+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

सुवास नेम्वाङले कहिलेसम्म हेर्लान् टुलुटुलु ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ९ गते १८:००

Subash-nembang

९ माघ, काठमाडौं । सोमबार रातिदेखि अवरुद्ध भएको संविधानसभा बैठक शुक्रबार पनि विपक्षीको नाराबाजीकै कारण अघि बढ्न सकेन । पाँच दिनसम्म विपक्षीको नाराबाजी टुलुटुलु हेरेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार संविधानसभाले निश्कर्ष निकाल्ने बताएका छन् ।
शुक्रबार संविधानसभाको बैठक केहीबेरको नाराबाजीपछि  पाँचौं दिन पनि स्थगित भयो । सभाध्यक्ष नेम्वाङले अर्को बैठक माघ ११ गते आइतबार दिउँसो १ बजे बोलाएका छन् ।

पछिल्लो बैठकमा नाराबाजी भइरहँदा सभाध्यक्ष नेम्वाङले छोटो सम्बोधन गर्दै भनेका छन्, यसरी संविधानसभा अवरुद्ध भइरहँदा संविधान निर्माणको काम अघि बढ्न सक्दैन । अर्को बैठकमा निश्कर्षमा जानुपर्छ ।

सहमति हुन नसकेपछि प्रक्रियामा अघि बढ्न र प्रश्नावली तयार। पार्न ७३ सदस्यीय प्रस्ताव समिति गठन गर्ने सभाध्यक्ष नेम्वाङको प्रयास छ । यसका लागि कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ विपक्षको रोकावटका कारण रोष्टमसम्म पुग्न नसक्दा प्रक्रिया रोकिएको हो ।

शुक्रबार विपक्षी सभासदले सभासद श्रेष्ठलाई केहीबेर समातेर आफ्नो नियन्त्रणमा लिने प्रयत्न गरेका थिए ।

कांग्रेसका मुख्य सचेतक विपक्षीको ‘कब्जा’मा (भिडियो सहित)

सोमबार राति पहिलोपटक संविधानसभाभित्र तोडफोड र हंगामा भएको थियो ।

मंगलबार र बुधबार बोलाइएका सबै बैठकमा विपक्षी सभासदले नाराबाजी गरेर प्रक्रिया रोकेका थिए ।

विहीबार माघ ८ गतेका दिन सत्तापक्षले मार्शल लगाउन लागेको भन्दै विपक्षीहरु आत्तिएका थिए । सो दिन सभासदमाथि  कडा चेकजाँच गरिएको थियो । तर, विहीबार संविधानसभामा आधारातसम्म नाराबाजी भयो र कुनै प्रक्रिया अघि बढाइएन ।

विहीबार दिउँसो बैठक रोकेर सभाध्यक्ष नेम्वाङको पहलमा थालिएको सम्वादले सार्थक निश्कर्ष निकाल्न सकेन ।

शुक्रबार पाँचौं दिन पनि बैठक अवरुद्ध भएपछि सभाध्यक्षले अब नकुर्ने र अघि बढ्ने संकेत दिएका छन् ।

आइतवार नेम्वाङले नै पेश गर्ने

संविधानसभा अध्यक्षले शुक्रवार सत्ता पक्ष र विपक्ष दुवैसँगको अलग अलग भेटमा आइतवार प्रश्नवाली समिति गठनको प्रस्ताव आफैंले संविधानसभा समक्ष पेश गर्ने जनाउ दिइसकेका छन् ।

नेम्वाङले शुक्रवारको कार्यसूचीमा चीनकाजी श्रेष्ठले प्रस्तुत गर्ने र अग्नि खरेलले समर्थन गर्ने रहेकाले मात्र नाराबाजी गर्न दिएका हुन् ।

शनिवार दिनभरी उनले विपक्षी मोर्चाका नेताहरुलाई आफूले प्रस्ताव गर्दा विरोध नगर्नका लागि मनाउने प्रयास गर्नेछन् ।

स्रोतका अनुसा विपक्षी नेताहरुले पनि सभाध्यक्ष आफैंले पेश गर्ने हो भने हेरौंला भनेर लचिलो ढंगले कुरा राखेका थिए ।

उनीहरु माने पनि नमाने पनि आइतवार कार्यसूचीनै परिवर्तन गरेर सभाध्यक्ष आफैंले पेश गर्ने जानकारी दिएको एमाले सभासद प्रकाश ज्वालाले बताए ।

‘अब संविधान निर्माणको प्रक्रिया अघि बढिसकेको छ, आइतवार प्रश्नावली समिति बनेरै छाड्छ’ ज्वालाले भने, ‘हामीले बुझाएको दुई तिहाई हस्ताक्षरले सभाध्यक्षलाई अघि बढ्न बैधानिकता प्रदान गरेको छ ।’

दवावमा नेम्वाङ

लामो समय बैठक अवरुद्ध गरेर राख्न नहुने भन्दै सत्तापक्षका नेताहरुले सभाध्यक्ष नेम्वाङलाई प्रक्रियामा अघि बढ्न दबाव दिइरहेका छन् । राप्रपा नेपालले त सभाध्यक्षलाई असक्षम नै भनिसकेको छ ।

तर, विपक्षीहरुको आशा पनि सभामुख नेम्वाङमै छ । सभाध्यक्षले सहमति गराउने आशामा विपक्षी नेताहरु रहेका छन् ।

तर, नेम्वाङले आइतबार विपक्षीलाई बितेका पाँच दिनमा जस्तै छुट दिइरहने स्थिति निकै कम देखिएको छ ।

अब शनिबार एक दिन छलफल र वार्ताका लागि समय रहेकाले सम्वाद र सहमति गर्ने छोटो अवसर दलहरुका बीच अझै सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?