२० असोज, सुर्खेत । छिमेकी सल्यानमा ९ जनाको मृत्यु हुँदै गर्दा जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको पाइएको छ। साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा चार सय चार जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा एक सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्याङ्कअनुसार साउनको तुलनामा भदौ र असोजमा संक्रमण बढेको देखिएको छ। साउनमा १९ जनामा संक्रमण पुष्टि भएकामा भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण देखिएको हो।
तीन महिनाको अवधिमा परीक्षण गरिएकामध्ये करिब ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ। जिल्लामा सबैभन्दा धेरै संक्रमित नलगाड नगरपालिकामा भेटिएका छन्। नलगाडमा दुई सय तीन जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो।
नलगाडमा साउनमा १५, भदौमा २७ र असोजमा ३४ जनामा संक्रमण देखिएको छ। असोजमा मात्रै नलगाडमा संक्रमण पुष्टि हुनेको संख्या साउनको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।
जिल्ला अस्पतालमा पनि संक्रमण बढ्दो
जिल्ला अस्पताल जाजरकोटमा तीन महिनामा एक सय ९३ जनाको परीक्षण गर्दा ४२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। अस्पतालमा साउनमा चार, भदौमा २९ र असोजमा नौ जनामा संक्रमण देखिएको हो।
अस्पतालका अनुसार अहिले दुई जना स्क्रब टाइफसका बिरामी उपचाररत छन्। अस्पतालमा परीक्षणका लागि आउने बिरामीको संख्या र संक्रमणको अवस्थालाई हेर्दा जिल्लामा रोगको जोखिम कायम रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
छेडागाड नगरपालिकामा भने परीक्षणको संख्या कम भए पनि संक्रमणको दर उच्च देखिएको छ। त्यहाँ आठ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ। चारै जना असोज महिनामा संक्रमित भेटिएका हुन्।
समयमै परीक्षण र उपचारमा जोड
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा सुनिल पुनले स्क्रब टाइफसको लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराए रोग निको हुने बताए।
उनले संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलाग्न आग्रह गरे। ‘लक्षण देखिएपछि घरमै बसेर अनुमानका भरमा औषधि सेवन गर्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्छ’, उनले भने।
स्क्रब टाइफस ‘ओरिएन्टिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो। संक्रमित झाडी तथा घाँसे क्षेत्रमा पाइने सानो किर्नाजस्तो ‘चिगर’को टोकाइबाट मानिसमा यो रोग सर्ने गर्दछ। विशेषगरी वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने स्वास्थ्यकर्मी बताउँछन्।
संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक कमजोरी हुने, खोकी लाग्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। चिगरले टोकेको स्थानमा कालो दाग वा घाउजस्तो चिन्हसमेत देखिन सक्ने चिकित्सक बताउँछन्।
समयमै रोग पहिचान गरी चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक उपचार गरेमा स्क्रब टाइफस निको हुने भए पनि उपचारमा ढिलाइ भएमा फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न हुन सक्ने चिकित्सकको भनाइ छ।
संक्रमण नियन्त्रणका लागि तयारी

जिल्लामा संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले रोकथाम तथा नियन्त्रणका लागि तयारी अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी नवराज बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा संक्रमण देखिएको तथा छिमेकी जिल्लामा समेत संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो।
बैठकले जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, जिल्ला अस्पताल तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक तयारी गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ।
संक्रमितको परीक्षण, पहिचान र उपचारका लागि जिल्ला अस्पताल तथा स्थानीय तहअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ। सर्वसाधारणलाई रोगबारे जानकारी गराउन रेडियो, एफएम, स्थानीय सञ्चारमाध्यम, कार्यालयका वेबसाइट तथा सामाजिक सञ्जालमार्फत स्क्रब टाइफसका लक्षण, रोकथाम, उपचार र नियन्त्रणसम्बन्धी सूचना तथा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको छ।
नियमित विवरण संकलन गरिने
जिल्लामा स्क्रब टाइफस संक्रमणको अवस्था नियमित रूपमा अद्यावधिक गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई जिम्मेवारी दिइएको छ। कार्यालयले स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबाट संक्रमितको विवरण संकलन गरी जिल्लाको समग्र अवस्था तयार पार्ने र नियमित रूपमा जिल्ला सुरक्षा समितिमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ।
स्वास्थ्यकर्मीले झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा ज्वरोसहितका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।
प्रतिक्रिया 4