काठमाडौं । दक्षिणकाली नपुग्दै ढुंगा छापेको उकालोतर्फ हात्तीवन रिसोर्ट एरियाको हाइकिङ्ग रुट भेटिन्छ । राजधानी छाडेर एक दिन पहाड डुल्न चाहने काठमाडौंबासी यही बाटो पछ्याउँदै चन्द्रागिरिको उकालो चढ्छन् । र, डाँडाबाट हेर्छन् एउटा रमाइलो संसार ।

हात्तिवन रिसोर्टको हाइकिङ्ग रुट चम्पादेवी, भष्मासुर, चन्द्रागिरि, देउराली, भालेश्वर, चित्लाङ्ग भञ्ज्याङ्ग हुँदै थानकोट पुगेर टुंगिन्छ ।
यात्रालाई लम्ब्याउने यात्रीहरु हात्तीवनबाट चन्द्रागिरि हुँदै ओरालो झरेर मकवानपुरको चित्लाङ्गमा बास बस्छन् । चित्लाङ्गबाट कुलेखानीको इन्द्र सरोवरमा डुंगा चढेर मजा लिन धेरै यात्रीहरुले कुलेखानीलाई अर्को गन्तव्य बनाएका हुन्छन् । राजधानीका कयौं यात्रीहरु इन्द्रसरोवरको शयरपछि मकवानपुरको दामनसमेत पुग्ने गर्छन् ।
ठाडो उकालो र जंगलै जंगलको बाटो भएकाले यात्रीहरुले पानी र खाजा बोक्न जरुरी छ । बाटामा स-साना पसलहरु फाट्ट-फुट्ट भेटिन्छन् । तर, भनेजस्तो खाजा नभेटिन सक्छ । ढुंगा छापिएको अप्ठयारो बाटोमा हिँड्न स्पोर्ट जुत्ता लगाउनु आवश्यक छ ।

राजधानीको रमाइलो दृश्यहरु हात्तिवन रिसोर्ट एरियाबाटै देखिन थाल्छ । चम्पादेवीको उकालो जति चढ्दै गयो, उति नै हिमाल नजिक आइरहेको आभास हुन्छ । उपत्यकाको क्रक्रिट-जंगलसँगै भर्खरै बनेका गगनचुम्बी भवनहरु समेत छर्लगै देखिन्छन् । काठमाडौं उपत्यकातिर तुवाँलो वा हुस्सु मडारिएको हुन्छ । हुस्सुभित्र उपत्यकाको लुकामारी हेर्नुको मज्जा अर्कै हुन्छ ।
नाकै ठोकिने उकालो पहाड चढ्दै जाँदा बेला-बेलामा सल्लाघारी सुसाउँदै आउने चिसो सिरेटोले शीतलता दिइरहेको हुन्छ ।
चन्द्रागिरि पहाड पुग्न चम्पादेवी टाकुरा मात्रै होइन, भष्मासुर चुचुरो हुँदै देउराली भञ्ज्याङ्ग पार गर्न जरुरी हुन्छ । यी हरेक पहाडको चुचुरोमा पुग्दा बेग्लै रोमाञ्चकता महसुुस हुन्छ ।

हिमाल हेर्नका लागि चन्द्रागिरि एउटा उत्तम गन्तव्य हो । राजधानीबाट देख्न नसकिने अन्नपूर्ण, माछापुछ्रे हिमाल चन्द्रागिरिबाट स्पष्टै देखिन्छ । यहाँबाट पूर्वीक्षेत्रमा सगरमाथासमेत राम्रोसँग देखिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुछ्रेका साथै मनास्लु, गणेश, लाङ्गटाङ्ग, लाक्पा दोर्जे र सगरमाथाको अवलोकन गर्न सकिन्छ ।
चन्द्रागिरि क्षेत्रको ऐतिहासिक तथा पौराणिक महत्व उत्तिकै छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले राजधानी एकीकरण गर्नुअघि चन्द्रागिरिमा बसेर युद्धमोर्चाको निर्माणलगायत योजना बनाएको इतिहासमा उल्लेख छ ।

हिन्दु धार्मिक ग्रन्थ कृष्णचरित्रमा महादेवसँग युद्ध लड्ने भष्मासुर राक्षस यसै ठाँउमा भष्म भएको कथा छ ।
चन्द्रागिरिको पर्यटकीय महत्वलाई उचाइ दिन थानकोटबाट तीन किलोमिटर लामो केबुलकार निजी क्षेत्रको लगानीमा निर्माण शुरु भइरहेको छ । भर्खरै चन्द्रागिरि पहाडसम्म पुग्न त्यहाँ मोटरबाटो चालु भइसकेको छ ।
राजधानीबाट तराई पुग्न सबैभन्दा छोटो बाटो यही हो । यो कच्ची बाटोबाट चन्द्रागिरि फाखेल हुँदै कुलेखानी निस्केर हेटौडा पुग्न सकिन्छ ।
हेरौं विभिन्न समयमा देखिएका चन्द्रागिरि वरपरका मनमोहन दृश्यः












प्रतिक्रिया 4