+
+
Shares

विप्लवमा पूर्खाको चरित्र दुरूस्त देखियो

‘राम्रो नियतले नर्क जाने बाटो हिँड्ने’ शब्द कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिन्छ । बिप्लवको कार्यदिशा नर्क जाने बाटोका अतिरिक्त आफूले घर बनाउन नसक्ने, अरूले बनाएको घर पनि भत्काउने हिँड्ने मानव पूर्ख्राको चरित्रसँग दुरुस्तै मिलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते १४:३३

गोपाल किराती

मार्क्सवादमा रक्षा, प्रयोग र विकासका तीन आयाम हुन्छन् । त्यसको एकीकृत अभ्यासलाई नै मार्क्सवाद मानिन्छ । जसले यी तीन आयामको एकीकृत अभ्यास अस्वीकार गर्छ, त्यो संशोधनवादी हुन्छ ।

gopal-kirati-UCPNM-LEADER
गोपाल किराती

एकीकृत नेकपा (माओवादी) को हेटौंडा महाधिवेशनले मार्क्सवाद-लेनिनवाद-माओवादका सार्वभौम सिद्धान्तहरू र नेपाली क्रान्तिमा विकसित मौलिक विचारहरूको रक्षा गर्दै त्यसको क्रान्तिकारी प्रयोग तथा विकासतर्फ जोड दिएको छ । माओवादी कम्युनिष्ट आन्दोलनमा तीन आयामको एकीकृत अभ्यास गर्ने माक्र्सवादी धारा, रक्षालाई मात्र जोड दिने जडसुत्रवादी धारा र विकासलाई मात्र जोड दिने दक्षिणपन्थी धारा देखा परेका छन् ।

एकीकृत आयाममा जोड दिने धाराको प्रतिनिधित्व अध्यक्ष प्रचण्डद्वारा जारी छ भने रक्षालाई मात्र जोड दिने धाराको प्रनिधित्व मोहन बैद्य ‘किरण’ ले गर्नुभयो । र, त्यही चिन्तन धाराले पार्टी विभाजन गर्‍यो । तीन आयामको एकीकृत अभ्यासमा प्रयोग र विकासलाई छोडेर रक्षालाई मात्र समातेर दौडेको हुँदा नै त्यसलाई जडसुत्रीय संशोधनवादी भनियो ।

विप्लव कुन धाराको प्रतिनिधि ?

अब नेत्रविक्रम चन्द ‘बिप्लव’ कुन धाराको प्रतिनिधित्व गर्नुहुन्छ ? उहाँको ‘एकीकृत क्रान्ति’ शीर्षक अवधारणापत्र हेर्दा मजदुर र किसान, गाउँ र शहर, मध्यमवर्ग र देशभक्त सवैलाई समानान्तर रूपमा प्रस्तुत गरिएको छ । यसलाई नेपाली विशेषतासमेत भनिएको छ । त्यस अवधारणामा कुनै एक तत्वलाई प्रधान नमान्नु, समानान्तर हैसियतमा प्रस्तुत गर्नु जस्ता विश्लेषण किञ्चित माक्र्सवादसंगत हुँदैन ।

तीन आयामको एकीकृत अभ्यासमा केन्द्रित प्रचण्डविरुद्ध काँग्रेस-एमालेलाई उछिनेर जेहाद छेड्ने, मोहन बैद्यविरुद्ध पनि पार्टी विभाजन गर्ने तथा मुल अवधारणापत्रमा वर्ग शक्तिलाई समानान्तर रूपमा प्रस्तुत गर्ने आदि कदमले विप्लवको क्रान्ति सारसंग्रहवादी प्रमाणित त हुने नै भयो, त्यसको स्वभाविक र अनिवार्य परिणाम दक्षिणपन्थी बिसर्जनवाद हुन्छ । त्यति मात्र होइन, बिप्लव क्रान्ति अन्ततः प्रतिक्रान्तिको मतियार बन्ने खतरा प्रष्ट छ ।

एकीकृत क्रान्तिको धराप

क्रान्तिको स्वरूपबारे बिप्लवजी लेख्नुहुन्छ, ‘यो देशको विशेषता न रुससँग मेल खान्छ, न त चीनसँग मेल खान्छ । एक्काइसौं सदीको पुँजीवादी, साम्राज्यवादी राजनीतिक प्रभाव र नेपालमै विकास भइरहेका विशिष्ट विशेषताहरूले यहाँको क्रान्ति पनि नेपाली विशेषतायुक्त हुने देखिन्छ । यद्यपि सामान्य सिद्धान्तका दृष्टिले नेपालमा हुने क्रान्तिलाई बिद्रोह वा जनयुद्ध भन्नै मिल्दैन भन्ने होइन ।’

यसरी रुसी मोडल पनि नहुने, चिनियाँ मोडल पनि नहुने, फेरि बिद्रोह वा जनयुद्ध भन्न पनि सकिने भनेपछि क्रान्तिको स्वरूपबारे बिप्लवजीको विचार आफ्नो चक्रब्यूहमा आफैं फस्ने रचना मात्र बनेको छ ।

नेपाली समाजको विकासको प्रसंगमा बिप्लव लेख्नुहुन्छ, ‘दस वर्षको जनयुद्ध र राजतन्त्रको अन्त्यपछि नेपाली राज्यसत्तामा दलाल पुँजीवाद हावी हुन पुगेको छ ।’ यो संश्लेषण त एमाओवादीको हेटौंडा महाधिवेशनले नै गरिसकेको तथ्य हो ।

तर, प्रचण्डविरुद्ध पार्टी विभाजन गरिन्छ, किन ? बिप्लवको विश्लेषणले जनयुद्धले राजतन्त्र अन्त्य गरेको उपलब्धि स्वीकार गरेपछि पहिलो कुरा, एमाओवादीलाई उहाँहरूले लगाएको आरोप स्वतः खण्डन हुन पुग्दछ भने दोस्रो, सामन्ती राजतन्त्र अन्त्यपछि अनिवार्यरूपमा नेपालमा नयाँ जनवादी क्रान्तिको रणनीति बदल्नु पर्ने ऐतिहासिक आवश्यकता प्रष्ट छ ।

नेपाली क्रान्तिमा कुन आधारभूत शक्ति हो तथा कुन मित्र शक्ति हो ? एकीकृत क्रान्तिको अवधारणामा स्पष्ट गरिएको पाइँदैन । अतः बिप्लवको प्रस्तुत कार्यदिशा संश्लेषणविनाको विश्लेषण मात्र हुन पुगेको छ । यो सारसंग्रहवादको जन्मजात चरित्र हो । बिप्लवजीले हल्ला गरे अनुसार उहाँहरूले हतियार उठाउनु हुनेछ । त्यसले बलिदान निम्त्याउँछ र एक क्रान्तिकारीले त्यसको अवश्य सम्मान गर्नुपर्छ । तर, क्रान्ति भने किमार्थ गर्ने छैन ।

बल प्रयोगको सिद्धान्त मालेमा हो, तर वैज्ञानिक विचार र लाइनको अभावमा बल प्रयोग मालेमा होइन । बल प्रयोग र बलिदानको प्रश्नमा प्रभाकरणको लिट्टे माओवादी थिएन । अहिलेको आइएस स्टेट पनि माओवादी होइन । आज एक्काइसौं शताब्दीका कम्युनिष्टलाई पेरिस कम्युनका मजदुर नेताहरूलाई जसरी गल्ती गर्ने छूट छैन । सन् १८७१ पछिका महान् क्रान्ति र घोर प्रतिक्रान्तिका कारण त्यस्तो छुट हुन सक्दैन ।

रुस र चिनियाँ मोडललाई बेठीक र ठीक दुवै भन्ने, नयाँ जनवाद भन्ने, तर अर्ध- सामन्ती र अर्ध-औपनिवेशिक स्थिति भनेर स्पष्ट किटान गर्न नसक्ने तरिका सारसंग्रहवादको एउटा विशिष्ट नमूना हो । अवधारणापत्रमा मध्यमवर्गलाई मुख्य शक्ति मान्न खोजेको आभास हुन्छ । माक्र्सवादले मध्यमवर्गलाई क्रान्तिको नेता मान्दैन । किनकि, त्यो ढुलमुले र अस्थिर हुन्छ । त्यसलाई क्रान्तिको सहायकसम्म बनाउन सकिन्छ ।

सारतत्वमा बिप्लवको एकीकृत क्रान्ति निम्न-पूँजीवादी व्यक्तिवादी महत्वाकांक्षा, चरम पूर्वाग्रह र गोलचक्करको चक्रब्यूहको धराप हो, जसले माओवादी आन्दोलन र अन्ततः बिप्लव समूहलाई पनि शिकार बनाउने छ ।

नेत्रविक्रम चन्द
नेत्रविक्रम चन्द

दुरुस्तै पूर्खाको चरित्र

किरणको शब्दमा बिप्लवको पार्टी विभाजन ‘बाम खोलको दक्षिणपन्थी अवसरवादी बिचलन’ हो । बादलको शब्दमा ‘सारसंग्रहवाद मात्र नभएर महा-सारसंग्रहवादी बितण्डा हो ।’ राजनीतिमा मानिसले नेतृत्वको आकांक्षा राख्नु गलत होइन । तर, त्यो सही विचार र कार्यदिशाको हुनुपर्छ । केही अघि बिप्लवको भनाइ सुुनिन्थ्यो- ‘प्रचण्डले पनि मोहनविक्रम सिंह र निर्मल लामाहरूलाई ठोकेर नै प्रचण्ड बनेको हो । त्यसैले महाप्रचण्ड बन्न प्रचण्डहरूलाई ठोक्नुपर्छ ।’ त्यसरी महाप्रचण्ड बन्न हिँडेको बिप्लव जीले के बुझ्नै पर्छ भने सिंह र लामालाई व्यवहारले गलत सावित गरेको छ ।

