Comments Add Comment

नेपालसँग व्यापारिक साझेदार बढाउँदै चीन

nepal china-1

५ माघ काठमाडौं । पछिल्लो समयमा नेपाल र चीनबीचको व्यापारिक साझेदार उच्चदरले बढेको छ । व्यापारिक साझेदारी बढेसँगै चीनतर्फ हुने नियार्त र चीनबाट हुने आयात दुबै उच्च दरले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच (मंसिर) महिनासम्ममा नेपालबाट चीनतर्फको निर्यात ३८.५ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा चीनतर्फको निर्यात ८.६ प्रतिशतले मात्रै बढेको थियो ।

प्रशोधित छाला, ऊनी गलैंचा, हस्तकलाका सामान, तयारी पोशाकलगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण चीनतर्फको निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, चालू आवको पाँच महिनामा चीनबाट हुने आयात ३९.३ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यस्तो आयात ५.७ प्रतिशतले मात्रै बढेको थियो ।

नेपालको उत्तरतर्फको छिमेकी राष्ट्र चीनबाट खासगरी दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, अन्य मेशिनरी तथा पाटपूर्जा, रासायनिक मल, भिडियो टेलिभिजन तथा पाटपूर्जालगायतका वस्तुहरुको आयात बढेकाले आयात उच्च दरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

निर्यात घट्यो, आयात बढेको बढ्यै

नेपालबाट विदेशमा हुने निर्यात घटेपनि आयात भने बढेको बढ्यै छ । आयात र निर्यातबीच सन्तुलन नमिल्दा व्यापारघाटा चुलिएको छ । चालू आर्थिक वर्षको मंसिर महिनामा कूल वस्तु निर्यात १.२ प्रतिशतले घटेर ३६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको मंसिर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कूल वस्तु निर्यात १३.७ प्रतिशतले बढेर ३७ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । मासिकरुपमा हेर्दा चालू आर्थिक वर्षको मङ्सिर महिनामा कुल वस्तु निर्यात कार्तिक महिनाको तुलनामा ५.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा हुने निर्यात ५.८ प्रतिशतले घट्यो

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात चालू आवको मंसिरमा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सयै अवधिमा यस्तो निर्यात १७.४ प्रतिशतले बढेको थियो ।

अलैंची, जिङ्क शिट, जुस, जुटका सामानलगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको राष्ट्र बैंकले जनाएको छ ।

अन्य मुलकतर्फको निर्यात ४.६ प्रतिशतले बढ्यो

त्यस्तै, अन्य मुलुकतर्फको निर्यात यो मंसिरमा ४.६ प्रतिशतले बढेको छ । गत वर्षको मंसिरमा यस्तो निर्यात ८.९ प्रतिशतले बढेको थियो । खासगरी, तयारी पोशाक, पश्मिना, चिया लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा अन्य मुलुकतर्फको निर्यात केही बढ्न गएको हो ।

अमेरिकी डलरमा भने अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ४.४ प्रतिशतले घटेको विपरीत समीक्षा अवधिमा ६.४ प्रतिशतले बढी अमेरिकी डलर १२ करोड ९७ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कूल अायात १७.७ प्रतिशतले बढ्यो

यो मंसिरमा कूल वस्तु आयात १७.८ प्रतिशतले बढेर ३ खर्ब १८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कूल आयात १९.९ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रासको कारण पेट्रोलियम आयातको वृद्धिदर न्यून रहेकोले समग्र आयातको वृद्धिदर केही कम रहन गएको हो । मासिकरुपमा हेर्दा मङ्सिर महिनामा कुल वस्तु आयात कार्तिक महिनाको तुलनामा ४.७ प्रतिशतले घटेको छ ।

भारतबाट हुने अायात १४.६ प्रतिशतले बढ्यो

यो वर्षको पाँच महिनामा कूल आयातमध्ये भारतबाट हुने आयात १४.६ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा २३.२ प्रतिशतले बढेको थियो । भारतबाट खासगरी, एमएस विलेट, यातायातका साधन तथा पाटपूर्जा, चामल, औषधि, विजुलीका उपकरण लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।

अन्य मुलुकबाट हुने आयात १६ प्रतिशतले बढ्यो

त्यसैगरी, अन्य मुलुकबाट भएको आयात यो मंसिर महिनासम्ममा १६.३ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा १८.९ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट विशेषगरी चाँदी, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, कच्चा पाल्म तेल, अन्य मेशिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण त्यस तर्फको आयात बढेको हो ।

अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिमा ४.४ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १८.१ प्रतिशतले बढ्न गई अमेरिकी डलर ७३ करोड ९ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।

व्यापार घाटा २ खर्ब ८१ अर्ब

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २०.९ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको मंसिर यस्तो व्यापार घाटा २१.० प्रतिशतले बढेको थियो ।

कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १७.८ प्रतिशत, ३९.३ प्रतिशत र १९.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २४.२ प्रतिशत, ६.३ प्रतिशत र २१.७ प्रतिशतले बढेको थियो ।

वस्तु आयातको वृद्धिदर उच्च रहेको कारण समीक्षा अवधिमा निर्यात-आयात अनुपात ११.६ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment