय र सुदेश खालिङले काम सुरु गरे ।
‘अहिले हामी सबै वाणिज्य बैंकका सीइओ भइसकेका छौं’ पौडेल स्मरण गर्छन् । यीमध्ये कुँवरले हालैमात्र ग्राण्ड बैंकको सीइओबाट राजीनामा दिएका छन् ।
श्रेष्ठ बैंक अफ काठमाडौंको, उपाध्याय कुमारी बैंकको र खालिङ लक्ष्मी बैंकको सीइओमा कार्यरत रहेको पौडेलले सगर्व सुनाए ।
पौडेल भन्छन्- ‘सन् १९८० देखि नै सोल्टी होटलको वित्त विभागका काम गरेको अनुभव भएकाले ग्रीनलेजले मलाई सुरुमै अधिकृत पदमा नियुक्त गर्यो ।’
ग्रीनलेजमा जागिर सुरु गरेको अर्को वर्षमा आयोजित सेमिनारमा ‘तिम्रो सोच के छ ?’ भनेर सोधिएको प्रश्नमा ‘पाँच वर्षमा विभागीय प्रमुख र १० देखि १५ वर्षमा सीइओ बन्ने सोच छ’ भन्ने उत्तर दिएको पौडेल सम्झन्छन् ।
आफ्नै पेसामा सन्तुष्टि
बिरामीको उपचार सफल हुँदा डाक्टरलाई सन्तुष्टि भएजस्तै आफूले ऋण दिएको व्यक्तिले ऋणको सदुपयोग गरी करोडौं कमाएको देख्दा बैंकरको मन सन्तुष्ट हुने उनले बताए ।
‘मैले ऋण उपलब्ध गराएर धेरैलाई करोडपति बनाएको छु’ पौडेल भन्छन्, ‘यसैमा मन रमाएको छ ।’
आफ्नो बलबुँता र क्षमताले भ्याएसम्म बैंकिङ क्षेत्रको विकासका लागि काम गर्ने उनी बताउँछन् ।
‘मैले बैंकिङ सुरु गर्दा अहिलेको बैंकिङमा आकाश-जमीनको अन्तर छ’ पौडेल भन्छन् -अबको बैंकिङ भनेको अझै प्रविधियुक्त र जनमुखी हुन जरुरी छ ।
बैंकहरुले पूर्वाधार, साना तथा मझौला व्यवसाय र उर्जामा लगानी बढाउनुपर्ने उनको धारणा छ । परियोजना धितोमा कर्जा दिन सक्ने र दिने व्यवस्था मिलाउन आफू निरन्तर लागिरहने उनी बताउँछन् ।
सन् २००० मा पौडेलले निजी क्षेत्रको पहिलो मर्चेन्ट बैंकिङ नेपाल मर्जेन्ट बैंकिङ एण्ड फाइनान्सको सीइओ जिम्मेवारी पाए । यही मर्चेन्ट बैंकिङको स्तरोन्नति भएर २००८ मा ‘क’ वर्गको एनएमबि बैंक बनेको हो ।
बैंकर्स संघको नेता बनेपछि
भर्खरै प्राप्त गरेको संघको अध्यक्षको जिम्मेवारी आफ्ना लागि अवसर भएको पौडेलको बुझाइ छ ।
‘मैले चुनौती भन्दा बढी अवसर देखेको छु’ उनले भने -‘म एक्लै होइन, सरोकारवालासँग मिलेर अघि बढ्छु ।’
अरुलाई खुसी बनाएर काम गर्न सक्ने क्षमता आफूमा भएको उनले सुनाए । ‘म जे काम गर्छु, अरुलाई खुसी बनाएरै गर्छु’ उनले भने ।
भावी सोच
कम्तिमा अब ५/७ वर्ष सक्रिय बैंकिङमा रहने पौडेलको सोच छ । आफूसँग भएको बैंकिङ क्षेत्रमा काम गरेको ३०-३५ वर्षे अनुभव रिटायर्ड लाइफमा पनि बैंकिङ क्षेत्रमै लगाउने उनको योजना छ ।
‘राज्यले मेरो अनुभवको कदर गरेर उचित जिम्मेवारी दिन्छ भन्ने अपेक्षा गरेको छु’ उनी भन्छन् – ‘बैंकिङ र पुँजी बजारको क्षेत्रमा जस्तो जिम्मेवारी पाए पनि गर्न सक्छु ।’
गभर्नर वा धितोपत्र बोर्डको अध्यक्ष वा सञ्चालक पदका लागि आफू तयार रहेको उनको आशय देखिन्छ ।
एनएमबिबाट रिटायर्ड हुँदा यो बैंकलाई हरेक हिसाबमा एक नम्बरमा बनाउने उनको सोच छ । ‘मैले छोड्दा सकेसम्म एक नम्बरको, नसके पनि टप फाइभ बैंक बनाएर मात्रै छोड्छु’ पौडेल भन्छन् ।
पछिल्लो समयमा एनएमबि बैंकले मर्जरलाई अभियानकै रुपमा अघि बढाएको छ । एनएमबिले चारवटा विकास बैंकसँग मर्जरको प्रक्रिया अघि बढाइसकेको छ । ‘अरु केही संस्थासँग पनि मर्जरको कुरा भइरहेको छ’ उनी भन्छन् -अब ठूलो नभई प्रतिस्पर्धा गर्न सकिन्न ।
भिडियो-
                    

                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4