Comments Add Comment

नारायणी किनारलाई पर्यटकीय क्षेत्र बनाइँदै

Narayni kinar२२ माघ, चितवन । हालै सम्पन्न भएको चितवन महोत्सवको आम्दानीमध्ये १० लाख रूपैयाँ नारायणी नदी संरक्षण गरी पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्न थालिएको छ ।

नारायणी किनारको प्रदर्शनी मैदानलाई पर्यटकीय क्षेत्र बनाउनका लागि आम्दानीको केही अंश किनार संरक्षण र सौर्य बत्ती निर्माणमा खर्च गर्न लागिएको उद्योग वाणिज्य सङ्घ चितवनका कार्यकारी निर्देशक रसीक प्रधानले जानकारी दिए ।

यही माघ ४ गते सम्पन्न चितवन महोत्सवको आम्दानीमध्येको १० लाख रूपैयाँ प्रदर्शनी मैदानमा सौर्यबत्ती निर्माण थालिएको छ । महोत्सवबाट करिब रु ३५ लाख आम्दानी भएको अनुमान आयोजकको छ ।

करिब र२५ लाख रूपैयाँको लागतमा निर्माण गर्न थालिएका सौर्यबत्तीका लागि महोत्सवको १० लाख रूपैयाँ आम्दानी प्रयोग गर्ने र १५ लाख रूपैयाँ नगरपालिकामार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहयोग गर्ने उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ ।

जिल्लामा एउटा पनि सुविधायुक्त प्रदर्शनी मैदान नभएकाले नारायणगढको पुल्चोकदेखि दियालोभवनसम्मको क्षेत्रको संरक्षण गरी पर्यटकीयक्षेत्र बनाउन लागिएको प्रधानले जानकारी दिए ।

यसको पहिलोचरण अन्तर्गत सौर्यबत्ती राख्ने कामको थालनी भएको हो । योसँगै अन्य नदी संरक्षण र सुविधायुक्तस्थल निर्माणको काम पनि थालिनेछ ।

विगतमा उद्योग वाणिज्य सङ्घ, भरतपुर उपमहानगरपालिका र जिल्ला विकास समिति चितवनको पहलमा एक नारायणी नदी संरक्षण तथा विकास समिति निर्माण गरिएको भए पनि प्रभावकारी काम हुन नसक्दा योजना त्यसै थन्किएको थियो ।

अहिले भने पुनः काम सुरु भएको उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ । सङ्घका अध्यक्ष कल्याण जोशीले नारायणी किनारलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिने बताए । स्थानीयबासिन्दाका अनुसार यसप्रति स्थानीय निकायको ध्यान नपुग्दा नारायणी किनारले विकासको गति लिन सकेको छैन ।

ऐतिहासिक नगर, वन क्षेत्र, नारायणी, विभिन्न मठ-मन्दिरलगायत रहेकाले पनि यो क्षेत्र आफैंमा महत्वपूर्ण छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment