Comments Add Comment

इजिप्टमा १८३ को मृत्युदण्डको सजाय कायमै

१९ माघ, काइरो । इजिप्टको एक अदालतले सोमबार सन् २०१३ मा काइरोनजिकै एक नगरमा १३ प्रहरीको हत्या गरेको आरोपमा १८३ व्यक्तिलाई मृत्युदण्ड सजाय दिइने भनी गरिएको निर्णय कायमै राखेको छ ।

डिसेम्बर महिनामा उक्त अदालतले १८८ प्रतिवादीलाई एक आमसुनुवाइमा प्रारम्भीक रूपमा उक्त निर्णय दिएको थियो । यीमध्ये दुईलाई उक्त अपराधबाट मुक्त गरिएको छ भने एक नाबालकलाई १० वर्षको काराबासको सजाय तोकिएको छ ।

अन्य दुई व्यक्तिको मृत्यु भएकाले अभियोग हटाइएको छ ।

उक्त प्रारम्भिक निर्णय सहमतिका लागि इस्लामी कानुनको सरकारी आधिकारिक ब्याख्याता बृहत् मुफ्तीसमक्ष प्रस्तुत गरिएको थियो । आरोप लगाइएका १४३ व्यक्ति अझै हिरासतमा रहेका छन् ।

उनीहरूले सन् २०१३ को अगस्त १४ मा काइरोको बाहिरी भागमा रहेको केरदासा गाउँमा एक प्रहरी केन्द्रमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा १३ प्रहरीको मृत्युभएको थियो ।

सोही दिन काइरोमा अपदस्थ राष्ट्रपति मोहमद मोर्सीको समर्थनमा स्थापना भएका दुई शिविरलाई सुरक्षा बलले हिंसात्मक रूपमा भत्काएको थियो । उक्त सङ्घर्षमा सयौँ प्रदर्शनकारीको मृत्युभएको थियो ।

सन् २०१३ को जुलाइ महिनामा मोर्सीलाई सेनाले पदमुक्त गरेपछि हालम्म कम्तीमा एक हजार ४०० मानिसको मृत्युभइसकेको छ ।

इजिप्टमा सयौँ व्यक्तिलाई छिटै आमसुनुवाइ गरी मृत्युदण्ड दिने कार्यलाई संयुक्त राष्ट्र सङ्घले हालैको इतिहासमा कहिल्यै नभएको घटनाको रूपमा लिएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment