+
+
Shares

सल्यानका सात पालिकामा फैलियो स्क्रब टाइफस, अध्ययन गर्न विज्ञ टोली आउँदै

सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि अध्ययनका लागि विज्ञ टोली आउने भएको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १४ गते १६:३७

१४ असोज, सुर्खेत । सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि अध्ययनका लागि विज्ञ टोली आउने भएको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ ।

स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै दुई हजार ४०० भन्दा बढीको परीक्षण गर्दा ४७२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञसहितको टोली आउन लागेको सल्यानकी प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले बताइन ।

संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक महिला, एक बालक र छ पुरुष छन् । स्वास्थ्यकर्मीका अनुसार मृतकमध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक छन् ।

जिल्लाका धेरै क्षेत्रमा संक्रमण फैलिएपछि रोग नियन्त्रण महाशाखा, टेकुबाट अनुसन्धान टोली सल्यान आउने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन ।

‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्न टोली परिचालन हुन लागेको छ,’ उनले भनिन् ।

फैलिँदै संक्रमण, ज्वरोका बिरामी बढ्दै

संक्रमण अहिले फैलिएर सल्यानका सात पालिकामा पुगेको छ । जसमा दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डे छन् । यी पालिकाहरूमा ज्वरोका बिरामी बढेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटबाट स्क्रब टाइफस परीक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार दार्मामा ११६, कुमाखमा ६५, बागचौरमा १७५, छत्रेश्वरीमा आठ, कालीमाटीमा दुई, कपुरकोटमा ५३ र बनगाड कुपिण्डेमा सात जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जिल्ला अस्पताल सल्यानमा परीक्षण गरिएका ७८५ जनामध्ये ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

सावधानी अपनाउन आग्रह, गाउँमा बेवास्ता

स्वास्थ्यकर्मीहरूले घाँसपात, दाउरा र कृषि कामका क्रममा किर्नोको टोकाइबाट जोगिन शरीर पूरै ढाक्ने कपडा, पञ्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन आग्रह गर्दै आएका छन् । घर वरिपरिका झाडी तथा बुट्यान सफा राख्नसमेत आग्रह गरिएको छ ।

तर ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर नागरिकको दैनिक काम नै जंगल, झाडी र घाँसपातसँग जोडिएकाले सावधानी अपनाउन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख प्रतिभा बिकका अनुसार घाँसपात तथा झाडीमा काम गर्दा आवश्यक सावधानी नअपनाउँदा संक्रमण फैलिरहेको छ । उनका अनुसार रोग पहिचान भएपछि नियमित औषधि सेवनबाट अधिकांश बिरामी निको भइरहेका छन् । तर, रोग पहिचान नगरी जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको छ ।

पहिचान नहुँदा ज्यान जाने जोखिम

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार स्वास्थ्य शिविरमार्फत परीक्षण र उपचारमा तीव्रता दिएपछि पछिल्लो समय संक्रमणबाट मृत्यु रोकिएको छ । तर स्वास्थ्य सचेतनाको अभावमा ज्वरो आएका बिरामीले स्वास्थ्य संस्थामा परीक्षण नगरी मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने समस्या कायमै छ ।

‘शिविर सञ्चालन गरी किटबाट रोग पहिचान गरेर औषधि सेवन गर्दा पछिल्लो समयमा कसैको मृत्यु भएको छैन,’ बस्नेतले भने, ‘सामान्य बिरामीको पालिकामै उपचार भइरहेको छ। जटिल समस्या भएकालाई मात्र बाहिर पठाउने गरेका छौँ ।’

उनका अनुसार संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले ज्वरो प्रभावित बस्तीमा पुगेर शंकास्पद बिरामीको परीक्षण, उपचार र स्वास्थ्य सचेतनाको काम भइरहेको छ ।

गाउँको दैनिकीका कारण जोखिम

जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण ओलीका अनुसार ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवन नै स्क्रब टाइफस फैलाउने किराको सम्पर्कमा पुग्ने भएकाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

‘ग्रामीण क्षेत्रका स्थानीय कृषि र पशुपालनमा निर्भर छन्। उनीहरूको दैनिकी नै घाँसपात र दाउरामा बित्छ,’ ओलीले भने, ‘दैनिक दुई–तीन पटकसम्म जंगल आसपासमा जानुपर्ने भएकाले हतारमा काम गर्दा सावधानीका उपाय अपनाउन छुट्ने गरेको छ ।’

उनका अनुसार जंगल तथा बुट्यानमा काम गर्ने क्रममा किर्नोको टोकाइबाट संक्रमणको जोखिम बढ्छ । त्यसैले घर वरिपरिका झाडी सफा राख्नुका साथै घाँसपात र दाउरा गर्दा शरीर पूरै ढाकिने कपडा, पञ्जा र जुत्ता प्रयोग गर्न आवश्यक छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?