Comments Add Comment

दिल्लीको चुनावी नतिजा : किन हार्‍यो बीजेपी ?

दीपेश केसी  (नयाँ दिल्लीबाट)
भारतको लोकसभामा बहुमत प्राप्त सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीलाई राजधानी दिल्ली विधानसभामा झिनो प्रतिपक्षी बन्नुपर्ने वाध्यता परेको छ । भारी बहुमतका साथ भ्रष्टाचारविरोधी अभियन्ता अरविन्द केजरिवालको संयोजकत्वको दल आम आदमी पार्टी (आप) ले विजय हात पारेको छ । अब आप नेतृत्वको सत्ता दिल्ली विधानमा सञ्चालन हुँदा मोदीलाई केन्द्रीय सत्ता सञ्चालन गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

dipesh kc
दीपेश केसी

दिल्लीमा छोटो समय मुख्यमन्त्री हुँदा केजरीवाल सत्तारूढ भन्दा उग्र विपक्षीको शैलीमा प्रस्तुत भइसकेका छन् । प्राविधिक शिक्षा हासिल गरी कर अधिकृत हुँदै भ्रष्टाचारविरोधी गतिविधि गरेका उनी सामाजिक अभियन्यता हुँदै सत्ता राजनीतिमा होमिएका हुन् । केजरीवालको उग्र शैलीका कारण पछिल्लो दिल्ली विधानसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीविरोधी विपक्षीहरूले घोषित अघोषित साँठगाँठ गरी  आपलाई सघाए । आन्तरिक र बाहृय राजनीतिक घटनाक्रमले पनि परिणामा असर पार्‍यो । परिणामस्वरूप भाजपाले नमीठो पराजय भोग्यो ।

मोदीलाई झड्का

लोकसभामा स्पष्ट बहुमत आएपछि नरेन्द्र मोदीले पार्टीभित्र नियन्त्रण कायम गरे । राजनाथ सिंहलाई गृहमन्त्रीको जिम्मेवारी दिएर हक्की र विवादास्पद छविका अमित शाहलाई अध्यक्षमा ल्याए । शाह मोदीलाई राजनीतिको वर्तमान उचाइमा पुर्‍याउने मुख्य योजनाकार हुन् । अमित शाह मोदीका मुख्य विश्वासपात्र मात्र होइनन् चतुर राजनीतिक खेलाडी पनि हुन् । दिल्ली विधानसभामा किरण वेदीलाई मुख्यमन्त्रीमा खडा गर्ने रणनीतिकार पनि शाह नै हुन् ।

लोकसभा चुनावताका भारतीय राजनीतिमा विशेष महत्व र प्रभाव राख्ने उत्तर प्रदेशमा शाहले कमाण्ड सम्हालेर सफलता हासिल गरेका थिए । दिल्लीमा चाहिँ शाहले झड्का खाए । शाहले झड्का खानु भनेकै मोदीले झड्का खानु हो ।

बीजेपी हारको कारण

शक्तिमा आएलगत्तै पार्टीभित्र कब्जा जमाएका मोदीले विरोधीलाई तह लगाउने रणनीति चाले । तामिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिता तारोमा परिन् । भ्रष्टाचारको मुद्या लागेकी उनीमाथिको कारबाही राजनीतिक उद्देश्यले प्रेरित रहेको विश्लेषणहरू भए ।

पश्चिम बंगालमा तृणमूल कांग्रेसलाई जरैदेखि उखेलेर फाल्ने चुनौती दिदै अमित शाहले बंगालको भूमीमा कडा भाषण गरेलगत्तै मुख्यमन्त्री ममता बेनर्जीका विश्वासपात्र मदन मित्रा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईद्वारा सारदा घोटाला प्रकरणमा दोषी देखाउँदै भ्रष्टाचारको अभियोगमा पक्राऊ परे । यसलाई संयोग भन्दा पनि विपक्षीले राजनीतिक आस्थाका आधारमा सीबीआईको शक्ति दुरूपयोग गरी गरिएको पूर्वाग्रही कदमका रूपमा लिए ।

भाजपा सरकारले कांग्रेसका नेताहरूलाई पनि त्रस्त पार्‍यो । कम्युनिष्टहरू पनि भाजपाको तारो बन्ने चिन्तामा परे ।

