Comments Add Comment

नेपाललाई फकाउन ओलीलाई उनकै टिमको सुझाव

KP-madhav-final
फाइल फोटो

२४ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनी निकटका नेताहरुले पार्टीभित्रको समीकरण मिलाउन र माधव नेपाल पक्षलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा पोलिटव्यूरो तथा स्थायी समिति गठन, कार्य बिभाजन लगायत महत्वपूर्ण सांगठनिक निर्णय हुन लागेका बेला ओलीलाई उनी निकट नेताले नेपाललाई सहमतिमा लिएर अघि बढ्न सुझाव दिएका हुन् ।

ओलीलाई उनी निकटका नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल, अग्नि खरेल लगायतले मिलाएर अघि बढ्न सुझाव दिएका हुन् ।

‘अध्यक्षलले आफूलाई सुबिधा हुने गरि बहुमत राखेर नेपाल पक्षलाई पोलिटव्यूरोमा सम्माजनक स्थान दिन सुझाव दिइएको छ’एक नेताले भने ।

स्रोतका अनुसार पार्टीभित्रको कार्यबिभाजन र पोलिटव्यूरो गठनका सन्दर्भमा अध्यक्ष ओलीले आफ्ना प्रतिस्पर्धी नेता नेपालसँग यसबीच पाँच चरण छलफल गरिसकेका छन् ।

बुधवार केन्द्रीय कमिटी बैठक बस्नुअघि पनि अध्यक्ष ओली र नेता नेपालबीच गोप्य छलफल भएको थियो । तर नेपालले अहिलेसम्मका ओलीका कामप्रति असहमति जनाउँदै बराबरी पावर शेयरिङको कुरा उठाएको स्रोतले जनाएको छ ।

नेपाल पक्षधर केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष ओली जसरी प्रस्तुत हुन्छन्, आफूहरु पनि सोही अनुरुप जाने बताए । ‘मिल्ने हो भने मिलेर जाने, भिड्ने नै हो भने भिड्ने कुरा भएको छ,’ गैरेले भने ।

विधानमा सहमति नभई प्रकाशित गरेर पठाएकोमा नेपाल पक्षले असहमति जनाएको छ । ओली भने विधानको बिवादमा नपरी सहमति जुटाउन लागेका छन् ।

सकेसम्म नेपालसँग कुरा गरेर सहमति जुटाउने, सहमति हुँदै नभए निर्वाचनबाट पोलिव्यूरो चयन गर्ने संकेत नेताहरुले देखाएको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि बुधवार विहान पदाधिकारी बैठक बसेको थियो । त्यो बैठकले पनि कुनै स्पष्ट एजेण्डा तय गर्न नसकेको बताइएको छ ।

महासचिव इश्वर पोखरेलले केन्द्रीय सदस्यहरुको कार्य बिभाजनको प्रस्ताव भने तयार पारेको स्रोतले जनाएको छ । केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय बल्खुमा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment