Comments Add Comment

‘झापालाई मधेसमा गाभ्दा उपेन्द्र यादवको हालत के होला ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडलाई मधेसमा मिसाएर प्रदेश बनाउनुपर्ने बताएका छन् । झापाली नेता ओलीले झापा, मोरङ र सुनसरीका जनताले ती जिल्लाको राजधानी जनकपुरलाई कुनै पनि हालतमा नमान्ने बताएका छन् । यस्तो अवस्थामा उपेन्द्र यादवको हालत के हुन्छ, आफूले भन्न नसक्ने ओलीको भनाइ छ ।  

फाइल फोटो
फाइल फोटो

झापा, मोरङ र सुनसरीलाई मधेसमा संलग्न गराउन सकिन्छ ?

किन त्यस्तो गर्नुपर्‍यो ? कहाँका जनताको माग हो त्यो ? झापा, मोरङ र सुनसरीको माग छ ? कहाँका मधेसीको माग छ ? म झापाको प्रतिनिधि हुँ, झापाका मधेसीले त त्यस्तो भनेका छैनन् ।

झापा मोरङ, सुनसरी मधेसमा राख्नुपर्छ भन्दा भोलि यस्तो भन्दै हिँड्ने उपेन्द्र यादवको स्थिति के हुन्छ मलाई थाहा छैन । बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, उर्लाबारी जस्तो ठाँउका मानिसहरुले जनकपुर राजधानी स्वीकार्छन् भन्ने कल्पना नै गलत हो ।

त्यहाँका तीन जिल्लालाई मात्रै एउटा प्रदेश बनाउन सकिँदैन ?

त्यो सानो प्रदेश हुन्छ र पहाडतिरको लागि दुश्मनी हुन्छ । पहाडसँग, तराईसँग कुनै दुश्मनी गर्नुहुँदैन । हाम्रो देश हिमाल, पहाड र तराईको देश हो । कुनै पनि हालतमा हिमाल तराई र पहाड अलग नगरी नहुने भन्ने जुन कुरा छ नि त्यसको पछाडि के तर्क हो त्यो ?  मेची कोशी र सगरमाथाका तराईका जिल्लालाई पहाडको जिल्लामा हाल्ने होइन, पहाडका जिल्लालाई तराईमा हाल्ने हो । त्यसो गर्दा के बिग्रन्छ ?

तपाईहरुले त स्वायत्त मधेस प्रदेशको विषयमा सम्झौता गर्नुभएको हो नि ?

सम्झौता त्यतिबेला संविधान जारी होस् भन्ने मनसायका साथ कतिपय उचित अनुचित हुँदाहुँदै गरिएका हुन् । तर, संविधान जारी भएन, संविधानसभा समाप्त भयो ।

हिजोका कुराहरुलाई अहिले हामीले सन्र्दभ सामग्रीको रुपमा लिन सक्छौं । पहिला संविधान जारी भएन । हिजोको संविधानसभाको सीमाभित्र अहिलेको सार्वभौम संविधानसभा रहनुपर्छ भन्ने कुरा गलत हो । उसका कतिपय अनुपयुक्त कुरा लिनुपर्छ भन्ने छैन ।

पहिलो संविधानसभाको उपयुक्त विषय अहिलेकाले स्वीकार गर्ने हो । कुनै असफल संविधानसभाबाट निर्देशित हुन, समिति हुन सार्वभौमसत्ता सम्पन्न संविधानसभा बाध्य छैन । यो पहिलाको निरन्तरता होइन । पहिलो असफल भएपछि बनेको नयाँ संविधानसभा हो ।

संविधान जारी हुन नसक्नुको बाधक केपी ओली भनेर भनेका छन् नि ?

म कुनै निरर्थक बहस र भनाभनमा सहभागी हुन चाहन्न । केपी शर्मा ओली बाधक हुन्थ्यो भने अघिल्लो संविधानसभामा थिएन, संविधान बनाएको भए हुन्थ्यो । उनीहरुसँग अच्छा खासा संख्या पनि थियो । हामीले स्वीकाछौर्ं भनेकै थियौं । संविधान जारी गर्न अनेक उचित अनुचित सर्त मानेकै थियौं ।

संसद नहुँदा संसदबाट बनेको सरकार भएकाले कसले हटाउने ? दुई तिहाइ नभएकाले संविधान जारी गर्न सकेनौं, अब दुई तिहाइ चाहिन्छ भन्ने तर्कका साथ आफूलाई चिरस्थायी बनाउने र सत्तामा रहिरहन चाहने, जनसत्ताका नाममा एक दलीय तानाशाही ब्यवस्था ल्याउने उद्देश्य हावी भए, जसका कारण संविधान बन्न सकेन ।

हाम्रो कार्यतालिका अनुसार गत भदौ १५ गतेभित्र सहमति कायम गरिसक्नुपर्ने थियो । भदौ २१ भित्र सहमति नभए प्रश्नावली बनाएर पेश गर्नुपर्दथ्यो । भदौ मसान्तसम्म जनतामा मस्यौदा जानुपर्दथ्यो । तर, बाबुराम भटट्राईजीले सम्वाद समितिमै अड्काउनुभयो ।

उहाँले अरु पार्टीको धारणा होइन, माओवादीको धारणा, निर्णय र निर्देशन अनुसार गर्नुभयो । समितिका सभापतिको निष्पक्षता र दायित्व उहाँले बहन गर्न सक्नुभएन ।

अब गाँठो कसरी फुकाउने ?

गाठो परेकै छैन, बलजफ्ती गाँठो पार्ने प्रयास भएको छ । बंगलामा, उत्तराखण्डमा हिमालदेखि तराई जोडिएको छ । विहारको जनसंख्या भन्दा कम जनसंख्या भएको भूगोल नेपाल हो । उताचाँहि समथर र पहाड नछुट्याई बनाइन्छ, यहाँ त्यो नहुने । यहाँ त कलुषित भावना छर्न खोजिँदै छ । संघीयतामा जाने हो । तर, नेपालजस्तो सानो देशमा धेरै बनाउनुहुँदैन । थोरै प्रदेश, मिलाएर बनाएको राम्रो । गाँवैपिच्छे प्रदेश मुलुकले धान्न सक्दैन । धेरै बनाएर प्रशासनिक खर्चले देश सकिन्छ ।

सात प्रदेश मेरा लागि अधिकतम सम्झौताको विन्दु हो । आठ नै किन, पाँच नै किन ? जेठ २ गतेको सम्झौता हामीले त गरेकै हौं, उहाँहरुले नै तोडिसक्नुभएको छ ।

संविधान नआउने भयो त अब ?

एमाओवादी र मधेसवादीले रोक्न सके माघ ८ मा आउँदैन । तर, त्यसपछि पनि हामी ल्याउँछौ । तर, म माघ ८ भित्रै जारी गर्न चाहन्छु । संविधान जारी गर्ने विषयमा कोही असहमत हुने कुरा नै मैले बुझ्न सकेको छैन । कसैले कुतर्क गर्छन् भने तर्कद्वारा सम्झाउनुपर्छ ।

तपाईको ध्यान सत्तातिर जान थाल्यो ?

यो संविधान जारी हुन नदिन ध्यान अरुतिर तान्ने षडयन्त्र हो । म प्रधानमन्त्री बन्न खोज्दैछु भन्ने कुराभन्दा संविधान जारी गर्न खोज्दैछु । मैले त सर्वदलीय सरकार बनायो भने संविधान जारी गर्न सजिलो हुन सक्छ भन्ने मेरो कुरा हो । पहिला मधेसवादी दलहरु सकारात्मक थिए । तर, पछि कहाँबाट बाङगिए मैले बुझ्न सकेको छैन ।

एमाओवादी र मधेसवादी सरकारमा नआउने कुरालाई म नकार्दिँन । हामी संविधान जारी गर्ने बेलामा रहेकाले सरकार गठन होइन, विस्तार गर्ने कुरा गरेको हुँ । अहिले सुशील कोइरालाको विकल्प हामीले खोजेको छैन ।

अब माघ ८ त गुज्रिएन र ?

पहिला पनि जेठ १४ गते संविधान जारी गर्न हामी जेठ २ मा सहमति गर्दै थियौ । जेठ १४ गते संविधानसभा विघठन हुँदै थियो त्यो रात पनि हामी सहमतिको लागि प्रयास गर्दै थियौं । संविधान जारी हुन सक्छ । जनतालाई चाहिएको कार्यतालिका होइन, संविधान हो । प्रक्रियाजन्य कुराले संविधान जारी गर्न रोकिनु हुँदैन । प्रक्रियालाई छोट्याउने विधिहरु छन् । कसैले मान्दैन भन्दैमा संविधान जारी नगर्ने ? संविधानसम्मत ढंगले, अन्तर्राष्ट्रिय मान्यताका आधारमा संविधान जारी गर्ने हो ।

त्यसको अर्थ एमाओवादी र मधेसवादी बाहेकै जारी गर्नुहुन्छ ?

हाम्रो प्रयास उहाँहरुलाई सहमतिमा लिएर जारी गर्ने हो ।

उहाँहरुका एजेण्डालाई सम्बोधन गर्न सक्नुहुन्छ ?

उहाँहरुको एजेण्डा नै छैन, उहाँहरुको भावना छ । नेपालको अहित हुने गरी कुनै सेन्टिमेन्टलाई हामी स्वीकार्न सक्दैनौं । सिंगै पहाड र सिंगै तराई अलग गर्नुपर्ने कुरा सम्भव छैन ।

एमालेभित्रको विवाद मिलेको हो ?

निश्चित रुपमा मिलेको छ । हामीवीच अहिले उपयुक्तताको आधारमा सहमति भएको छ । भागबण्डा भएको छैन । एमालेभित्र नेपाल र मेरो मान्छे भन्ने कोही छैन । हामीले स्थायी समिति बनायौं, सहमतिमा । अब एकतावद्ध रुपमा पार्टी अघि बढ्छ ।

तर तपाईहरुले त स्थायी समिति र पोलिटव्यूरोमा भागबण्डा गर्नुभयो नि ?

हामीले भागबण्डा गरेकै होइन । यसलाई भागबण्डाको रुपमा नलिनुहोस । एमालेमा योग्य, सक्षम र पूराना नेताहरुले उचित स्थान पाउनुभएको छ । त्यसैले माधव नेपाल र मेरावीच भागबण्डा गरेर ल्याएको नभनिदिनोस् । अब एमाले केपी ओली र माधव नेपालको भागबण्डामा चल्दैन । बरु पार्टी प्रणालीमा अघि बढ्छ ।

तपाईले जतिसुकै ठूलो कुरा गरे पनि तपाईको पार्टीमा त गुट उपगुट छ नि ?

त्यस्तो कुनै गुट छैन । पार्टीमा अब गुट उपगुट रहँदैन ।

कसरी गुट छैन भन्नुभयो ? एमालेमा ओली गुट, नेपाल गुट, खनाल गुट, गौतम गुट र पोखरेल गुट त कायम नै छ नि ?

अब पार्टी कुनै व्यक्तिगत रुपमा अघि बढ्दैन , बरु संस्थागत रुपमा अघि बढ्छ । एकतावद्ध भएर बढ्छ । अहिले खासगरी म र नेता नेपालवीच भएको सहमतिले पार्टीलाई थप नयाँ उर्जा दिएको छ । अब हामी पार्टीलाई सशक्त, प्रभावकारी र संगठित बनाउँछौ ।

माधव नेपाल र तपाईवीच साँच्चिकै मन मिलेको हो कि देखावटी मात्रै हो ?

माधवजीसँग मेरो मनै मिलेको छ । त्यसैले अब हामीवीच मिलेर पार्टीलाई पूर्णरुपमा एकतावद्ध बनाएर अघि बढाउने सहमति भैसकेपछि अब तपाई सानातिना कुरा नगर्नुहोस् ।

(पत्रकार ऋषि धमला र ओलीवीच भएको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment