४ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा घटेको मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो ।
पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटेको छ । डिजेल तथा मट्टीतेलमा ५ रुपैयाँ ५० पैसा घटाइएको छ । अब नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरको ११६ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिक उडान तर्फ १० रुपैयाँ घटेर प्रतिलिटर १३३ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत (प्रतिसिलण्डर १४ सय ७० रुपैयाँ) राखिएको छ ।
निगमलाई ४८ करोड ५९ लाख नाफा
मूल्य समायोजनपछि नेपाल आयल निगमलाई मासिक ४८ करोड ५९ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ ।
आयल निगमका अनुसार पेट्रोलमा २१ करोड ७९ लाख, डिजेलमा ९ करोड ९२ लाख र मटि्टतेलमा ३ करोड ९ लाख नाफा हुने छ । यसैगरी हवाई इन्धनमा (आन्तरिक तर्फ) १२ करोड ५३ लाख र हवाई इन्धनमा (अन्तराष्ट्रिय तर्फ) ४४ करोड ८७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
खाना पकाउने ग्यासमा भने मासिक ४३ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको निगमले जनाएको छ ।
हाल नेपालमा पेट्रोल २० हजार किलोलिटर खपत हुने गर्दछ । यस्तै डिजेल ७५ हजार किलोलिटर र मटि्टतेल २५ सय किलोलिटर खपत हुने गरेको छ । यस्तै हवाई इन्धन -आन्तरिक तर्फ) ३ हजार किलोलिटर र अन्तराष्ट्रिय तर्फ ७ हजार किलोलिटर खपत हुने गरेको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यास भने १५ लाख थान खपत हुन्छ ।
प्रतिक्रिया 4