Comments Add Comment

बाढी प्रभावित शिविरका बालबालिकाले पढ्न पाएनन्

BAL-BIKAS-KENDRA-BAKE

  • हाल बन्द रहेको बाँकेको कचनापुरस्थित बालमैत्री सुरक्षित स्थान

आरपी सुवेदी
४ माघ, नेपालगन्ज । बाढी प्रभावित शिविरका बालबालिका लागि बालविकास केन्द्रको आवश्यकता खड्किएको छ । गत साउनमा आएको बाढीको कारण बाँके कचनापुर-६ औरहवा गाउँ नै विस्थापित भएपछि शिविरमा आश्रय लिएका बालबालिकाहरुको लागि बालविकास केन्द्र नहुँदा असहज भएको उनीहरुको माग छ ।

सो शिविरमा बस्दै आएकी स्थानीय रिता थारुले भनिन्-‘दिनभरी काममा जानुपर्छ काम नगरी साँझ विहानको जोहो छैन तर, साना बालबालिकालाई एक्लै शिविरमा छोडेर कसरी काममा जाने ?’

सो गाउँ जंगलको बीचमा पर्ने भएकोले पनि काममा जाने कि बालबालिका हेरेर बस्ने समस्या भएको उनको भनाई छ । नजिकै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगल भएकोले पनि उनीहरुले असुरक्षित महसुस गरेका छन् ।

३ किलोमिटर टाढा महेन्द्रपुर र टिकलीपुरमा बालविकास केन्द्र छन् । त्यहाँ जंगलको बाटो छिचोल्दै जानुपर्छ । ठूला बालबालिकाहरु पैदल हिँडेर त्यहाँसम्म पुगे पनि स-साना बालबालिकालाई पठाउन नसकिने स्थानीयको भनाइ छ । त्यसैले स्कूल जाने उमेरका बालबालिकाहरु पढ्न जान पाएका छैनन् ।

सो शिविरमा ३५ घर परिवारका २ वर्षदेखि ६ वर्ष बीचका ३० भन्दा वढी बालबालिकाहरु छन् । त्यसैले शिविर मै बालविकास केन्द्र स्थापना गरिदिनुपर्ने स्थानीयको माग छ ।

बाढी आए लगत्तै बसेेको सो शिविरमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले तीन महिने बालमैत्री सुरक्षित स्थान सञ्चालनमा ल्याएको थियो । त्यो पनि समयावधि पुरा भएपछि गत डिसेम्बर महिनादेखि बन्द छ ।

जिल्ला शिक्षा कार्यालय बाँकेले भने सो स्थानमा बाल विकास केन्द्रको आवश्यकता भयो भन्दै अहिलेसम्म कोही पनि नआएको जनाएको छ । बाँकेका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बालबालिकाको नामावलीसहित कोही बालविकास केन्द्र माग गर्दै आए आफूहरु उपलब्ध गराउन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment