Comments Add Comment

एक बर्षमा ८ हजार नेपाली बिद्यार्थी अमेरिका पुगे

Study-in-USA२९ मंसिर, काठमाण्डौ । अमेरिकामा विदेशी विद्यार्थीको संख्या ऐतिहासिक विन्दुमा पुगेको बेला नेपाली विद्यार्थीको संख्या भने निरन्तर घटिरहेको छ । अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको यो लगातार पाँचौ बर्ष हो ।
अमेरिकाको इन्स्टिच्यूट अफ इन्टरनेशनल एजुकेशनले सार्वजनिक गरेको एक रिपोर्टअनुसार शैक्षिक सत्र सन् २०१३/१४ मा ८ हजार १ सय ५५ नेपाली बिद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् । यो अघिल्लो बर्षको तुलनामा ८.६ प्रतिशतले गिरावट हो ।
सन् १९९० यताको तथ्याङ्क सार्वजनिक गर्दै अमेरिकी संस्था ओपन डोर्सले नेपाली विद्यार्थीको संख्या सन् २००८।०९ सम्म नाटकीय रुपमा बढेको भएपनि त्यसयता निरन्तर घटेको जनाएको छ ।
सन् १९९५/०९६ मा १२ सय १९ जना नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । जबकी सन् २०१२/१३ मा ८ हजार ९ सय २० जना नेपाली विद्यार्थीले अमेरिकामा अध्ययन गरेका थिए । सन् १९९५ यता अमेरिका जाने नेपाली बिद्यार्थीको संख्या १ लाख १० हजार पुगेको छ ।

nepali-students-in-USA

अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको बेला नेपाल पढ्न आउने अमेरिकी विद्यार्थीको संख्या भने ४९ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार शैक्षिक सत्र सन् २०१२/१३ मा ३ सय ८३ जना अमेरिकी विद्यार्थीहरु नेपालमा अध्ययन गरिरहेका छन् ।
जबकी त्यो भन्दा अघिल्लो वर्ष २ सय ५७ जना अमेरिकी विद्यार्थी नेपाल पढ्न आएका थिए । पछिल्लो शैक्षिक सत्र सन् २०१३।१४ को तथ्यांक भने अहिलेसम्म प्राप्त नभएको रिपोर्टमा उल्लेख छ ।

के पढ्छन अमेरिकामा नेपालीले ?
अमेरिका पढ्ने नेपाली विद्यार्थी मध्ये विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित सम्बद्ध विषय अध्ययन गरिरहेका विद्यार्थीहरु कुल विद्यार्थीको ६५ प्रतिशत छन् ।
त्यसमा इन्जिनियरिङ २० प्रतिशत, चिकित्सा ८.५ प्रतिशत, गणित तथा कम्प्युटर विज्ञान १३.९ प्रतिशत, फिजिकल तथा लाइफ साइन्स २३.१ प्रतिशत रहेका छन् ।
त्यस्तै वाणिज्य तथा व्यवस्थापनमा १५.९ प्रतिशत, शिक्षामा ०.७ प्रतिशत, फाइन तथा एप्लाइड आर्टसमा १.१ प्रतिशत, मानविकिमा ०.८ प्रतिशत तथा अंग्रेजी भाषामा ०.१ प्रतिशत रहेका छन् ।
त्यस्तै सामाजिक विज्ञानका विद्यार्थी ५.२ प्रतिशत, अन्यमा ७.६ प्रतिशत र विधा नखुलेका विद्यार्थीमा ३ प्रतिशत रहेका छन् ।

अमेरिका पढ्ने नेपाली विद्यार्थीमध्ये ४१.२ प्रतिशत अण्डर ग्राजुएट, ३७.७ प्रतिशत ग्राजुएट तथा ०.९ प्रतिशत अन्य तहका छन् भने २०.६ प्रतिशत ऐच्छिक व्यवहारिक तालिमका लागि अमेरिका गएका छन् ।
नेपाली विद्यार्थीहरुले अमेरिकाको अर्थतन्त्रमा पछिल्लो शैक्षिक सत्रमा ३० करोड १० लाख डलर योगदान गरेको रिपोर्टले देखाएको छ ।
नेपाल १६ औं नम्बरमा, चीन पहिलो
प्रतिवेदन अनुसार अमेरिकामा पढ्ने विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढि चिनियाँ विद्यार्थी छन् । अमेरिकामा पढ्ने विदेशी विद्यार्थीमध्ये ३१ प्रतिशत चिनियाँ विद्यार्थी रहेका छन् । पछिल्लो शैक्षिक सत्रमा २ लाख ७४ हजार ४ सय ३९ जना चिनिया विद्यार्थीले अमेरिकामा अध्ययन गरिरहेका छन् जुन अघिल्लो वर्षको तुलानामा १६.५ प्रतिशतले बढि हो ।
दोश्रो स्थानमा भारतीय विद्यार्थी १२ प्रतिशत अर्थात् १ लाख २ हजार ६ सय ७३ छ । त्यस्तै दक्षिण कोरियाली विद्यार्थीको संख्या ८ प्रतिशत, साउदी विद्यार्थीको संख्या ६ प्रतिशत रहेको छ । अमेरिका पढ्न जाने चिनिया र भारतीय विद्यार्थीको संख्या बढिरहेको र कोरियाली विद्यार्थीको संख्या घटिरहेको पाइएको छ ।
सन् २०१३/१४ मा विदेशी विद्यार्थीले अमेरिकाको अर्थतन्त्रमा २७ अर्ब अमेरिकी डलर योगदान गरेको रिपोर्टले देखाएको छ ।

international-students-in-U
अमेरिकी बिद्यार्थी कहाँ जान्छन पढ्न ?
तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकी विद्यार्थीहरु पढ्न गएको मुलुक बेलायत हो । पछिल्लो शैक्षिक सत्रमा २ लाख ८९ हजार अमेरिकी विद्यार्थीहरु बेलायत पढ्न गएका छन् । धेरै अमेरिकी विद्यार्थी पढ्न जाने पाँचौ मुलुकको रुपमा चीन रहेको छ ।
अमेरिका पढ्न जाने विद्यार्थीमध्ये ग्राजुएट तहमा ३७, अन्डरग्राजुएट तहमा ४२ प्रतिशत विद्यार्थी छन् । विषयगत हिसाबले व्यवस्थापन तथा वाणिज्यशास्त्र पढ्न जाने विद्यार्थी सबैभन्दा बढि अर्थात् २१ प्रतिशत छन् । दोश्रोमा इन्जिनियरिङका विद्यार्थी रहेका छन् ।

सबैभन्दा धेरै विदेशी विद्यार्थीले पढ्ने अमेरिकाको विश्वविद्यालय न्युयोर्क विश्वविद्यालय हो । जसमा ११ हजार १ सय ६४ जना विदेशी विद्यार्थीले पढ्छन् । अघिल्लो वर्ष यो विश्वविद्यालय चौथो स्थानमा थियो । त्यस्तै दोश्रो स्थानमा १० हजार ९ सय ३२ विदेशी विद्यार्थी सहित साउथर्न क्यालिफोर्निया विश्वविद्यालय रहेको छ भने तेश्रोमा इलिनोइस विश्वविद्यालय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment