Comments Add Comment

संविधानसभामा संवाद समितिको प्रतिवेदनमा छलफल सकियो, बाबुरामले भोलि जवाफ दिने

४ माघ, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा सभासदहरुले धारणा राख्ने क्रम सकिएको छ । अब सोमबार समिति सभापति डा. बाबुराम भट्टराईले सभासदहरुका जिज्ञासाको जवाफ दिनेछन् ।

यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा बोल्दा अध्यक्ष वा सभामुखका बारेमा कुनै टिप्पणी नगर्न रुलिङ गरेका थिए ।

Subash-nembangसंविधानसभामा एमाओवादी नेतृत्वको मोर्चामा आवद्ध दलका सभासदहरुले एकतर्फी बोल्ने क्रममा सभाध्यक्षले संविधान निर्माणको प्रक्रिया शुरु गर्न नपाउने भन्दै विभिन्न आशयका टिप्पणी गरेपछि नेम्वाङले यस्तो रुलिङ गरेका हुन् ।

एमाओवादी सभासद धनीराम पौडेलले सहमतिको साटो सभाध्यक्षले प्रक्रिया शुरु गरेमा सभाध्यक्ष नेम्वाङप्रति फरक दृष्टिकोण राख्न बाध्य हुने भनेपछि नेम्वाङले उनको सो भनाइलाई रेकर्डबाट हटाउन निर्देशन समेत दिए ।

‘माननीय सदस्यहरुले बोल्दा सभाध्यक्ष वा सभामुखले यसो गरेमा यस्तो गर्छौं उस्तो गर्छौं भनेर टिप्पणी नगर्न रुलिङ गर्छु र उहाँको यो अभिव्यक्ति रेकर्डबाट मेटाउन निर्देशन दिन्छु,’ नेम्वाङले भने ।

लगत्तै बोल्ने समय पाएका जनार्दन शर्माले अहिलेको संविधानसभा अध्यक्षको भूमिकाबारे टिप्पणी गर्न नपाए पनि विगतको भूमिका बारे टिप्पणी गर्न पाउने भन्नासाथ नेम्वाङले उनलाई रोके ।

त्यसपछि शर्माले चलाखीपूर्वक सभाध्यक्ष नेम्वाङलाई अहिलेकै भूमिकामा रहन आग्रह गरे । ‘सभाध्यक्षज्यू संविधानको धारा ७१ (४) अनुसार अघि बढ्नुभएको छ, यही भूमिकामा रहनुहोस् भन्ने आग्रह छ ।’

शर्माले त्यसो भनेपछि सभाध्यक्ष नेम्वाङले मुसुक्क हाँस्दै भने-‘यो त बोल्नैपर्ने कुरा हो, सबैले यही भनिदिनुस भन्ने आग्रह हो ।’
किरण र विप्लवको शरण

यसैबीच एमाओवादी सभासद जनार्दन शर्माले कांग्रेस एमालेसँग दुई तिहाइ बहुमत नरहेको दाबी गरेका छन् । संविधानसभामा बोल्दै शर्माले हस्ताक्षरमा दुई तिहाइ भए पनि व्यवहारमा दुई तिहाइ नरहेको बताए ।

उनले दुई तिहाइ बहुमतबाट संविधान जारी गरिए मोहन वैद्य र नेत्रविक्रम चन्दको शरणमा जाने चेतावनी समेत दिए । ‘तपाईहरुले दुई तिहाइबाट संविधान जारी गर्नुस, किरण कहाँ छन्, विप्लब कहाँ छन् ? हामी खोज्दै जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment