पोखरा । हिमालको फेदीबाट आकाशमा चराजस्तै उड्न कसलाई मन नहोला ? अब पोखरामा यसको पनि स्वाद चाख्न पाइने भएको छ ।
प्यारागाइडिङ पोखराका लागि नौलो होइन । तर, पोखरा र सराङकोटको आकाश व्यस्त भइरहेका बेला पोखरामा पदयात्रासहित हिमालको फेदीबाट प्याराग्लाइडिङ गर्ने नयाँ रुट तय भएको छ ।
यसका लागि पहिलो दिन पदयात्रा गरेपछि दोस्रो दिन उडान गर्न पाइन्छ । मार्दी हिमालको फेदीसम्म पदयात्रा गरेपछि उडान हुने स्थानमा पुगिन्छ, जुन समुद्री सतहबाट करिब ३ हजार ५ सय मिटर उचाइमा रहेको छ ।
पोखरादेखि फिदिङसम्म दुई घण्टा सवारी साधनमा यात्रा गरेपछि सुरु हुन्छ पैदल यात्रा । पदयात्राका क्रममा लो क्याम्प पुग्नलाई तीनघण्टा र लो क्यापबाट हाईक्याम्प पुग्नलाई थप तीन घण्टा लाग्छ । हाईक्याम्पमा बास बस्न तथा खानपिनको राम्रो व्यस्था छ । क्यामपिङ गर्ने चाहनेलाई त्यसको पनि व्यवस्था छ ।
मार्दी हिमालको फेदीबाट पोखरासम्म पुग्नलाई ४५ मिनेट लाग्छ । त्यो बाटोमा अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायत दर्जनौं हिमाल देख्न पाइन्छ ।
पोखराको सराङकोट धेरै उडान हुने ठाउँ हो । त्यसैले प्याराग्लाइडिङका लागि यो गन्तव्य उपयुक्त हुन सक्छ । यति मात्र नभएर हिमालकै काखबाट उडान हुने भएकाले पनि यसको मज्जा नै अर्कै हुने गर्दछ ।
पोखराको आकाश निकै व्यस्त भएपछि त्यसको विकल्पका रुपमासमेत यो स्थान उपयुक्त हुन मानिएको छ ।
दुई दिनको समय चाहिने यो उडानका लागि कम्तिमा ३ जना चाहिन्छ । बर्षातको समयमा एयर भिजिविलीटी कम हुने भएकाले उडान गर्न अलि गाह्रो हुने गर्छ ।
पोखरामा प्याराग्लाइडिङको चाप भएकाले प्याराग्लाइडिङका प्रशिक्षार्थीहरुले समेत यो स्थान रोज्ने गरेका छन् ।
प्रतिक्रिया 4