बहुमतले सत्तामा सुरक्षित रहेको भाजपाले विपक्षी माथि कडा बन्नुले नयाँ राजनीतिक सम्भावनाहरू देखापर्‍यो । भाजपाको कठोर नीतिले बिहारमा राजनीतिक ‘दुश्मन’ जस्तै बनेका नितीशकुमार र लालु यादवलाई समेत अंकमाल गर्ने अवस्थामा पुर्‍यायो । प्रान्तदेखि केन्द्रसम्म विपक्षीहरू घोषित अघोषित मोर्चाबन्दी गर्न पुगे । दिल्ली विधानसभाको चुनावमार्फत् भाजपालाई झड्का दिन भित्री साँठगाँठमा जुटे ।

यतिसम्म कि कांग्रेस आईले आफ्नो जितभन्दा पनि भाजपाको हारलाई प्राथमिकतामा राखेर रणनीति बनायो ।

कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी पुत्री पि्रयंका गान्धीले आपलाई असल विपक्षीको संज्ञा दिइन् । कांग्रेस भाजपाविरूद्ध कठोर बन्यो तर आपप्रति नरम । दिल्लीमा धेरथोर प्रभाव राख्ने मुलायमसिंह यादवको समाजवादी दलदेखि मायावतीको बहुजन समाजवादी पार्टीसम्म भाजपाविरूद्ध कडारूपमा प्रस्तुत भए । विपक्षीको अघोषित मोर्चाबन्दीले आपलाई लाभ पुग्यो । कम्युनिष्ट दलहरूले घोषितरूपमै आपलाई सघाउने निर्णय गरेका थिए ।

कर्मचारीतन्त्रमा खल्बली

भारतको प्रभावशाली स्थायी सत्ता कर्मचारीतन्त्रमा खलबली ल्याउने गरी नरेन्द्र मोदीले कठोर निर्णयहरू गर्नथाले । विदेश सचिव सुजाता सिंहलाई कार्यकाल छँदै हटाएर सुब्रमण्यम जयंशकरलाई ल्याए । गृहसचिव अनिल गोस्वामी राजीनामाका लागि बाध्य पारिए । महत्वपूर्ण मन्त्रालयका सचिवहरू हटाउनुले राजनीतिकवृत्तमा मोदी सरकारप्रति असन्तुष्टि बढ्यो ।

विपक्षीहरूले त्यसको विरोध गरे पनि विगतमा त्यस्तै घटना भएको नजिर प्रस्तुत गर्‍यो । केन्द्र सरकार संचालनको थलो राजधानी दिल्लीमा त्यसको सन्देश चाही सकारात्मक रहेन । विधानसभाको चुनाव अगाडि लिइएको निर्णयले केही न केही असर पुर्‍यायो ।

कर्मचारी हावी

केन्द्रीय सत्ताको पूर्वाग्रही नीतिमा परेका चर्चित कर्मचारीलाई पार्टी प्रवेश गराउन मूलधारका भारतीय दलहरू सक्रिय छन् । जस्तै भारतीय सेनाका पूर्वप्रधानसेनापति भी.के. सिंह काग्रेस आई नेतृत्वको सरकारसँग असन्तुष्ट थिए । उनी पछि भाजपामा प्रवेश गरे ।

भारतको केन्द्रीय राजनीतिमा कर्मचारीतन्त्र हाबी छ भन्ने तथ्य दिल्ली विधानसभा चुनावको सेरोफेरोलाई केलाउँदा प्रष्ट हुन्छ । दिल्ली पुलिसकी पूर्वकमिश्नर किरण वेदीलाई पार्टी प्रवेश गराएर मुख्यमन्त्रीका लागि खडा गरेर चुनावमा उतार्नु भारतीय जनता पार्टीको रहर नभई वाध्यता थियो ।

केजरीवाल करिश्मालाई चुनौती दिन वेदी करिश्मा अघि सारिएको थियो । दिल्लीको सुकुम्वासी र गरिब वस्तीहरूमा गैरसरकारी संस्था चलाएर तल्लो तहसम्म भिजेका केजरीवाल सामु मध्यमवर्गीयमाझ चर्चित वेदी फिक्का सावित भइन् ।

