Comments Add Comment

एपीएफ सिमरा गोल्डकपको क्वाटर फाइनलमा

४ माघ, सिमरा । लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै बिभागीय टोली नेपाल एपीएफ क्लब सिमरामा जारी रुस्लान छैठौं सिमरा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतवार भएको अन्तिम प्रीक्वार्टर फाईनल खेलमा मनाङलाई २-१ ले पराजित गर्दै एपीएफ क्लब अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा मनाङलाई पन्छाउने क्रममा एपीएफका अन्जन बिष्ट र सन्तोष श्रेष्ठले गोल गरे । मनाङका लागि बिशाल राईले गोल फर्काए पनि हार टार्न सकेनन् ।

राष्ट्रिय लिग बिजेता मनाङबिरुद्ध एपीएफले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातदेखि नै आक्रामक खेल खेलको एपीएफका लागि अञ्जन बिष्टले पहिलो गोल गरेका थिए । रञ्जन बिष्टको पासलाई उनले सदुपयोग गरेका हुन् ।

खेलको ३० औं मिनेटमा अफ्रिकी खेलाडी लवल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मनाङ थप दवावमा परेको थियो । पहिलो हाफमा मनाङले एपीएफबिरुद्ध कुनै आकर्षक अवसर सिर्जना गर्न सकेन ।

एपीएफको रक्षापंक्तीको घेरा तोड्न पुरै असफल देखिएका मनाङका खेलाडीले खेलको ७७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । अनिल गुरुङको पासमा बिशाल राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरी गोलसंगै मनाङ खेलमा फर्किएपछि प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । खेलको ७८ औं मिनेटमा रन्जन बिष्ट रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दुबै टिम १० खेलाडीमा सिमित भएका थिए ।

अन्तिम समयमा निकै आक्रमक प्रदर्शन गरेको मनाङलाई रोक्न एपीएफलाई हम्मेहम्मे परेको थियो । दोस्रो हाफमा एपिएफलाई निकै दवावमा राखेको मनाङ अन्तिम एक मिनेट सम्हालिन नसक्दा गोल खान पुगेको थियो । खेलको ८९ औं मिनेटमा सन्तोष श्रेष्ठले निर्णायक गोल गर्दै एपीएफलाई अघिल्लो चरणमा पुर्‍याएका थिए ।

पराजयसंगै निकै स्तब्ध बनेका मनाङका प्रशिक्षक नविन न्यौपानेले टिमले उत्कृष्ट प्रदर्शन गर्दागर्दै हार ब्यहोर्नुपरेको बताए । पहिलो हाफमा गोल खानु र १० खेलाडीमा सिमित हुनु निकै दुर्भाग्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment