Comments Add Comment

‘हिट एण्ड रन’ को तयारीमा वैद्य माओवादी

३ माघ, काठमाडौ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले आफूहरुले गर्ने आन्दोलनविरुद्ध परिचालित हुने समूहमाथि प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी नेता कुलबहादुर केसी सोनामले माघ ८ को आसपास ‘हिट एण्ड रन’ (हानेर भाग्ने) कार्यनीति अपनाइने बताएका छन् ।

badal-nepal-maoistएमाओवादी मोर्चासँग संयुक्तरुपमा घोषणा गरिएको नेपाल बन्दलगायतका कार्यक्रमबारे कार्यकर्ता परिचालन गर्न नेवाः राज्य कार्यालयले शनिबार कुपन्डोलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव थापा र केन्द्रीय नेता सोनामले यस्तो बताएका हुन् ।

कार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव बादलले आन्दोलन सशक्त पार्न निर्देशन दिएका छन् । ‘बन्दलगायतका कार्यक्रममा एमाले-कांग्रेसले भिजिलान्ते प्रयोग गर्न सक्छन्,’ बादलले प्रशिक्षणमा भने, ‘उनीहरुको प्रतिकारको प्रतिरोध गर्नुपर्छ, स्वयंसेवक टिम बनाएर ठीक पार्नुपर्छ ।’

आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन ‘हिट एण्ड रन’को रणनीति लिने माओवादी नेता सोनामले प्रशिक्षणमा बताए । स्रोतका अनुसार वैद्य माओवादीले माघ ७ र ८ गते छामामार शैलीमा आन्दोलन आक्रामक बनाउने तयारी गरेको छ । प्रशिक्षणमा केही नेताहरुले संयुक्त आन्दोलने भए पनि बन्दका बेला केही भ्रष्टाचारी नेताहरुलाई ढुंगा हानेर भाग्नुपर्ने र यसो गर्दा संविधानसभा भित्रका शक्तिलाई बाहिर ल्याउन सकिने बताए ।

निशाना एउटै, नारा अलग

संविधानसभाबाट संविधान बन्नै नदिने र सहमतिमा जारी हुने संविधानमा पहिचानसहितको संघीयता हुनुपर्ने अलग-अलग नारा बोकेका दलहरु एकसाथ सडक ठप्प पार्ने योजनामा लागेका छन् । संविधानसभामा रहेका १९ दलसहितको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, तुलाधर नेतृत्वको जनजाति आन्दोलन र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आगामी माघ ६ गते संयुक्त रुपमा नेपाल बन्दको आहृवान गरेका छन् ।

संविधानसभा भित्रैबाट संविधान बन्छ भन्नेहरुबीच पनि ध्रुवीकरण भइरहेको भन्दै माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसी ‘सोनाम’ले निशाना एउटै भएकाले संयुक्त आन्दोलन गर्न लागिएको भए पनि नारा अलग-अलग लाग्ने बताए ।

‘उनीहरुको नारा सहमतीय हुन्छ, हाम्रो संविधानसभा विघटनको हुन्छ,’ सोनामले भने, ‘भोलि नारा बदल्नुपरे कोर्ष बदल्छौं ।’ उनले संयुक्त आन्दोलनमा आक्रमक ढंगले प्रस्तुत हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

जनजातिमाथिको दमन फाँसीवाद

माओवादी महासचिव बादलले शुक्रबार पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनमाथि रत्नपार्कमा भएको दमन फासीवाद भएको बताए । ‘पञ्चायतीकालका यस्तै फासीवादी हर्कत हुने गथ्र्यो,’ बादलले भने, ‘जनजाति आन्दोलनमाथिको दमन एउटा क्लाइमेक्स हो ।’ क्रान्तिकारीहरुलाई दबाउन प्रतिगामी र यथास्थितिवादी शक्तिहरु एकीकृत भइरहेको उनको भनाइ थियो ।

‘अहिले प्रतिगामीहरु विजयोल्लास मनाइरहेका छन्,’ बादलले भने, ‘अहिले प्रतिगागीहरु एकीकृत भइरहेका छन्, केपी ओलीहरुले भृकुटीमण्डपको कार्यक्रममा गाईको दूध खान आएको भन्दै थिए ।’ बादलले देशमा दुई प्रकारको ध्रुवीकरण बढ्दै गएको टिप्पणी गरे । बढ्दो ध्रुवीकरणलाई उत्कर्षमा लैजान जरुरी भएको उनले बताए ।

यथास्थितिवादीहरु र क्रान्तिकारी शक्तिहरुबीचको कित्ता छुट्टिदै गएको उल्लेख गर्दै उनले संविधानसभाबाटै अग्रगामी संविधान बन्न नसक्ने निश्कर्षमा संविधान सभाभित्रैका दलहरु सडक आन्दोलनमा आउनुपरेको बादलले दाबी गरे । उनले एमाओवादी नेतृत्वको मोर्चा र जनजाति आन्दोलनसँगको संयुक्त आन्दोलन संकटको उत्कर्ष भएको बताए ।

संकट समाधानको पहिलो विकल्प सर्वपक्षीय राजनीतिक सभा र दोस्रो विकल्प संयुक्त आन्दोलन भएको बादलले बताए । नयाँ संविधान जारी गर्नका लागि तोकिएको समयसीमा माघ ८ को कार्यक्रमलाई प्रभावित पार्न भन्दै यसअघि छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेको वैद्य माओवादीले माघ ६ गते संयुक्तरुपमा नेपाल बन्दको कार्यक्रम गर्दैछ भने अन्य कार्यक्रम आफ्नै ढंगले गर्दैछ । वैद्य माओवादीले आइतबार सिठ्ठी जुलुस र सोमवार राजधानीका विभिन्न ठाउँबाट मसाल जुलुस निकाल्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment