Comments Add Comment

बाबु थापाले किन गरे न्यायाधीश बमको हत्या ?

Babu thapa pakrau

  • न्यायाधीश हत्याका मुख्य योजनाकार चुरेभावरका तत्कालिन उपाध्यक्ष बाबु थापा हत्कडीमा । तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

१९ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या किन गरे होलान् ? यो कौतुहलको अन्त्य गर्दै शनिबार नेपाल प्रहरीले भनेको छ- न्यायाधीश बमले गरेको फैसला चित्त नबुझेपछि चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले हत्या गरेका हुन् ।’

दुई वर्ष सात महिना लामो अनुसन्धानपछि प्रहरीले घटनाका मुख्य योजनाकार भनिएका बाबु थापासहितसहित चार जना पक्राउ गरेको छ ।

शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मेघबहादुर थापा सक्कली नाम गरेका बाबु थापा मुख्य योजनाकार भएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यसलाई प्रहरी संगठनको घाँटीमा अडि्एको काँडा निकाले जस्तै भएको बताए ।

हत्याको कारण अदालती फैसला

प्रहरी अनुसन्धानका अनुसार चुरेभावर राष्ट्रिय पार्टीको विवाद नै न्यायाधीश बमको हत्याको कारक बन्न पुग्यो ।

चुरेभावर पार्टीमा अध्यक्ष केशव मैनाली र उपाध्यक्ष थापावीचको विवाद सुरुमा निर्वाचन आयोगमा पुगेको थियो । सुरुमा सहमति गरेर मैनालीलाई नै अध्यक्ष बनाए पनि छुट्टै-छुट्टै महाधिवेशन गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो ।

आयोगले मैनालीको साटो मेघराज थापा भन्ने बाबु थापाको समूहलाई वैधानिकता दिएको थियो । त्यसविरुद्ध मैनाली सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चमा न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई बैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले भने-‘गृहराज्यमन्त्री हुनै लागेको बेला फैसलाले आफ्नो राजनीति तीन वर्ष सकियो भन्ने भएपछि उनले हत्याको योजना बनाएको देखिन्छ ।’

अदालतको फैसलालाई आफूलाई तीन वर्षसम्म दुःख दिएकाले हत्या योजना बनाएको उनले बयान दिएका छन् ।

त्यसका लागि बाबुले आफ्नो नाम ‘अमर नेपाल’ राखेर नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी बनाए । २०६७ असोजमा अहरण तथा शरीर बन्धक मुद्धामा जलेश्वर जेलमा बस्दा बाबुको करण चौधरीसँग चिनजान भएको थियो । करण छुटेपछि उनले काठमाडौं ल्याएर राखे ।

बाबुले करण र भगवान भन्ने सञ्जय स्माइली मगरसँग मिलेर न्यायाधीश रणबहादुर बमको हत्या योजना बनाए । प्रहरीका अनुसार करण व्यवसयिक सुटर हुन् ।

मन्दिरमै मार्ने योजना थियो
योजना अनुसार बाबुको समूहले चार थान पेस्तोल र मोटरसाइकल जम्मा पारेको थियो । घटना भएको दिन २०६९ जेठ १८ गते १० बजेतिर बाबु, करण, सञ्जयसँगै प्रेमराज खड्का र दिपक कर्ण कोटेश्वरमा जम्मा भए ।

उनीहरु मध्ये प्रेमराज बाहेक सबैले पेस्तोल बोकेका थिए ।

Babu-thapa-pakrau-1
घटनामा संलग्न क्रमश : प्रेमराज, बाबु थापा, करण र दिपक कर्ण

तीनवटा मोटरसाइकलमा रहेका उनीहरु मध्ये भगवान र शिव ललितपुरको युएन पार्कतर्फ आए भने बाबु एउटा तथ प्रेम र दिपक अर्को मोटरसाइकलमा न्यायाधीश बमको घर भएको स्थलतर्फ लागे ।

प्रहरीका अनुसन्धान अनुसार ट्याङ्लाफाँटा कलंकी क्षेत्रबाट बम चढेको गाडीलाई अघि-पछि गर्दै पछ्याउँदै आएको बाबुको समूहले बंगलामुखी मन्दिरमा नै न्यायाधीशको हत्या गर्ने योजना बनाएको थियो ।

‘धेरै घाइते हुने र भाग्न पनि कठिन हुने देखिपछि बाबुले योजना बदले र साथीहरुलाई त्यही बस्न भनेको देखिन्छ’ डीआइजी ठकुरीले भने ।
न्यायाधीश मन्दिरबाट बाहिर निस्किएपछि बाबुको समुह अघि-पछि गर्दै मोटरसाइकलमा आएको थियो । यूएन पार्क छेउ आएपछि बाबुले ओभरटेक गरेर न्यायाधीश बमको गाडी रोके ।

डीआइजी ठकुरी भन्छन्-‘न्यायाधीशका सुरक्षाकर्मीमाथि करणले पहिलो फायर गरे । लगत्तै भगवानले गाडीको पछिल्लो सिटमा बसिरहेका न्यायाधीश बममाथि गोली हाने ।

सुरक्षाकर्मी घाइते भएपछि दुबैले बममाथि गोली हाने । बमलाई हानेको गोली सँगै गाडीमा रहेका राम गिरीलाई पनि लाग्यो । घटनाका योजनाकार बाबुले त्यो सबै हेरिरहे ।

यो पनि पढ्नुस् : भारतीय सेना हुँदै चुरे नेतादेखि बमको हत्यासम्म

‘न्यायाधीशको हत्यापछि उनीहरु बाग्मती किनारको बाटो सहयोगीनगर पुगे, जहाँ रातो रंगको मोटरसाइकल छाडेर काँडाघारीस्थित बाबुको घरमा पुगेको देखिन्छ’ प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार घटना हुँदा बिहान ११ बजेर २ मिनेट गएको थियो । ६ वटा गोली लागेका न्यायाधीश बमलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो, तर उनको बाटैमा निधन भइसकेको थियो ।

घटनामा प्रयोग भएको बा ४३ प ७२०८ नम्बरको मोटरसाइकल चोरीको थियो, जुन प्रहरीले सहयोगीनगरबाट बरामद गरेको थियो । बाबुको समूहले २० हजारमा किनेको उक्त मोटरसाइकलमा अर्कैको नम्बर प्लेट लगाइएको पाइएको छ ।

सर्लाही र जनकपुरबाट पक्राउ

घटनामा संलग्न चार जनालाई प्रहरीले घटना भएकै गते १८ मा सर्लाही र जनकपुरबाट पक्राउ गर्न सफल भएको छ । बमको हत्या ०६९ जेठ १८ गते भएको थियो । प्रहरीले उनीहरुलाई ३१ महिनापछि ०७१ साल पुस १८ गते पक्राउ गरेको छ ।

सर्लाहीको मिलनचोक ढुङ्गेखोला ४ का ३८ वर्षका बाबु र हरिवनका नविन भन्ने प्रेमराज सर्लाहीबाट पक्राउ परेका हुन् । एसएलसी पास गरेका बाबु अपराधिक मानसिकताको भएको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए ।

अनुसन्धानका क्रममा बाबु यसअघि पनि पक्राउ परेका थिए । तर, प्रमाण नपुगेकाले छाडिएको भन्दै प्रहरी प्रमुख अर्यालले अहिले प्रमाणसहित पक्राउ गरिएको बताए ।

अर्का दुई अभियुक्त जनकपुरका दीपक कर्ण र शिव भन्ने करण चौधरी जनकपुरबाट पक्राउ परेका हुन् ।

रामेछापका सञ्जय इस्माली फरार छन् । उनी साउदी अरब पुगेको प्रहरीले पत्ता लगाएको छ । मुद्दा प्रक्रिया सुरु भएपछि इन्टरपोलमार्फत उनलाई पक्राउ गरी नेपाल ल्याइने प्रहरीले बताएको छ ।

बाबु थापाकाे नालीबेली पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment