Comments Add Comment

कांग्रेसले मेलमिलाप दिवस मनायो

Leaders-of-Nepali-Congress-at-Sanepa-FINAL

  • मेलमिलाप दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेताहरू

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले बुधबार ३९ औं एकता तथा मेलमिलाप दिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् ।

दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना भएका छन् । सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र नेता कार्यकर्ता सहभागी थिए ।

कार्यक्रममा कोइरालाले आफ्नो पार्टी महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार नै अघि बढिरहेको बताए । विपीको मेलमिलापको नीतिमै टेकेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाले १० वर्षसम्म हतियारको राजनीति गर्दै आएका माओवादीलाई मूलधारको राजनीतिमा ल्याएको चर्चा गर्दै उनले अहिले निर्धारित समय मै संविधान जारी गर्न पनि सबै दलबीच मेलमिलाप आवश्यक रहेकोमा जोड दिए ।

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हरेक बर्ष पुस १६ गते यो दिवस मनाउने गर्दछ ।

प्रजातन्त्र स्थापनाको लागि संघर्षरत वीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले मृत्युदण्डको सजायँ सुनाएपछि वीपी लगायतका कांग्रेस नेताहरु २०२५ सालमा भारत प्रवासमा गएका थिए । ८ बर्षको प्रवास जीवन त्यागेर कांग्रेस नेताहरु विक्रम संवत् २०३३ साल पुस १६ गते राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

कोइरालाले नेपालका राजनीतिक दल र राजा मिलेर राष्ट्रियताको रक्षा गर्नुपर्ने अवधारणा अघि सारेका थिए । मेलमिलापको नीति लिएर वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु स्वेदश फर्किए पनि तत्कालीन राजा महेन्द्रले उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्रेर जेल चलान गरेका थिए ।

राष्ट्रियता जोगाउन सबै पक्षबीच मेलमिलाप र एकताको आवश्यकता औंल्याएका वीपीको सिद्धान्तलाई कांग्रेसले पछिल्ला दिनहरुमा भूल्दै गएको कांग्रेस नेताहरुले नै बताउने गरेका छन् ।

भारत प्रवासबाट राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित २०३३ सालमा स्वेदश फर्किएका खुमबहादुर खड्का आज भारत गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment