एनेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्व लडाकु कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ले प्रचण्डले बाबुराम भट्टराईलाई अध्यक्ष सुम्पन्छु भन्दैमा पार्टीले नमान्ने चेतावनी दिएका छन् ।
प्रचण्डले अर्को वर्षपछि पार्टीको अध्यक्ष पद त्याग्ने निश्चित भए पनि त्यो पदमा बाबुराम नै आसिन हुने ग्यारेन्टी नरहेको प्रभाकरले दावी गरे ।
‘अब माओवादी पार्टीमा प्रचण्ड र बाबुरामले भन्दैमा त्यही लागू हुँदैन’ प्रभाकरले भने ‘बाबुराम अध्यक्ष हुने हो भने सबैलाई मान्य हुने कार्यदिशा र बैचारिक नेतृत्वको योजना लिएर आउनुपर्छ, नत्र जसले ल्याउँछ उही नेता हुन्छ’ ।
संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका प्रभाकरसँग उनकै कार्यकक्षमा अनलाइनखबरका लागि मात्रिका पौडेल र बिनोद घिमिरेले पार्टीको पछिल्लो एकता प्रस्तावबारे गरेको कुराकानीः-
सबै कमिटीहरु भंग गर्ने प्रस्ताव आएको थियो, तपाई एमाओवादीका स्थायी कमिटी सदस्य नै हो कि, घटुवा भइसक्नुभयो ?
पार्टीका सबै कमिटी भंग हुन लागेका होइनन् । पदाधिकारी, पोलिटव्यूरो र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिने र केन्द्रीय समितिलाई कायम राखेर विशेष महाधिवेशनमा जाने छलफल भइरहेको छ । पार्टीको निर्णय भइ नसकेकाले यसै भन्न सकिँदैन ।
बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्नका लागि हेटौंडा महाधिवेशनको तीन वर्ष नपुग्दै विशेष महाधिवेशन गर्नुपर्ने भयो, त्यति होइन त ?
सरलरुपले भन्दा रोलक्रमअनुसार प्रचण्डपछि दोस्रो नेता बाबुराम जी नै हो, त्यसैले उहाँ नेतृत्वमा आउने कुरा स्वाभाविक छ । तर, नेतृत्व भनेको विचारको प्रश्न पनि हो । विचार कसरी आउँछ र त्यसको नेतृत्व कसरी हुन्छ भन्नेमा भर पर्छ । अहिले प्रचण्डले बाबुराम अध्यक्ष हुनुहुन्छ भन्दैमा भइहाल्ने कुरा होइन । बाबुरामजीले प्रस्तुत गर्ने आफ्नो कार्यदिशा र आम कार्यकर्तालाई कन्भिन्स गर्ने कुरामा भर पर्छ । यसकारण विशेष महाधिवेशनमा गएपछि मात्रै यसको टुंगो लाग्छ ।
विशेष महाधिवेशनपछि प्रचण्डको नेतृत्वमा एमाओवादी नरहने त पक्का भयो नि ?
हो, अब पार्टीमा सांगठनिक हिसाबले प्रचण्डको नेतृत्व अध्यक्षको हैसियतमा हुँदैन । फरक ढंगले हेर्दा त प्रचण्ड त एउटा नेता नै हो । कमी कमजोरीका बाबजुद क्रान्तिकारी आन्दोलनको त प्रतीक नै हो । त्यसकारण आन्दोलनको प्रतीकको हिसाबले र नेपाली कम्युनिष्ट आन्दोलनको नेताको हिसाबले उहाँको नेतृत्व त हुन्छ । तर, सांगठनिकरुपले पदीय हिसाबले उहाँको नेतृत्व रहँदैन । हामी नयाँ ढंगले नेतृत्व निर्माण गर्छौं । तर, को हुन्छ भन्न सकिँदैन ।
भिडियो हेर्नुहोस्
विशेष महाधिवेशनपछि बाबुरामलाई नेतृत्व सुम्पिन प्रचण्ड सहमत भएपछि विवाद साम्य भएर केन्द्रीय समिति बैठकमा बाबुराम पक्ष सहभागी भएको होइन र ?
प्रचण्ड र बाबुरामबीच सहमति भयो होला त्यो आफ्नो ठाउँमा छ । तर, दुई नेताले मात्रै सहमति गरेर पार्टी चल्छ ? दुई नेताको निर्णयबाट अब पार्टी चल्दैन । आम पार्टी कार्यकर्ताको सहमति चाहियो नि । आम कार्यकर्ताको सहमति विशेष महाधिवेशनमा गएर हुन्छ ।
त्यतिबेला बाबुरामजी हुनुहुन्छ कि अरु कोही हुन्छ अहिले म भन्न सक्दिनँ । तर मैले फेरि के प्रष्ट पार्छु भने दोस्रो नेताको हैसियतले बाबुरामजी अध्यक्षको प्रमुख दाबेदार चाहीँ हो । यो कुरा आम कार्यकर्ताले मानेका पनि छन् र उहाँ त्यो भूमिकामा पनि हुनुहुन्छ । अब हुने विशेष महाधिवेशनपछि अध्यक्ष पद छोड्न पाउँ भन्ने प्रचण्डको आग्रह छ । छोड्न पाउँ भनिसकेपछि छोड्न पाइन्छ । तर बाबुरामलाई उहाँले दिँदैमा हामीले मान्दैनौं । नयाँ नेतृत्व हामी निर्माण गर्छौं ।
प्रचण्ड र बाबुरामबीचको सहमतिलाई एमाओवादी केन्द्रीय कमिटीले के गर्छ त ?
कम्युनिष्ट पार्टीमा जिन्दगीभर एउटै नेतृत्व भइराख्ने परिपाटी ठीक होइन भन्ने कुरा हाम्रो पार्टीमा बेलाबेलामा उठ्दै आएको थियो । मैले त दुई बर्ष अघि नै नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रस्ताव राखेको थिएँ । उहाँहरु (प्रचण्ड र बाबुराम)ले हेटौडा महाधिवेशनमा नेतृत्व पुस्तान्तरण हुन्छ भन्नुभएको थियो । तर त्यो तत्काल सम्भव छैन भन्ने हामीलाई लागेको थियो ।
अहिले उहाँहरु दुबै आफूले घोषणा गरेको पुस्तान्तरणको कुराबाट अलिकति पछि हटेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेमा आउनु भएको छ । हामीले रोल्पाको दुम्ला बैठकबाट पारित गरेको एक्काइसौं शताब्दीको जनवादको प्रस्तावमा नेतृत्वको प्रश्न छ । त्यसअनुसार सैद्धान्तिक हिसाबले हामी बहस गर्न चाहान्छौं । सैद्धान्तिकरुपले बहस गरिसकेपछि व्यक्ति ‘को हुने’ भन्ने कुरा पछि मात्रै टुंगिन्छ ।
बैचारिक रुपले नेतृत्व गर्न सक्नु भयो भनेमात्रै बाबुरामजी हो ?
(बीचमै कुरा काट्दै) मैले भनिहाले बैचारिक रुपले, संगठनात्मकरुपले अबको कार्यक्रम र कार्यदिशाको हिसाबले प्रस्तावलाई अगाडी ल्याएर आउने मान्छे नै नेता हुन्छ । अब त्यो कसले लिएर आउँछ भन्ने कुरा त महाधिवेशनमा गएपछि मात्रै थाहा हुन्छ ।
बाबुरामले पार्टीमा फरक विचार राख्दै आउनु भएको छ । संगठनमा पनि कमजोर भएको भनिन्छ अनि प्रचण्डले उहाँलाई नै अध्यक्ष बनाउने बचन किन दिएको होला त ?
उहाँ कमजोर भन्ने होइन । पार्टीको दोस्रो नेता कसरी कमजोर हुन्छ ? आफै बलियो भएर त उहाँ दोस्रो नेता हुनुभएको हो । अहिलेको बिचार र कार्यदिशाले हामीलाई पुगेन । बाबुरामजीले भनेको कार्यदिशाले पनि भएन, प्रचण्डले भनेको कार्यदिशा पनि हुँदैन । दुबैको हुँदैन भनेपछि अब नयाँ बनाउने प्रस्ताव ल्याउनु पर्यो नि त । नयाँ कार्यदिशा बनाउनुपर्छ भन्नेमा बाबुरामजीको पनि सहमति छ । अब प्रचण्ड र बाबुरामको सहमतिमा नयाँ कार्यदिशा विकास गर्नुपर्छ । त्यसमा आम कार्यकर्ता र पार्टीका सबै केन्द्रीय सदस्यहरु सहमत छन् । त्यही सहमतिअनुसार संगठनको विकास, कार्यदिशा, कार्यक्रम र कार्यनीति जुन नेताले ल्याउँछ, त्यही पार्टीको अध्यक्ष हुन्छ ।
बाबुरामले भन्दै आएको नयाँ शक्तिको कुरा पनि यसमै आउँछ होइन ?
बाबुरामजीले नयाँ शक्तिको कुरा फरक प्रसंगमा बाहिर भन्नु भएको हो । अहिले पार्टी भित्र नयाँ शक्तिको औपचारिक प्रस्ताव उहाँले राख्नु भएको छैन । बैचारिक रुपले नयाँ संश्लेषण गर्नुपर्छ । संगठनात्मक रुपले नयाँ विकास, पद्धती, प्रक्रिया अघि बढाउनुपर्छ । कार्यदिशा र कार्यनीति नयाँ बनाउनुपर्छ । यो छलफल, आम जनता र राष्ट्रिय-अन्तराष्ट्रिय अनुभवबाट सिकेर गर्ने कुरा हो ।
प्रचण्डले भन्दैमा बाबुरामलाई नमान्ने भन्नुभयो, यसको मतलब बाबुरामले अध्यक्ष हुन चुनाव नै लड्नुपर्छ भन्ने हो ?
मतदान गर्नुपर्ने हुन पनि सक्छ र नहुन पनि सक्छ । त्यो त महाधिवेशनमा गएपछि थाहा हुन्छ । अहिले म एउटा व्यक्तिले कसरी भन्न सक्छु र ? बैचारिक रुपले बाबुरामजीले सिंगो पार्टीलाई एकीकृत गर्ने कार्यदिशा कार्यनीति ल्याउनु भयो भने नेतृत्व पाउनुहुन्छ, चुनाव गर्नै पर्दैन । नत्र जसले त्यस्ता कार्यदिशा ल्याउँछ उही नेता हुन्छ ।
तपाईँले पटक-पटक नयाँ कार्यदिशा, कार्यनीति र विचारमा एकता ल्याउने व्यक्ति पार्टीको अध्यक्ष हुन्छ भन्नुभयो । अहिलेसम्म बाबुराममा त्यो क्षमता नभएर अध्यक्ष नभएको हो ?
रोलक्रमका आधारमा उहाँ स्वतः पार्टीमा दोस्रो नेता हुनुहुन्छ । योभन्दा धेरै कुरा गर्न म चाहन्नँ । मेरो मुखबाट धेरै बोल्न नलाउनुस् ।
एमाओवादी त अहिलेसम्म बाबुरामजीकै विचार र कार्यदिशाबाट अघि बढिरहेको छ । किनभने शान्ति, संविधान, लोकतान्त्रिक गणतन्त्रको एजेण्डा उहाँकै थियो । त्यो ल्याकत त उहाँले राखिसक्नु भो नि होइन ?
पार्टीलाई यहाँसम्म ल्याउन उहाँको पनि भूमिका छ । तर, यो उहाँको मात्रै एजेण्डा होइन । सिंगो पार्टीको एजेण्डा हो । त्यसमा हाम्रो, आम कार्यकर्ताको र जनताको कुरा पनि छ । मुख्य नेताहरुको त हुने भइहाल्यो । त्यसकारणले त्यो व्यक्तिविशेषको नभएर आम आन्दोलनको हो । आन्दोलन भनेपछि सबैको भूमिका हुन्छ, मुख्य नेताहरुको स्वतः हुन्छ ।
ठाउँ-ठाउँमा बनेका समानान्तर कमिटीहरु अब के हुन्छन् ?
यस्तै तमाम समस्याहरुको कारणले नै विशेष महाधिवेशन हुँदैछ । अब सामानान्तर सबै कमिटीहरु भंग हुन्छन् र एकताबद्ध कमिटी बन्छन् । त्यसैमा बहस चलाइरहेका छौं ।
सबैभन्दा सक्रिय हुने गरेको वाईसीएल पुरै निष्क्रिय छ । विद्यार्थीको नेता को हो थाहा छैन । पत्रकार लगायत सबै जनवर्गीय संगठनहरु सेलाएका छन् । यस्तो तदर्थवादको बेला पनि बहस चलाउँछौं र आन्दोलन गर्छौं भन्न चाहिँ छोड्नु हुन्न है ?
तपाईंहरुले कुरा गर्दागर्दै धेरै कुरा खुलाउनु हुने भयो । एउटा कुरा म भन्दिन्छु- जनवर्गीय संगठनहरुलाई बन्धक बनाएर आन्दोलनमा जाने कुरा सम्भव छैन भनेर मैले नेताहरुलाई भनिसकेको छु । यो गैरजिम्मेवारपूर्ण कुरा हो, यसरी पार्टी चल्दैन भनेर बारम्बार भनेको छु । केन्द्रीय समिति बैठकपछि अब सबै जनवर्गीय संगठनहरु सक्रिय हुन्छन् ।
दोस्रो संविधानसभामा पराजयपछि एमाओवादीमा झन् बढी अराजकता देखियो । यो स्थिति कायम रह्यो भने त अर्को चुनाव सामना गर्न सक्ला र ?
तपाईंले भनेको कुरा केही हदसम्म सत्य हो । यसबारे हामी महाधिवेशनमा गम्भीर समीक्षा गर्छौं । प्रचण्ड, बाबुराम र हामीले गरेका गल्ती कमजोरी तथा समस्याहरु कहाँ-कहाँ भए प्रष्ट राख्छौं । र, सबल पक्षहरुको पनि संश्लेषण गर्छौं । सबल र दुर्बल पक्षको समीक्षा गर्दै जनतासँगको चिसोपनालाई हल गर्दै पार्टीलाई सशक्त रुपले अघि बढाउँछौं ।
प्रचण्डले नेतृत्व गर्दा माओवादी पार्टी एकीकृत भयो, सबैभन्दा ठूलो पार्टी बन्यो । पछिल्लो स्थितिमा पाँच टुक्रामा बिभाजन पनि भएको छ । अब प्रचण्डले नेतृत्व छोड्नु अघि सबैलाई एकैठाउँमा ल्याउँनुहुन्छ की हुँदैन ?
प्रचण्डले एकैठाउँमा ल्याउनु हुन्छ की हुँदैन भन्ने कुरा म जान्दिन । मैले प्रचण्डजीसँग योबारे कुरा गर्या पनि छैन । तर, मैले माओवादी धारका सबै पार्टीहरुका शीर्ष नेताहरुलाई राखेर ‘वैचारिक सभा’ गरौं भनेर मैले प्रस्ताव राख्या छु । त्यही सभाबाट सबै पार्टी र समूहका कार्यदिशामा रहेका अन्तरहरु केलाउनुपर्छ । अनि आधिकारिक र सही निष्कर्ष निकाल्दै माओवादी धारलाई एकताबद्ध बनाएर लैजानुपर्छ । किरणजी र विप्लवजीले उठाएका कतिपय विषय सहि छन् । त्यो कुरालाई पनि स्वीकार गर्नुपर्छ । हाम्रो पार्टी एमाओवादीले अघि सारेका कतिपय कुराहरु गलत होलान्, तिनलाई पनि स्वीकार गर्नुपर्छ ।
पार्टी एकताको कुरा चाँही कहाँ पुग्यो ?
हाम्रा नेताहरु अति साँघुरा, व्यक्तिवादी र लोभी हुन थालेकाले समस्या आएको छ । प्रचण्ड, बाबुराम, केपी ओली, झलनाथ, माधव नेपाल, वामदेव, नारायणकाजी लगायतका नेताहरुमध्ये धेरैजसो प्रधानमन्त्री भइसके । तर, आफ्नो व्यक्तिगत स्वार्थ र अहम्का कारणले यिनीहरु नयाँ ढंगले जान तयार छैनन् । अब सबैलाई एकैठाउँ राखेर यि कमजोरीहरुलाई चिरेर अघि बढ्नुपर्छ भन्ने बहस छेड्नुपर्छ । पार्टी एकताबद्ध नभए पनि आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ । नेपालको सन्दर्भमा वामपन्थी शक्तिहरुको जनमत र तागतलाई सदुपयोग गर्न सकिएको छैन । अब यो तागतलाई एकै ठाउँ ल्याएर देश र जनताको विकासमा प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया 4