२७ माघ काठमाडौं । हिमालयन बैंकले मंगलबारदेखि मलेसियाको, मेदान पासार, क्वालालम्पुरमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । यो नेपाली विदेशमा नेपाली बैंकको पहिलो शाखा हो ।
उक्त सम्पर्क कार्यालयको उदघाटन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले सम्पर्क कार्यालयको स्थापनाले नियमित विप्रेषण सेवामा सहजताका साथसाथै दुई देश बीचको व्यापार अभिबृद्धिमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
उनले दुई देशबीच लगानीका सम्भाव्य क्षेत्रहरु जस्तै पर्यटन, व्यापार, वित्तिय सेवा, संयुक्त लगानी, आधिकारीक विक्रय केन्द्र आदिको प्रबर्द्धनका लागि समेत थप अवसरहरु सृजना हुने बताए ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले सम्पर्क कार्यालयको स्थापना दुई देशबीचको व्यावसायिक तथा सामाजिक सम्बन्धको अभिबृद्धिमा कोशेढुंगो सावित हुने विश्वास व्यक्त गरे ।
बैंकले सन २००३ देखि रोजगारको सिलसिलामा मलेसियाको विभिन्न प्रान्त तथा शहरहरुमा बसोवास गरी कामगर्दै आएका नेपालीहरुका लागि हिमाल रेमिट मार्फत विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ ।
मलेसियास्थित नेपालीहरुलाई सहज विप्रेषण सेवा उपलब्ध गराउन हाल बैंकको करीव १४ वटा स्थानीय विप्रेषण कम्पनीहरुसंग साझेदारी व्यवस्था गरेको जनाएको छ । यो सम्पर्क कार्यालयको स्थापनावाट मलेसियास्थित नेपाली कामदारहरु बीच बैंक प्रतिको विश्वासमा अझ बृद्धि हुने बैंकले जनाएको छ ।
सम्पर्क कार्यालयले मलेसियास्थित नेपालीहरु बीच बैंक तथा बैंकको हिमाल रेमिट सेवाको प्रबर्द्धन गर्नुका साथसाथै नेपाली कामदारहरुलाई त्याहाँबाट स्वदेशमा आफ्ना परिवारका सदस्यहरुलाई बिप्रेषण गरी रकम पठाउँदा बैधानिक माध्यमबाट मात्र रकम पठाउन पनि आव्हान गर्ने बताइएको छ ।
उद्घाटन समारोहमा मलेसियाका लागि नेपाली राजदुत महामहिम डा. निरञ्जन मान सिंह बस्न्यात, मलेसिया स्थित नेपाली व्यापारीहरु, बैंकका साझेदार विप्रेषण कम्पनीका पदाधिकारीहरु, अन्य स्थानीय व्यक्तित्वहरु, बैंक सञ्चालक समितिका सदस्यहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको पनि उपस्थित थिए ।
प्रतिक्रिया 4