Comments Add Comment

विमानस्थल पूर्वाधारमा सरकार केन्द्रित, यी हुन् ५ ठूला परियोजना

Nijgadh-International-Airport-Final-2नविन अर्याल

४ माघ, काठमाडौं । मुलुकभित्र विमानस्थल पूर्वाधार निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण तातेको छ । प्राधिकरणले मुलुकका विभिन्न ठाउँमा पाँचवटा ठूला आयोजनाको काम अगाडि बढाएको छ ।

प्राधिकरणका ठूला योजनाहरुमध्ये गौतम बुद्ध विमानस्थलको स्तरोन्नती गरि क्षेत्रिय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम माघ १ गतेदेखि सुरु भएको छ । उक्त एयरपोर्टको शिलन्यास प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकिकरण आयोजना, हवाई यातायात क्षमता अभिवृद्धि आयोजन प्राधिकरणले निर्माण सम्पन्न गर्ने प्रमुख आयोजनाहरु हुन् ।

यी मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकिकरण गर्ने काम चलिरहेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पनि अगाडि बढिसकेको छ । त्यस्तै, प्राधिकरणले करिव ७० करोड लगानीमा सुविधा सम्पन्न मुख्यालय बनाउँदै छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म मुलुकमा ६ वटा निर्माणाधिन समेत गरी ५६ वटा विमानस्थल रहेका छन् । जसमध्ये ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ ।

कालिकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, लमजुङको शितलेस्वारा, गुल्मीको सिमिचौर, इलामको सुकिलुम्बा र अर्घाखाँचीको अर्घाभगवती निर्माणाधिन विमानस्थल हुन् ।

गौतमबुद्ध विमानस्थल

Goutam-Buddha-Airport-4भैरहवाको गौतम बुद्ध विमानस्थललाई स्तरोन्नती अन्तर्राष्ट्रिय स्तरको बनाउने काम माघ १ गतेदेखि सुरु भइसको छ । करिव ८ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरिएको यो विमानस्थल सन् २०१८ को जनवरीसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो विमानस्थल निर्माणको पहिलो चरणको काम चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ६ अर्ब २२ करोड ५१ ल्ाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा विमानस्थल निर्माण गर्ने जिम्मा पाएको हो ।

दोस्रो चरणको कामका लागि प्राधिकरणले पुनः ग्लोबल टेन्डर आहृवान गर्ने बताइएको छ । नेभिगेसन इक्विपमेन्ट जडान गर्ने दोस्रो चरणको काम सम्पन्न गर्न करिव २ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण गरिन लागेको यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा लिइएको छ । यहाँ ठूला वाईड बडी जहाज अवतरण गर्न सकिने गरी स्तरोन्नती गर्न लागिएको हो ।

यो विमानस्थल निर्माणपश्चात त्रिभुवन विमानस्थलमा बजेट एयरलाइन्सको चाप घट्नुका साथै बौद्ध धर्मालम्बीहरुले सिधै आफ्नो पवित्र धार्मिक स्थलको अवलोकन भ्रमण गर्न पाउनेछन् । यो एयरपोर्टले मुलुकको समग्र अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

पोखरा विमानस्थल

Pokhara_Airportपोखराको छिनेडाँडामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम अगाडि बढाइएको छ । २०३३ सालमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरी विमानस्थल निर्माणको बहस प्रारम्भ गरिएको थियो ।

यो विमानस्थल निर्माणका लागि प्राधिकरण र चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीबीच सन् २०१४ मे २२ मा २१ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ बराबर रकमको सम्झौता भएको छ ।

इपीसी मोडेलबाट तयार गरिने यो अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहणको सम्पूर्ण प्रशासनिक एवं प्राविधिक कार्य सम्पन्न भइसकेको छ ।

प्राधिकरणले प्रथम चरणमा एप्रोच लाइट एरियाको ८०.३२ रोपनी जग्गाको मुआब्जा प्रदान गर्ने कार्यको लगि गत मंसिर १५ गते सुचना प्रकाशित गरिसकेको छ । यो विमानस्थल निर्माण पश्चात नेपालको पर्यटन क्षेत्रमा नयाँ आयम थपिने अपेक्षा गरिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

Nijgadh-International-Airport-Finalबाराको निजगढमा बुट मोडलमा निर्माण गरिन लागेको बहुप्रतिक्षित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक कार्य शुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारबाट विभिन्न समयमा गरेका सम्भाव्यता अध्ययनको आधारमा बुट मोडलमा निर्माण गर्ने योजना अनुरुप डेभलपरलाई आहृवान गर्नुपूर्व सरकारबाट सम्पन्न गर्नुपर्ने प्रारम्भीक कार्य (इआइए स्टडी), सरकारी तथा नीजि जग्गा प्राप्ती, बन क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको पुर्नवास, विद्युत, पानी, टेलिफोन, ल्यान्डफिल साइटजस्ता कामहरु सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७१/०७२ मा ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कार्यक्रम तथा बजेट बाँडफाँडका स्वीकृतिको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रस्तावित विमानस्थल निर्माणको चार किल्ला क्षेत्रलाई नेपाल सरकार गैर सौनिक हवाई उड्डयन ऐन २०१५ को प्रावधान बमोजिम राजपत्रमा सूचना प्रकाशित गरी ‘विमानस्थल क्षेत्र घोषणा’ गर्नेतर्फ आवश्यक तयारी भइरहेको बताइएको छ ।

त्रिभुवन विमानस्थलको आधुनिकिकरण

tiaयो परियोजना प्राधिकरणको दीर्घकालिन योजना हो । जापान सरकारको अनुदान सहयोगमा सन् १९९८ देखि सञ्चालनमा आएको टर्मिनल र्‍याडर सिष्टम पुरानो भइसकेको हुँदा यसलाई प्रतिस्थापन गर्न नेपाल सरकारको अनुरोधमा जापान सरकारले अनुदान सहयोगमार्फत त्रिभुवन विमानस्थल कार्यालयमा टर्मिनल मोनोपुल्स सेकेन्डरी सर्भिलेन्स र्‍याडर र भट्टेडाँडामा इनरुट मोनोपुल्स सेकेन्डरी सर्भिलेन्स र्‍याडर जडान गर्ने काम भइरहेको छ ।

भट्टेडाँडामा जडान हुने इनरुट मोनोपुल्स सेकेन्डरी सर्भिलेन्स र्‍याडरको कभरेज करव २५० न्यूटिकल माइल हुने हुँदा नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय उडानहरुमध्ये ९० प्रतिशत जहाजलाई निगरानी गर्न सम्भव हुने बताइएको छ ।

प्रस्तावित राडार स्टेशन स्थापनाका लागि तीनपाने भञ्ज्याङदेखि भट्टेडाँडासम्मको करिव ३ किलोमिटरको पहुँच सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । साथै, भट्टेडाँडामा एन्टेना टावर तथा उपकरण राख्ने तथा अन्य भवनहरुको निर्माण कार्य पनि सुरु भइसकेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयको र्‍याडार भोल्टेज इलेक्टि्रकल लाइन तथा र्‍याडार साइटमा नयाँ र्‍याडारका उपकरणहरु जडान भइसकेका छन् । त्हाँ नयाँ र्‍याडार एन्टेना टावरको निर्माण पनि द्रुत गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, विमानस्थलमा रन वे विस्तार, अन्य प्राविधिक सुधार, अन्तरिक ट्रमिनल भवन निर्माण, आवत-जावतका लागि छुट्टा-छुट्टै सडक निर्माण, पार्किङ भवन निर्माण लगायतका कामहरु पनि भइरहेका छन् ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजना

त्रिभुवन विमानस्थलमा हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको आइसीबी-०१ अन्तर्गत धावन मार्गलाई दक्षिणतर्फ ३०० मिटर विस्तार गर्ने, विमानस्थलको उत्तरतर्फ गहिरो भूभागमा करीव २५ मिटरसम्म माटो फिलिङ गरी नयाँ प्यारलल ट्याक्सी वे तथा अन्तर्राष्ट्रिय एप्रोन निर्माण गर्ने, धावनमार्ग सेन्टरलाइन लाइट जडान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरि, क्याटागोरी-१ अनुरुप नयाँ एप्रोच लाइट जडान गर्ने, अन्तर्राष्ट्रिय टर्मीनल भवनमा नयाँ स्टेराइल हल थप गर्ने तथा एराइभलतर्फ थप ब्यागेज कन्भेयर बेल्टसहितको भवन विस्तार गर्ने काम पनि भइरहेको छ ।

सिमिकोट र रारा विमानस्थलमा मौसमी उपकरण तथा हिउ हटाउने उपकरण प्राप्त गर्ने योजनअनुसार अहिले काम भइरहेको छ ।

यसै योजनअन्तर्गत आइसीबी-०२ अन्तर्गत त्रिभुवन विमानस्थलमा सीएनएस/एटीएम प्रणालीको सुधार, सञ्चार तथा मौसमी उपकरणहरु जडान, एटीसी अटोमेसन प्रणाली र लुक्लामा ल्यान्डिङ एड जडान गर्ने काम सम्पन्न भइसकेको प्राधिकरणले बतायो ।

कालोपत्रे भइरहेका विमानस्थहरु

पछिल्लो एक वर्षको अवधिमा रुकुम (सल्ले), दाङ, रुम्जाटार बाजुरा र फाप्लु विमानस्थलमा कालोपत्रे गर्ने काम सम्पन्न भएको बताइएको छ ।

ताप्लेजुङ, भोजपुर, रामेछाप, मनमाया राई खानी डाँडा, रुकुम (चौरजहारी), डोल्पा (जुफाल) र रारा (मुगु) विमानस्थलमा कालोपत्रे गर्ने काम भइरहेको छ । प्राधिकरणका अनुसार फाल्गुणानन्द विमानस्थलमा रुन्वे स्ट्रीप तयार भई टेष्ट ल्यान्डिङको तयारीमा रहेको छ ।

निर्माणको चरणमा रहेका विमानस्थल

उदयरपुरको सगरमाथा विमानस्थल निर्माणका लागि पर्यटन मन्त्रालयबाट निर्माण सहमति प्राप्त भइ इआइए प्रकृयामा रहेको बताइएको छ । प्युठानको चाल्नेटार, पाल्पाको रामपुर र सोलुखुम्बुको गुदेलमा नयाँ विमानस्थल निर्माणको लागि प्रारम्भिक सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ ।

धनगढी विमानस्थलमा निर्मित टर्मिनल भवन सञ्चालनमा ल्याइएको छ । प्राधिकरणले सिनामंगल कालीमाटी डोलमा प्रधान कार्यालयका लागि पहिलो चरणमा करिव ७० करोडको लगानीमा १० तले भवन निर्माण गर्ने काम सुरु भइसकेको छ ।

पोखरा विमानस्थलमा निर्माण भइरहेको कमर्सियल कम्प्लेक्स भवन निर्माण अन्तिम चरणमा रहेको र विराटनगर र भरतपुर विमानस्थलमा कमर्सियल कम्प्लेक्स भवन निर्माण सुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment