
२७ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको बताए ।
‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’
उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनको भनाइ थियो ।
पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक पनि रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे बनेको उपसमितिका संयोजकमाथि प्रश्न उठेकोमा आपत्ति जनाएका छन् । नयाँ संयोजक तोकेर उपसमितिको काम अघि बढाउनुपर्ने लिङ्देनको भनाइ छ ।
व्यवसायिक योजना नै नबनाई ४१ अर्बको ऋणको भार लिएर विमानस्थल बनाउनुका पछाडि कमिशन खाने र भ्रष्टाचार गर्ने योजना लुकेको आरोप लगाए ।
‘पैसा खानकै लागि योजना बनाएको हो, यो सबैले बुझनुपर्छ, ठूलो योजना ल्याएपछि ठूलै कमिसन एकैपटक खान मिल्छ,’ उनले भने, ‘आवश्यकता भन्दा बढी खर्च गर्नुको कारण पनि खान कै लागि बनाइएको योजना हो । त्यो गर्ने सबैलाई कारबाही हुनुपर्छ र विमानस्थल पूर्ण रुपमा चल्नुपर्छ ।’
दुईवटा विमानस्थलको नाममा साह्रै ठूलो अंकको भ्रष्टाचार भएको उनले बताए । पोखरा र भैरहवामा बनेको विमानस्थलको प्रारम्भिक अध्ययनले भैरहवाको संचालनमा आउन सक्ने तर प्राविधिक कारणले पोखरामा व्यवसायिक उडानको धेरै कम सम्भावना समेत रहेको लिङ्देन बताउँछन् ।
विमानस्थल बनाउनु भन्दा अगाडि नै सिमासँग नजिक भएकोले भारतसँग एअर रुटको स्वीकृत लिएर बनाउनु पर्नेमा कमिकमजोरी भएको उनको भनाइ छ ।
चौतर्फी दबाब दिएर एयरर्पोट सञ्चालनमा आएपनि वैदेशिक रोजगारमा जानेले मात्रै यो विमानस्थल नचल्ने भन्दै उनले बौद्ध धर्मावलम्बी देशबाट ठूलो संख्यामा पर्यटक भित्राउने योजना बनाउनुपर्ने बताए ।
निजी क्षेत्र सबल भएमात्र अर्थतन्त्र सुदृढ हुने बताउँदै उनले उद्योग–व्यवसाय मैत्री वातावरण नभएको, उद्योग–व्यवसाय दर्ता गर्न कमिशन दिनुपर्ने, शेयर दिनुपर्ने र कर तिर्न पनि घुस दिनुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया 4