विश्वको सबैभन्दा मूल्यवान टेक स्टार्टअप घोषित भएको एक हप्तापछि चिनियाँ स्मार्टफोन निर्माता शाओमीले गएको वर्ष कम्पनीको आम्दानी दोब्बर भन्दा बढिले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।
सन् २०१४ कम्पनीले आफ्नो उत्पादन बिक्रिबाट ७४ अर्ब ३० करोड युआन अर्थात् ११ अर्ब ९७ करोड डलर आम्दानी गरेको जनाएको छ । कर तिर्नुअघिको यो आम्दानी सन् २०१३ को भन्दा १ सय ३५ प्रतिशतले बढि हो ।
विश्वको तेश्रो ठूलो स्मार्टफोन निर्माता शाओमीले गएको वर्ष ६ करोड १० लाख गोटा फोन बिक्रि गर्न सफल भएको थियो । बिक्रिको हिसाबले यो सन् २०१३ भन्दा २ सय २७ प्रतिशतले बढि हो ।
गएको हप्ता मात्रै १ अर्ब १० करोड थप लगानी जुटाउँदै आफ्नो सम्पत्ति ४५ अर्ब डलर पूराएको शाओमी विश्वको सबैभन्दा मूल्यवान टेक स्टार्टअप बनेको थियो ।
त्यसअघि सबैभन्दा मूल्यवान निजि टेक्नोलोजी कम्पनीको रुपमा रहेको ट्याक्सी बुकिङ एप उबरको मूल्य ४० अर्ब डलर रहेको छ ।
लगानी, उत्पादन, बिक्रि तथा आम्दानी समेतमा तिब्रगतिमा प्रगति गर्दै गएको शाओमीले यहीँ जनवरीमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ ।
कम्पनीका मुख्य कार्यकारी लेइ जुनले चिनियाँ सोसल साइट वीबोमा सन् २०१४ शाओमीका लागि महत्वपूर्ण कोशेढुंगा सावित भएको भन्दै आफुहरु निकै तलबाट उठेर चिनियाँ बजारको अग्रणी बनेको बताएका छन् । सन् २०१० को अपि्रलमा सानो रुपबाट सुरु भएदेखि कम्पनीले लामो मार्ग तय गरेको उनले बताए ।
सस्तो मूल्यका स्मार्टफोन निर्माता शाओमीले गत वर्ष चिनियाँ बजारमा सामसुङलाई पछि पार्दै नम्बर वान बनेको थियो । चिनियाँ बजारको अग्रस्थान कायम राख्दै यो वर्ष बाह्य मुलुकको बजारमा समेत प्रभाव जमाउने लक्ष्य कम्पनीको रहेको छ ।
चीनबाहेक विश्वका अन्य मुख्य ५ बजारमा प्रवेश गरिसकेको भन्दै उनले भारतीय बजारमा पछिल्लो ५ महिनामा १० लाख गोटा फोन बिक्रि गरिएको बताए । पछिल्लोपटक शाओमीको ध्यान इन्डोनेसिया, अफि्रकी महादेशका मुलुक र भारतमा केन्द्रीत छ ।
प्रतिक्रिया 4