२१ माघ, काठमाडौं । एडीएसएल र डायलअपमा ग्राहक गुमाउँदै गएपनि नेपाल टेलिकमले इन्टरनेट सेवामा लिड गरिरहेको छ । इन्टरनेट चलाउने कुल ग्राहकमध्ये ५५ प्रतिशत नेपाल टेलिकमका रहेका छन् ।
मोबाइल इन्टरनेट सेवाको गुणस्तर वृद्धि गरेपछि टेलिकमले इन्टरनेट सेवामा पहिलो स्थान कायम राख्न सफल भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कार्तिक मसान्तसमम्म ९४ लाख ५९ हजार ६ सय जना इन्टरनेटको पहुँचमा आएका छन् ।
जसमध्ये ५१ लाख ६४ हजार ६१ जना नेपाल टेलिकमका ग्राहकहरु हुन् । प्राधिकरणका अनुसार टेलिकमका ४८ लाख ७६ हजार ८ सय ११ ग्राहकहरु मोबाइलबाट इन्टरनेट चलाउँछन् ।
टेलिकमले डायलअप, एडीएसएल, जीपीआरएस, इडिजीइ, डब्लुसीडीएमए, इभिडियो, वाइम्याक्स, सीडीएमए १एक्स लगायतका इन्टरनेट सेवाहरु प्रदान गर्दै आएको छ ।
दोस्रो स्थानमा रहेको एनसेलका ग्राहकहरु ४० लाख ५६ हजार २ सय ५२ जना रहेका छन् । एनसेलले जीपीआरएस, इडिजीइ डब्लुसीडीएमए इन्टरनेट सेवा उपलब्ध गराउँछ ।
मोबाइलमा इन्टरनेट चलाउने ग्राहकहरु हृवात्तै बढेपछि अन्य इन्टरनेट सेवा प्रदायकहरु -आइएसपी)को तुलनामा टेलिकम र एनसेलका ग्राहक निकै बढी छन् । पछिल्लो एक महिनामा मात्र मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक सवा लाखले बढेर ९० लाख १९ हजार ८ सय १३ पुगेका छन् ।
टेलिकमका डायलअप र एडीएसल सेवाका ग्राहकहरु भने घटेका छन् । मोबाइल इन्टरनेटमा ग्राहक मोडिन थालेपछि वल्र्डलिंक, वेभ सर्फर, क्लासिक टेक, भायोनेट लगायतका कम्पनीलाई समस्या पर्ने निश्चित देखिएको छ ।
नेपालमा टेलिकम र एनसेलका साथसाथै युटिएल, एसटीएम टेलिकम सञ्चार, स्मार्ट टेलिकम र अन्य इन्टरनेट सर्भिस प्रोभाइडर -आइएसपी)ले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् ।
कार्तिकसम्मको तथ्यांक हेर्ने हो भने युटिएलका ग्राहक ५६ हजार ७ सय ४४, स्मार्ट टेलिकमका ८६ हजार ७ सय ५०, एसटीएम टेलिकमका १३ जना र आइएसपीका ९५ हजार ७ सय ८० जना ग्राहकहरु रहेका छन् ।
कार्तिक मसान्तसम्म डायलअप सेवाका ग्राहक १० हजार ५ सय १९ जना रहेका छन भने वायरलेस मोडिएम, अप्टिकल फाइबर इथरनेटका ३७ हजार १ सय ६, केवल मोडियमका ५२ हजार ८ सय १४ जना ग्राहकहरु रहेका छन् ।
त्यसैगरि, एडीएसएलका १ लाख ३५ हजार २ सय ७४, मोबाइल इन्टरनेटका ९० लाख १९ हजार ८ सय १३, सीडीएमए १एक्स, इभिडियोका १ लाख ९३ हजार ३ सय १७, भिस्याट बेस्ड इन्टरनेटका १३ जना ग्राहकहरु रहेको प्राधिकरणले जनाएको छ ।