मोदीको अति महत्वाकांक्षा

महत्वाकांक्षा मोदी भारतभित्र प्रभावशाली बनेर प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्तित्व बन्नेतर्फ बढे । कहिले चीनका राष्ट्रपनि सी जिनपीङलाई गुजरातमा सिधै अवतरण गराएर सामथ्र्य प्रस्तुत गरे त कहिले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई गणतन्त्र दिवसका दिन प्रमुख अतिथि बनाएर अंकमाल गरे । कहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिल्ली निम्त्याएर परम्परागत सम्बन्धबाट लाभ लिन खोजे ।

बदलिँदो बहुध्रुवीय विश्वमा मोदीको गतिविधिले शंका आशंकाहरू बढ्न पुग्यो । पाकिस्तानको सेना दिवसको परेडमा चिनियाँ राष्ट्रपति मुख्य अतिथि हुने चर्चाले भारतीय राजनीतिमा तरंग आयो । मोदीको बाहृय सम्बन्धको परिणामले यस्तो अवस्था आउन लागेको भन्दै आलोचनाहरू भए ।

वाचा पूरा भएनन्

मोदीले चुनावमा धेरै वाचाहरू गरेका थिए । जसमध्ये भ्रष्टाचार अन्त गर्ने र विदेशमा रहेको कालो धन फिर्ता गर्ने मुद्दासमेत थियो । मोदी सरकारले वाचा पूरा गर्नु त कता हो कता, आवश्यक कदमसमेत चाल्न सकेन । मोदीलाई मत दिएका सुशासन पक्षधर जनता निराश भए । विशेषगरी राजधानी दिल्लीका जनता छिट्टै असन्तुष्ट देखिए । हिन्दुवादी नेताको परिचय पाएका मोदीले अन्य धर्मका जनतालाई आश्वस्त पार्न सकेनन् । न कि हिन्दु धर्मालम्बीहरूको चाहनालाई पूरा गर्नेतर्फ ठोस कदम चाल्न सके ।

जुन करिश्माको आडमा सत्तारोहरण गरे, त्यो करिश्मा सम्हाल्न मोदीलाई गार्‍हो भइरहेछ । विपक्षमा छँदा जुन हदको चर्का भाषण गरे त्यो नै उनका लागि सत्तामा पुगेपछि समस्या बन्दैछ । जुन वाचा गरेका थिए त्यसलाई पूरा गर्नु चुनौतीपूर्ण भइरहेछ ।

मोदीको त्याग र गम्भीरतामा खोट लगाउने ठाउँ कमै छ । तर, परिणाम दिनमा कमी कमजोरी देखिँदैछ । आर्थिक कायापलटमा गुजरातलाई भारतकै उदाहरणीय राज्य बनाउन सफल भए पनि समग्र भारतलाई सोही अवस्थामा पुर्‍याउने सामथ्र्य देखाउन सकेका छैनन् मोदीले ।

अबको सम्भावना

आपलाई दिल्लीको सत्ता जिम्मेवारी भन्दा पनि बोझ हुने विगतबाट देखिइसकेको छ । सस्तो लोकपि्रयताका लागि भाषणवाजी र वाचा केजरीवालले गरेका छन् । निःशुल्क पानी, बिजुली, भ्रष्टाचारमुक्त सरकारलगायतको वाचा पूरा गर्न सहज छैन ।

विगतमा सत्तामा रहेर पनि विपक्षीजस्तो व्यवहार गरेर केजरीवालले झड्का खाएका थिए ।

आपले लोकसभा चुनावमा दिल्लीमा कुनै सिट जित्न सकेन । भारतीय राजनीतिमा भाजपामाथि विपक्षीको साँठगाँठले परिणाम आपको पोल्टामा गए पनि उसका लागि सत्ता सञ्चालन सहज छैन ।

दिल्लीमा भोगेको पराजयले मोदी टिमको रणनीतिलाई झड्का परेको छ । भाजपाको आन्तरिक राजनीतिमा समेत यसले खलबली पैदा गरिसक्यो । अर्कोतर्फ मोदीको बाँकी कार्यकालमा चुनौती बढ्ने परिदृश्य देखिइसक्यो । बहुमतको सरकार सञ्चालन गरिरहेको दल राजधानीमा कडा विपक्षीको सामना गर्न वाध्य हुनेछ ।

(केसी जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment