२२ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णयप्रति असहमति जनाएका छन् ।
उनले मोर्चाको निर्णय राजनीतिक संस्कृति अनुसार नभएको बताए । ‘१० अर्ब दिए १९ दलले आन्दोलन गर्दैन भन्ने ओलीको अभिव्यक्ति अराजनीतिक र द्वन्द्वमुखी छ’ श्रेष्ठले अनलाइनखबरसँग भने-‘१९ दलको निर्णय पनि राजनीतिक संस्कृति अनुसार भएन ।’
प्रचण्ड नेतृत्वको १९ दलको बुधबार बसेको बैठकले ओलीको आरोपको खण्डन गर्दै उनी मानसिक रुपमा समेत असन्तुलित भएको आशंका गर्दै उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो ।
एमाओवादी उपाध्यक्ष प्रकाशले आन्दोलनकारीलाई सम्बोधन गरेर सहमतिका आधारमा संविधान गर्ने सम्भावना अझै रहेको बताएका छन् ।
प्रश्नावली निर्माण प्रक्रिया रोकेर विगतका सहमति र सम्झौता अनुसार अघि बढ्ने प्रतिवद्धता जनाए वार्ता हुने उनले बताए ।
प्रतिक्रिया 4