+
+
Shares

सल्यानमा स्क्रब टाइफस संक्रमण फैलियो, सांसद मल्लले गराए सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्राणप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रमेश कुमार मल्लले सल्यानको दार्मामा स्क्रब टाइफस फैलिएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गरेका छन् ।
  • उनले दार्मा गाउँपालिकामा एक महिनामा स्क्रब टाइफसका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भएको बताए ।
  • पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा स्क्रब टाइफस पुष्टि भएको मल्लले जानकारी दिए ।

६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्राणप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस संक्रमणका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भइसकेको बताए ।

‘संक्रमण फैलिँदै गएको छ, नागरिकहरू जोखिममा छन् तर रोग पहिचानका लागि आवश्यक परीक्षण किट समेत पर्याप्त छैन’ उनले भने, ‘स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सहयोग माग गरेको महिना दिन बितिसक्दा पनि कुनै सहयोग पाएका छैनन् ।’

उनका अनुसार सल्यानका दार्मा, कुमाख, बागचौर लगायतका पालिकामा स्क्रब टाइफस संक्रमित नागरिकहरू बढिरहेका छन् । पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्रै ३३५ जनाको स्वास्थ्य परीक्षण गर्दा ११६ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । अर्थात् परीक्षण गरिएकामध्ये झण्डै ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको अवस्था छ ।

‘यो त अहिलेसम्म परीक्षण गर्दा भेटिएको तथ्यांक मात्रै हो’ उनले भने, ‘सल्यानका सबै जोखिमयुक्त क्षेत्रमा पर्याप्त परीक्षण गर्ने हो भने संक्रमितको संख्या अझै धेरै हुन सक्ने अवस्था छ ।’

परीक्षण किटको अभावमा रोगको समयमै पहिचान, उपचार र संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार नेपालमा स्क्रब टाइफस संक्रमितको संख्या आर्थिक वर्ष ७९/८० मा ९ हजार २४३ रहेकोमा आर्थिक वर्ष ८१/८२ मा बढेर २५ हजार ४९४ पुगेको भन्दै उनले त्यसमा पनि सबैभन्दा धेरै संक्रमण कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बताए ।

‘स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो । स्वास्थ्य संकटका बेला नागरिकले राज्यको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ । सभामुख महोदयमार्फत् म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु’ उनले भने ।

सल्यानमा पर्याप्त परीक्षण किट, आवश्यक औषधी र स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन उनले माग गरे ।

‘स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइयोस् र जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण तथा जनचेतना अभियान सञ्चालन गरियोस्’ उनले भने ‘त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमणलाई नियन्त्रणमा लिन तत्काल आवश्यक कदम चालियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?