१६ माघ, कास्की । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिमा संविधान निर्माणको अर्ति नदिन सबैपक्षलाई आग्रह गरेका छन् । विदेशी कुटनीतिक नियोगहरुलाई सहमतिबाटै अघि बढ्न आग्रह गरिरहेकोबेला पौडेलले सहमतिको नाममा रचेको प्रपञ्च सफल नहुने स्पष्ट पारे ।
शुक्रबार विहान पोखरामा आयोजित कार्यक्रममा उपसभापति पौडेलले नेपालस्थित विदेशी कूटनीतिक निकायका अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । ‘यहाँ सबैले उपदेश दिन्छन्, सहमतिबाटै सबै कुराको छिनोफानो हुने भए संयुक्त राष्ट्रसंघमा किन सहमतिबाट निर्णय हुँदैन ? किन त्यहाँ भिटो प्रयोग हुन्छ ?, उनले प्रश्न गरे ।
आफ्नो देशमा बहुमतबाटै विषयको छिनोफानो गर्नेहरुले अरुलाई सहमतिको अर्ति दिन नहुने भन्दै उनले विश्वभरका नेताहरुलाई नेपालको सन्दर्भमा सहमतिको कुरा नगर्न आग्रह गरे ।
उपसभापति पौडेलले बहुमतीय पद्धतिबाटै संविधान जारी हुने बताए । उनले भने, ‘अर्को पाँच दिन पर्खिने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि बढ्ने हो ।’
देशले छिट्टै संविधान पाउँछ : मन्त्री आचार्य
यसैबीच वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माण गर्ने प्रक्रियाको थालनी भइसकेकाले देशले छिट्टै नयाँ संविधान पाउने बताएका छन् ।
धादिङको धादिङबेंसीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतासमेत रहेका मन्त्री आचार्यले संविधानसभाबाट संविधान बनाउने कार्यसूची एकीकृत नेकपा माओवादीको पनि भएकाले संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी हुने विश्वास गरे ।
प्रतिक्रिया 4