र, प्रचण्ड क्रान्ति गणतन्त्र घोषणा गर्दै यहाँसम्म जारी छ । प्रचण्डले खोसेर होइन, किरणको विश्वास जितेर नेतृत्व लिनुभएको हो । तर, बिप्लवजीले प्रचण्ड र किरण दुवै विरुद्ध खुराफाती हमला गरेर एउटा गुटको नेता बन्नुभएको छ । किरणविरुद्धको हमला वस्तुतः मार्क्सवादको ‘रक्षा’ विरुद्धकै हमला समेत हो ।

‘राम्रो नियतले नर्क जाने बाटो हिँड्ने’ शब्द कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिन्छ । बिप्लवको कार्यदिशा नर्क जाने बाटोका अतिरिक्त आफूले घर बनाउन नसक्ने, अरूले बनाएको घर पनि भत्काउने हिँड्ने मानव पूर्ख्राको चरित्रसँग दुरुस्तै मिलेको छ ।

संघीयता विरोधी-कोन्ट्रा ?

नेपालमा माओवादी आन्दोलन कमजोर बनाउने, पार्टी फुटाउने प्रवृत्ति वस्तुतः पहिचानसहितको संघीयता हुन नदिने प्रवृत्ति हो । पहिलो संविधानसभाको अन्त्यमा अन्तरपार्टी कलह भड्काउने, पार्टी फुटाउने, चुनाव बहिष्कार गरेर-प्रचण्डलाई बम हानेर, अनैतिक ढंगले प्रतिक्रियावादीसँग आर्थिक लाभ लिएर यथास्थितिवादको सेवा गर्ने काम बिप्लवबाट भयो । परिणाममा, संविधानसभामा पहिचानको संघीयता विरोधी शक्ति हावी भयो ।

मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित तथा प्रगतिशील खसहरू संघीयताको निम्ति जीवनमरणको संघर्ष लडिरहेको बेला ‘एकीकृत क्रान्ति’ दस्तावेजमा पहिचान, संघीयता, समानुपातिक समावेशीकरण, आत्मनिर्णय र स्वायत्तताको शब्दसम्म उल्लेख नहुनु संयोग वा मानवीय त्रुटी मात्र हुन सक्दैन ।

वर्गीय, जातीय-क्षेत्रीय एवम् लैङ्गकि उत्पीडन विरोधी आन्तरिक राष्ट्रिय मुक्तिको न्यायपूर्ण आन्दोलनप्रति नजरअन्दाज नेपालमा क्रान्तिको धारा हुन सक्दैन । जान-अञ्जानमा एकीकृत क्रान्तिका अभियन्ताहरू बाम खोलको दक्षिणपन्थी बिसर्जनमा स्वयं पतन भएका छन् । उनीहरू आफैं मात्र बिसर्जन हुने होइन, क्रान्ति र आन्दोलनका उपलब्धिहरू गणतन्त्र, धर्मनिरपेक्षता, समानपातिक समावेशीकरणलाई सखाप बनाउने, पहिचानको संघीयता हुन नदिने प्रतिक्रान्तिकारी कोन्ट्रा चरित्रमा बिघटन हुँदैछन् ।

अन्त्यमा, ‘एकीकृत क्रान्ति’ को अन्तर्वस्तु र शब्द समेतलाई हेर्दा त्यो मालेमावादी हुनै सक्दैन । लियोन ट्राटस्कीले ‘स्थायी क्रान्ति’ भने । तर, त्यसलाई लेनिन र स्टालिनद्वारा खारेज गरियो ।

सर्वहारा सांस्कृतिक क्रान्तिको वैचारिक संलेशण गर्दै माओद्वारा ‘निरन्तर क्रान्ति’ को विकास गरियो, जसले नै माओवाद बनायो । अब प्रश्न उठ्छ, बिप्लवजीलाई निरन्तर क्रान्तिले किन पुगेन र माओको निरन्तर क्रान्तिको विपल्प खोज्नुपर्‍यो ? यसैले पनि बिप्लव समूह किमार्थ माओवादी रहेको मान्न सकिँदैन ।

महान् जनयुद्ध र जनआन्दोलन सँगै लडेको साथीहरूलाई यसरी यति चर्काे शब्दमा टिप्पणी गर्नुपर्दा मीठो अनुभूति अवश्य हुँदैन । परन्तु, बिप्लवजीहरू जानाजान जघन्य गल्ती गर्दै हुनुहुन्छ । त्यो गल्तीमा मात्र सीमित हुने देखिँदैन, बढेर प्रतिक्रान्तिकारी अपराधमा परिणत हुने खतरा देखिन्छ । त्यसैले उहाँहरूलाई रूपान्तरणको प्रयत्न गर्नु एकजना हँसिया हथौडाको झण्डा बोक्ने कार्यकर्ताको कर्तव्य र अधिकार दुबै हुन्छ ।

यो पनि पढ्नुहाेस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?