News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस तीव्र बनेको छ, सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ।
- दार्मामा साउनयता स्क्रबटाइफसबाट ६ जनाको मृत्यु भएको छ, पछिल्लोपटक ६९ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको मृत्यु भएको हो।
- परीक्षण किट अभावका कारण बिरामीले झुल्नेटा र अन्य बजारमा जानुपरेको छ, र आज संक्रमणबारे जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदैछ।
६ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ। पछिल्लो समय संक्रमण तीव्र बनेपछि गाउँपालिकाले चार स्थानमा एकैपटक परीक्षण सुरु गरेको छ। सोमबार मात्रै १९१ जनाको किटद्वारा परीक्षण गर्दा ६० जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतका अनुसार साउनको दोस्रो सातादेखि पालिकामा स्क्रबटाइफस देखिन थालेको हो। १ भदौमा पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसयता संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
‘८ भदौमा नै संक्रमणबारे जानकारी गराएका थियौँ। तर परीक्षण किटको अभाव हुँदा समस्या भयो,’ बस्नेतले भने, ‘अहिले चार ठाउँबाट परीक्षण भइरहेको छ। सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण देखियो।’
स्वास्थ्य शाखाका अनुसार पालिकाका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । परीक्षण गरिएका बिरामीमध्ये दैनिक दुईदेखि पाँच जनासम्ममा संक्रमण पुष्टि हुँदै आएको छ।
पछिल्लो समय दीर्घरोग भएका व्यक्तिमा संक्रमण देखिनुका साथै उनीहरूको अवस्था जटिल बन्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।
साउनयता ६ जनाको मृत्यु
दार्मामा साउनयता स्क्रबटाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य शाखाले जनाएको छ। पछिल्लोपटक दार्मा–१ का ६९ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुवैजना दीर्घरोगी रहेको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए।
यसअघि दार्मा–५ लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा नं. ६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा र नरबहादुर बुढाथोकी तथा वडा नं. २ सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको मृत्यु भएको थियो।
स्वास्थ्य शाखाका अनुसार मृतकमध्ये वडा नं. १ मा तीन जना रहेका छन् भने वडा नं. ३ मा हालसम्म संक्रमणबाट मृत्यु भएको छैन। अन्य वडामा एक/एक जनाको मृत्यु भएको जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिए।
यसअघि भदौको मध्यतिरै दार्मामा तीन साताको अवधिमा चार जनाको मृत्यु र एक सयभन्दा बढीमा संक्रमण पुष्टि भएको उनले बताए । स्वास्थ्य संस्थामा दैनिक तीनदेखि चार जनासम्म नयाँ संक्रमित भेटिएको र बिरामीको चाप बढेको त्यतिबेला स्वास्थ्यकर्मीले बताएका थिए।
किट अभावले परीक्षणमा समस्या
संक्रमण बढिरहँदा दार्माका स्वास्थ्य संस्थामा स्क्रबटाइफस परीक्षण गर्ने किटको अभावसमेत देखिएको छ ।
किट अभाव भएपछि कतिपय बिरामी परीक्षणका लागि रुकुमको झुल्नेटा, फारुला तथा सल्यानका अन्य बजारसम्म पुग्नुपर्ने अवस्था आएको स्थानीयले बताए ।
स्वास्थ्य कार्यालय सल्यानसँगको सहकार्यमा भदौ दोस्रो साता स्वास्थ्य शिविर सञ्चालन गरी ज्वरोका बिरामीको परीक्षण तथा उपचार गरिएको थियो । अहिले गाउँपालिकाका विभिन्न स्थानमा पुन: किटद्वारा परीक्षण भइरहेको बस्नेतले बताए।
किटको मौज्दात घट्दै गएको र संक्रमणमा कमी नआएकाले थप किट तथा आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले बताए।

परीक्षणबिनै औषधि सेवन गर्दा जोखिम
स्वास्थ्य शाखाले ज्वरो आएपछि परीक्षण नगराई निजी मेडिकलबाट औषधि सेवन गर्ने प्रवृत्तिले समस्या थपिएको जनाएको छ।
बिरामीले छिटो निको हुने आशामा स्वास्थ्य संस्थामा परीक्षण नगरी लक्षणका आधारमा औषधि सेवन गर्ने गरेका कारण विशेषगरी दीर्घरोगी बढी जोखिममा परेको बस्नेतले बताए।
‘रोग पहिचान नगरी कडा औषधि सेवन गर्ने प्रवृत्ति छ। मेडिकल सञ्चालकलाई समेत परीक्षण गरेर मात्र औषधि दिन सचेत गराउँदै आएका छौँ,’ उनले भने।
दार्मा–१ स्थित भल्चौर स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ। सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी आउने गरेकामा अहिले ३० जनासम्म पुग्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरोको औषधि सेवन गर्दा पनि निको नभएका बिरामीको स्क्रबटाइफस परीक्षण गर्ने गरिएको उनले जानकारी दिए।
झुल्नेटा बजारमा उपचार गर्न जाने बाध्यता
गत वर्षसमेत दार्मामा स्क्रबटाइफसका कारण चार जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।
अघिल्लो वर्ष स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा घरघरमै पुगेर परीक्षण तथा उपचार गरेपछि संक्रमण नियन्त्रणमा ल्याइएको थियो।
स्वास्थ्य शाखाले वर्षायाममा घाँसपात तथा झाडीमा काम गर्दा सावधानी अपनाउन, ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि सेवन नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ।
संक्रमणबारे आज छलफल हुँदै
स्क्रबटाइफसको संक्रमणको कुराको जानकारी आएकाले मंगलबार स्वास्थ्य सेवा कार्यालयको टिमलाई जिल्ला प्रशासन कार्याालयमा बोलाएर छलफल गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले जानकारी दिइन् ।
पालिका तथा अन्य ठाउँबाट पनि स्क्रबटाइफसको संक्रमणको कुरा आएका कारण प्रदेश सरकारदेखि अन्य ठाउँमा सम्पर्कको काम भइरहेको उनको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सूचना अधिकारी अध्ययन विदा र कार्यालय प्रमुख लामो समय देखि मुलुक बाहिर भएका कारण सम्पर्क हुन सकेन ।
प्रतिक्रिया 4