Comments Add Comment

निगमको ‘कोइली’ले तीन हजारमा पोखरा उडाउने

Nepal Air y-12 (1)
१ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले चिन सरकारबाट अनुदानमा पाएको ‘वाई १२ ई’ जहाजले बिहीबारदेखि व्यवसायीक उडान सुरु गर्ने भएको छ ।

‘कोइली’ नामकरण गरिएको यस जहाजबाट दैनिक दुईवटा काठमाडौं-पोखरा-काठमाडौं उडान गर्ने निगमले जानकारी दिएको छ । निगमले पोखराका लागि सम्पूर्ण करसहित ३ हजार १० रुपैयाँ प्रवर्द्धनात्मक भाडा तोकेको छ ।

निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एओसीका सम्पूर्ण प्रकृया पुरा गरेर मंसिर ४ गतेदेखि व्यवसायीक उडान सुरु गर्ने बताएपनि झण्डै एक महिना ढिलो गरि उडान सुरु गर्न लागेको हो ।

चीनले उक्त जहाज कार्तिक १७ गते उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो । यूरोपको कालोसूचीमा परेसँगै प्राधिकरणले एओसी प्रकृया लामो बनाएपछि जहाज लामो समय विमानस्थलमा थन्किन पुगेको हो ।

जहाज विमानस्थलमा अवतरण गरेकै दिन निगमले सम्पूर्ण प्रकृया पुरा गरेर १० दिनमा उडान सुरु गर्ने बताएको थियो । १९ सीट क्षमताको यो जहाजलाई निगमले दुर्गम गन्तव्यमा उडाउने बताएको छ ।

निगमका अनुसार यो जहाज काठमाडौंबाट विहान आठ बजे र दिउँसो दुई बजे पोखराका लागि उडान गर्ने छ । त्यस्तै, पोखराबाट विहान ९ बजेर १० मिनेटमा र ३ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान गर्ने छ ।

निगमले चीनबाट ४ वटा ‘वाई १२ ई’ र २ वटा ‘एमए ६०’ जहाज ल्याउँदैछ । जसमध्ये एउटा ‘एमए ६०’ र एउटा ‘वाई १२ ई’ निगमलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो भने बाँकी ४ जहाज सहुलियत ऋणमा उपलब्ध गराउने भएको हो ।

अनुदानमा उपलब्ध गराएका दुबै जहाज निगमले पाइसकेको छ । ५६ सीट क्षमताको ‘एमए ६०’ ले अहिले सुगम गन्तव्यहरुमा व्यवसायीक उडान गरिरहेको छ । बाँकी जहाज केही महिनाभित्रमा नेपाल आइपुग्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment