+
+
Shares

प्रधानमन्त्री बालेन अमेरिका जाँदा तोडिनेछन् विगतका परम्परा, भीआईपी कक्षमा नबस्ने, सलामी नलिने

‘भीआईपी कक्षको बाटो हुँदै प्रधानमन्त्रीज्यू सरासर हवाईजहाजमा चढ्न जानुहुनेछ, भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ स्रोतले भन्यो, ‘उहाँ चढे लगत्तै जहाज काठमाडौंबाट उड्ने छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ११:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ करिब ७ बजे काठमाडौंबाट अमेरिका प्रस्थान गर्दैछन्।
  • विदेश प्रस्थानका क्रममा नेपाली सेनाको सलामी, विमानस्थलमा सरकारी पदाधिकारी र कर्मचारीको बिदाइ तथा स्वागतको ताँती यसपटक नहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
  • शाहले महासभामा जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र जलवायु न्यायबारे सम्बोधन गर्नेछन्।

६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ ।

अर्थात उनले नेपाली सेनाको सलामी लिने छैनन् भने मन्त्रीसहितका सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू लाइन लागेर बिदाइ गरेको दृष्य पनि देखिने छैन ।

प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा विगतमा जस्तो सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने परम्परा अब तोडिने छ ।’

न्युयोर्क प्रस्थान गर्ने दिन पनि प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा काममा व्यस्त छन् । उनी आज साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री बालेन विमानस्थल पुग्नुअघि नै उनका टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसकेका हुनेछन् ।

प्रधानमन्त्री बालेनले भीआईपीहरू आउजाउ गर्ने बाटो प्रयोग गर्नेछन् ।

‘भीआईपी कक्षको बाटो हुँदै प्रधानमन्त्रीज्यू सरासर हवाईजहाजमा चढ्न जानुहुनेछ, भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ स्रोतले भन्यो, ‘उहाँ चढे लगत्तै जहाज काठमाडौंबाट उड्ने छ ।’

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन करिब सात बजे काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे अवगत गराउँदै जलवायु न्यायबारे कुरा राख्नेछन् ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा कार्यालयको नियमित काम छाडेर समेत उच्च सरकारी अधिकारीदेखि विभिन्न तहका कर्मचारी विमानस्थल पुग्ने गरेका थिए ।

प्रधानमन्त्रीको बिदाइ तथा स्वागतका नाममा विमानस्थलमा सरकारी पदाधिकारीको ठूलो भिड देखिने गरेकोमा यसपटक त्यस्तो दृष्य नदेखिने स्रोतको भनाइ छ ।

‘उहाँले संविधान दिवसको दिनमै पनि पुराना कुरा छाड्छौं भन्नुभएको कुरा तपाईंलाई थाहै होला,’ प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘स्वागत र बिदाइमा तामझाम गर्ने स्वभाव प्रधानमन्त्रीज्यूको छैन र अहिलेको विपद्को बेलामा अरूले पनि त्यस्तो गर्नु उचित हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?