Comments Add Comment

राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको ‘लिगलिगे दौड’

पुष्प दुलाल

२० पुस काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको कार्यकाल सकिनै लाग्दा आगामी कार्यकालका लागि गभर्नर बन्न दौडधुप सुरु भएको छ । खतिवडाको कार्यकाल आगामी चैत ६ गते सकिँदैछ । गभर्नर नियुक्तिका लागि अढाइ महिना बाँकी छँदै दर्जन बढी उम्मेद्वारले दौडधूप सुरु गरेका छन् ।

Governes finalभित्रभित्रै ‘लिगलिगकोटे’ शैलीमा दौडधुप थालेका उम्मेद्वारहरुले मिडियासँग मुख खोल्न भने सकेका छैनन् । गभर्नरका आकांक्षीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र कांग्रेसका अन्य प्रभावशाली नेताहरुसँगको सम्पर्कलाई बाक्लो बनाउन थालेका छन् ।

सरकारको नेतृत्व र अर्थ मन्त्रालय कांग्रेसको पोल्टामा रहेकाले गभर्नरका लागि कांग्रेससँग जोडिएका अर्थशास्त्री तथा विज्ञहरुको नाम चर्चामा छ । अहिलेको राजनीतिक अवस्था परिवर्तन नभए कांग्रेसनिकटहरु नै गभर्नर हुने निश्चित छ ।

अन्य क्षेत्रको तुलनामा कम राजनीतिक हस्तक्षेप हुने राष्ट्र बैंकको गभर्नर आर्थिक क्षेत्रको निकै प्रभावशाली पद हो । मौद्रिकक नीति तयार गरी कार्यान्वयन गर्ने निकायको प्रमुख र सरकारको सल्लाहकार हो, गभर्नर ।

त्यतिमात्रै होइन, गभर्नरको हस्ताक्षरमा देशले नोट (पैसा) छाप्छ । नोटको हस्ताक्षरले आफ्ना शाखा सन्तानलाईसमेत सन्तुष्टि मिल्ने राष्ट्र बैंककै उच्च अधिकारीहरु बताउँछन् ।

विधिको शासन स्थापित भएका देशहरुमा गभर्नरले सरकारलाई समेत टक्कर दिने हैसियत राख्छन् । तर, नेपालमा व्यावसायिकरुपमा विज्ञता हासिल गर्नेलाई भन्दा सरकारको नेतृत्व गरेको राजनीतिक दल वा मन्त्रीको प्यारो व्यक्तिले पद हत्याउने प्रवृत्ति हावी भएकाले गभर्नरले त्यस्तो हैसियत राखेको देखिँदैन ।

पाँचवर्षे कार्यकाल रहेको गभर्नर निकै ‘ग्ल्यामर’ पद हो । त्यसैले त, पोर्टफोलियो झरेरै भए पनि डा. युवराज खतिवडाले गभर्नरको नियुक्ति लिए । त्यसअघि खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । योजना आयोगको उपाध्यक्ष राज्यमन्त्री सरहको पद हो भने गभर्नर मुख्यसचिव सहरको ।

खतिवडाले गभर्नर पदमा ग्ल्यामर भएकाले नै आफू योजना आयोग छोडेर गभर्नरको नियुक्ति लिएको सार्वजानिकरुपमा अभिव्यक्ति दिइसकेका छन् ।

को-को छन चर्चामा ?

गोपाल काफ्ले

Gopal-kaphleराष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर गोपाल काफ्ले गभर्नर पदका लागि पदेन दाबेदार हुन । गभर्नरका लागि सिफारिस समितिले सिनियर डेपुटी गभर्नरको नाम तीन जनामा सिफारिस गर्नुपर्ने नियम नै भएकाले काफ्ले तीनजनामा पर्ने निश्चित छ । त्यसपछि भने उनको दौडधूपले तीव्रता पाउनेछ । राजनीतिक पहुँच पुर्‍याउन सके काफ्ले गभर्नर हुनेछन् ।

समितिले सिफारिस गरेका तीनमध्ये एकजनालाई सरकारले गभर्नर नियुक्ति गर्छ । कांग्रेस निकट काफ्ले ३३ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् । उनी गभर्नर पदका लागि प्राविधिकरुपमा पनि योग्य उम्मेद्वार हुन् । ५८ वर्षका काफ्लेले त्रिभुवन विश्व विद्यालय र अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नात्तकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

महाप्रसाद अधिकारी

MahaPrasad-adhikariराष्ट्र बैंकका अर्का डेपुटी गभर्नर महाप्रसाद अधिकारी पनि गभर्नर पदका लागि पदेन दाबेदार हुन् । एमाले निकट भएकाले अहिलेको राजनीतिक समीकरण परिवर्तन नभए अधिकारीको नाम तीनजनामा पर्न सक्ने अवस्था भने न्यून छ । यद्यपि ३० वर्षदेखि राष्ट्र बैंकमा कार्यरत अधिकारी प्राविधिकरुपमा गभर्नर पदका लागि योग्य उम्मेद्वार हुन् ।

राजनीतिक समीकरण बदलिएको खण्डमा उनी गभर्नर पदका लागि निकै बलिया उम्मेद्वार हुन् । अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट सीए गरेका हुन् । हाल उनी ५० वर्षका भए । गभर्नरका उम्मेद्वारमध्ये अधिकारी सबैभन्दा कान्छा हुन् ।

डा. चिरञ्जीवी नेपाल

Dr-Chiranjibi-Nepalप्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका अर्थशास्त्री नेपाल गभर्नरका लागि अर्का बलिया उम्मेद्वार हुन । गभर्नरको नियुक्तिमा प्रधानमन्त्रीको ठूलो भूमिका हुने भएकाले पनि डा. नेपालको नाम चर्चामा छ । उनलाई अर्थमन्त्री डा. रामशरण महतको पनि प्रिय पात्रका रुपमा लिइन्छ ।

उदार अर्थतन्त्रको सदावहार वकालत गर्ने, निजी क्षेत्रमैत्री र मिडिया फ्रेन्डली भनेर चिनिने नेपालले यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष भएर काम गरिसकेका छन् ।

डा. बाबुराम भट्टराई अर्थमन्त्रीमा नियुक्ति भएपछि नेपालले पदबाट राजीनामा दिएका थिए । ५२ वर्षे डा. नेपालसँग परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ । डा. नेपालले बनारस हिन्दु युनिभर्सिटीबाट सन् १९९४ मा म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन् ।

डा. शंकर शर्मा

Dr-sankar-sarmaराष्ट्रिय योजना आयोगमा सबैभन्दा बढी समय उपाध्यक्ष भएर काम गरेका अर्थशास्त्री डा. शंकर शर्माको नाम पनि गभर्नरका लागि चर्चामा छ । उनी निवर्तमान अमेरिकाका लागि नेपाली राजदूत पनि हुन् ।

शर्मासँग सबै राजनीतिक दलसँग बसेर काम गरेको अनुभव छ । व्यक्तिगतरुपमा उनको सबै दलका नेताहरुसँग राम्रो सम्बन्ध पनि छ ।
त्यसैले त, डेमोक्र्याट हुँदाहुँदै पनि शर्मालाई माधव नेपालको सरकारले अमेरिकाका लागि नेपाली राजदूत नियुक्ति गरेको थियो । उनकै पालामा नेपाल अमेरिका ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट भएको थियो ।

अन्य उम्मेद्वारहरुबीच कांग्रेसीवृत्तमा विवाद उत्पन्न भए शर्मालाई गभर्नर बन्न अझ सजिलो हुनेछ । उनले हवाइ युनिभर्सिटी अमेरिकाबाट सन् १९८५ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

डा.विश्वम्बर प्याकुरेल

bishwambher-pyakuryalबरिष्ठ अर्थशास्त्री प्याकुरेलको नाम पनि गभर्नरका लागि चर्चामा छ । कांग्रेसभित्र पनि देउवा खेमासँग निकट मानिने उनी गभर्नर पदका लागि अर्का योग्य उम्मेद्वार हुन् ।

अहिलेका अर्थमन्त्री डा. रामशरण महतका सहपाठी प्याकुरेल गभर्नर युवराज खतिवडा, पूर्वअर्थमन्त्री शंकर कोइराला, अर्थशास्त्री चिरञ्जीबी नेपाल, पूर्वअर्थसचिव रामेश्वर खनाललगायत धेरै नेपाली अर्थशास्त्रीका गुरु हुन् ।

सन् १९७२ मा रामशरण महत त्रिभुवन विश्वविद्यालयको नेविसंघको इकाइ सचिव रहँदा प्याकुरेल त्रिविका स्वतन्त्र विद्यार्थी युनियनका सचिव थिए ।

प्याकुरेलले २७ वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट हेल्थ सर्भिस डेलिभरी इम्याक्ट विषयमा विद्यावारिधि गरेका छन् । उनले स्नात्तकोत्तर र पोस्ट विद्यावारिधि अमेरिकाबाट गरेका थिए । प्याकुरेलसँग ४० वर्ष अध्यापन गरेको अनुभव छ । यसअघि उनी राष्ट्र बैंकको सञ्चाल समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।

डा.बिमल कोइराला

Bimal-Koiralaपूर्वमुख्यसचिव कोइरालाको नाम पनि गभर्नरका लागि चर्चामा छ । ०६२ सालमा मुख्यसचिव भएका कोइरालाले निजामती सेवामा २७ वर्ष काम गरे । कांग्रेसँग आवद्ध उनी कोइराला परिवारसँग निकट मानिन्छन् ।

खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारमा कांग्रेसले अर्थमन्त्रीमा उनको नाम सिफारिस गरेको थियो । तर, उनले आफूलाई आएको अवसर शंकर कोइरालालाई दिए । त्यसैले, कांग्रेस नेतृत्वको यो सरकारले उनलाई गभर्नर बनाउन सक्ने चर्चा चलेको छ ।

हाल उनी हाल संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी)को मानव स्रोत विकास योजनासम्बन्धी अनुसन्धानमा कार्यरत छन् । ६९ वर्षीय कोइरालासँग विश्व बैंंक, आइएफसी, एसियाली विकास बैंक प्रतिष्ठानमा काम गरेको अनुवभव छ ।

कोइरालाले आर्थिक योजनाामा जर्मनको डोर्ट मन्ड विश्वविद्यालयबाट १९९९ मा विद्यावारिधि गरेका छन् ।

युवराज भुसाल

YubaRaj-Bhusalतीन महिना अर्थमन्त्रालयको सचिव भएर सेवानिवृत्त भएका भुसालको नाम पनि गभर्नरका लागि चर्चामा छ । नातामा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका सम्धी रहेका भुसाल पनि कांग्रेसनिकट हुन् ।

योजना आयोगमा सचिव भएर काम गरिरहेका बेला रामचन्द्र पौडेलको दावावमा उनलाई अर्थमन्त्रालय सरुवा गरिएको थियो । पौडेलले उनलाई गभर्नर बनाउने योजनाका साथ छोटो समयका लागि भए पनि अर्थ सचिव बनाएको चर्चा छ ।

कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षमा पौडेललाई हात लिन प्रधानमन्त्री कोइरालाले उनका सम्धीलाई गभर्नर बनाउन सक्ने कतिपयको आँकलन छ ।

अर्थसचिवबाट अवकाश पाएको दोस्रो दिन नै सरकारले भुसाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान -स्टाफ कलेज)को वरिष्ठ निर्देशकमा नियुक्ति गरिसकेको छ । भुसाल गभर्नरका लागि चर्चामा रहेका नाममध्ये राष्ट्र बैंकका बारेमा सबैभन्दा कम प्राविधिक ज्ञान भएका उम्मेद्वार मानिन्छन् ।

वीरबिक्रम रायमाझी

Birabikram-rayamajhiराष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर रायमाझीको नाम पनि गभर्नरका लागि चर्चामा छ । डेपुटी गभर्नर रहँदा दुईपटक उनको नाम गभर्नर लागि सिफारिस भएको थियो ।

राष्ट्र बैंकबाट अवकास भएपछि रायमाझी अर्बपति विनोद चौधरीको लगानी रहेको युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएर काम गरे ।

रायमाझी दुई महिनाअघि युनाइटेड इनस्योरेन्सबाट राजीनामा दिएर गभर्नर पदका लागि मैदानमा उत्रिएका छन् । उनी कांग्रेसभित्र पनि सुजाता कोइरालासँग निकट मानिन्छन् । रायमाझीले चार्टर्ड एकान्टेन्सी इन्स्टिच्यूट पञ्जावबाट कर्पोरेट व्यवस्थापनमा चार्टड एकाउन्टेन्सीसम्मको अध्यन पूरा गरेका छन् । ५६ वर्षका रायमाझी रमाइला प्रकृतिका र सरल छन् ।

राजनसिंह भण्डारी

Rajansingh-Bhandariराष्ट्र बैंककै पूर्वकर्मचारी एवं सिटिजन्स बैंकका विद्यमान प्रमुख कार्यकारी अधिकृत भण्डारीको नाम पनि गभर्नरका लागि चर्चामा छ । उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्षसमेत हुन् ।

बिरबिक्रम रायमाझी डेपुटी गभर्नरमा नियुक्त भएपछि भण्डारीले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । त्यसपछि उनी सिटिजन्स बैंक खोलेर सीइओ भएका हुन् ।

कांग्रेस निकट भण्डारीले अहिलेका गभर्नर डा. युवराज खतिवडाले लिएका केही नीति उदार अर्थतन्त्र निमोठ्ने प्रकृतिका भएको भन्दै विरोध गरेर खतिवडालाई हम्मेम्मे पारेका थिए । धेरैले उनी अर्थमन्त्री डा. रामशरण महतसँग निकट बताउँदै आएका छन् । ५६ वर्षीय भण्डारी अलि खरो र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् ।

चार्टर्ड एकान्टेन्सी इन्स्टिच्यूट पञ्जावबाट करसम्बन्धी चार्टर्ड एकाउन्टेन्सी र वि.सं २०५२ मा विभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा स्नात्तकोत्तरसम्मको अध्ययन छन ।

कृष्ण ज्ञवाली

Krishna-Gyawaliपूर्वउद्योग सचिव ज्ञवालीको नाम पनि गभर्नरका लागि चर्चामा छ । २१ महिना उद्योग सचिव गत साउनमा भएर सेवानिवृत्त भएका ज्ञावालीसँग ३० वर्ष निजामती सेवामा काम गरेको अनुभव छ । सेवा अवधिमा उनले सात वर्ष अर्थ मन्त्रालयमा सहसचिव भएर काम गरेका थिए ।

कांग्रेससँग निकट ज्ञवाली २०३८ सालमा नेविसंघको तर्फबाट बाल्मीकी विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका थिए ।

बेलायतको बर्मिङघम विश्वविद्यालयबाट सन १९९० मा विकास प्रसासनमा स्नात्तकोत्तर गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, जनप्रसासनमा स्नात्तकोत्तर र कानूनमा बीएल गरेका छन् ।

पृथ्वीबहादुर पाण्डे

PrithibiBahadur-Pandeyराष्ट्र बैंककै पूर्वकर्मचारी पाण्डे लामो समयदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष छन् । नाताले अर्थमन्त्री डा. महतका सम्धी पर्ने पाण्डेको नाम पनि गभर्नरका लागि चर्चामा छ । यसअघि पनि गभर्नर नियुक्तिका बेला उनको नाम चर्चामा थियो ।

उनी बैंकिङबाहेक अन्य व्यवसायमा पनि सक्रिय छन् । पाण्डेको लगानी तथा योजनामा पर्यटकीय स्थल ठमेलमा सुविधा सम्पन्न व्यवसायीक कम्पलेक्स ‘छाँया सेन्टर’ निर्माण भइरहेको छ ।

गोविन्दबहादुर थापा

Govindabadhurराष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक थापाको नाम पनि गभर्नरका लागि चर्चामा छ । थापा एमाले निकट भएकाले अहिलेको राजनीतिक समिकरण परिवर्तन भएमा उनी पनि बलिया उम्मेद्वार हुन् । एमालेका तर्फबाट यस पटकका लागि महाप्रसाद अधिकारी र थापा दुइजनाको मात्रै नाम चर्चामा छ ।

राष्ट्र बैंकबाट अवकाश पाएपछि थापाले एसियाली विकास बैंकलगायतमा काम गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment