१ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले सहमतिमा नआए उपसभामुख ओनसरी घर्तीको अध्यक्षतामा छुट्टै संविधानसभाको बैठक बस्ने नयाँ योजना अघि सारेका छन् ।

‘हामी अर्को संविधानसभाको बैठक बसाउँछौं,’ शुक्रबार प्रचण्डले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने, ‘१५० जना संविधानसभाका सदस्य उपसभामुखको अध्यक्षता बैठकै बस्यो भने संविधानसभा छाडेको हुन्छ कि के गरेको हुन्छ ?’
विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘समानान्तर सरकार‘ बनाउन सकिने बताएका प्रचण्डले शुक्रबार बिहान अनलाइनखबरसँग भने- ‘उस्तै पर्यो भने ३० दलका बाहिर निस्किएर संविधानसभाको बैठक गर्नुपर्ने हुन सक्छ, उपसभामुखको नेतृत्वमा ।’
अनलाइनखबरले प्रचण्डलाई प्रश्न गरेको थियो- ‘तपाईहरुले संविधानसभा छाड्ने र समानान्तर सरकार चलाउने कुरा गरेको कांग्रेस-एमालेलाई प्रेसर दिन मात्रै हो कि साँच्चै गरेरै देखाउन हो ?
जवाफ प्रचण्डकै शब्दमा-
यो यस्तो हो, यो कुरोलाई के बुझौं भने कांग्रेस र एमाले पछि हटेर शान्ति सम्झौता, अन्तरिम संविधानअनुसार सहमतिबाटै संविधान बनाउनेमा आउनुभयो भने यो कुरा प्रेसरै हो । प्रेसरका लागि भनेको हो । उहाँहरुले जबरजस्ती गर्नुभयो भने यो प्रेसर होइन, यो साँचो कुरा हो ।
संविधानसभा छाडेर जाने भनेको हामी अर्को संविधानसभाको बैठक बसाउँछौं, १५० जना संविधानसभाका सदस्य उपसभामुखको अध्यक्षता बैठकै बस्यो भने छाडेको हुन्छ कि के गरेको हुन्छ ? त्यसकारण यो साँचो कुरा पनि हो । उहाँहरु एक स्टेप पछि हट्नुभो र राष्ट्रप्रति यो ऐतिहासिक परिवर्तनलाई सम्मान गर्नुभो भने यो ‘प्रेसर ट्याक्टिस’ हो, उहाँहरुले जबरजस्ती गर्नुभो भने यो प्रेसर ट्याक्टिस होइन, यो ‘रियल पोलिटिक्स’ हो ।
उस्तै पर्यो भने ३० दलका बाहिर निस्किएर संविधानसभाको बैठक गर्नुपर्ने हुन सक्छ, जो उपसभामुखको नेतृत्वमा । हामी शान्ति सम्झौताको पक्षधरको संविधानसभा हो यो । उतापट्टी कांग्रेस एमालेहरु शान्ति सम्झौता विरोधीहरु, परिवर्तन विरोधीहरुको संविधानसभा त्यो भयो, हाम्रो यो संविधानसभा भन्नुपर्ने स्थिति पनि आउन सक्छ भन्या छु मैले । आइहाल्छ भन्ने मेरो निश्कर्ष पनि होइन ।
नेपालको राजनीति बडो पेचिलो ढंले अगाडि बढ्दैछ । यदि कांग्रेस एमालेले हिजोका ऐतिहासिक सम्झौताहरुलाई सम्मान गर्न छोडे र उनीहरु जर्बजस्ती गर्न खोज्छन् भने हामीलाई त्यो अधिकार आउँछ र माओवादी आन्दोलन हो । यो एउटा विचार पनि हो, एउटा आन्दोलन हो, परिवर्तनको बाहक पनि हो । अहिले पनि कुनै मुद्दाबाट माओवादी दायाँबायाँ भएको छैन । उसको शक्ति कमजोर भयो होला, बाटोमा चिप्लियो होला उ, तर एउटा ऐतिहासिक दायित्वबाट उ चाँही बाहिर गएको छैन । उसँग माओवादीले आत्मसमर्पण गरेको छैन र गर्दा पनि गर्दैन ।
अहिले विभिन्न टुक्रामा विभाजन भएको भए पनि ती सबै एक ठाउँमा केन्दि्रत बन्ने स्थिति बन्छ भन्ने मलाई लाग्छ । तर अहिलेकै चरणको कुरा गर्दा हामीले भनिराख्या छौं कि कांग्रेस एमालेले त्यसो नगरुन् । शान्ति सम्झौता र सहमतिको सम्मान गरौं । परिवर्तन जे गर्छौं भनेर हिजो हस्ताक्षर गरेका छन्, उनीहरुले पनि त्यसप्रति इमान्दार बनुन् । त्यो भयो भने यो रडाकोतिर देश जाँदैन । एउटा संविधान एउटा कम्प्रमाइजको संविधान बन्छ । त्यसपछि आ-आफ्नै बाटो हुन्छ र हामी आफ्नो क्रान्तिलाई कम्प्लिट गर्नेतिर लागौंला र उहाँहरु आफ्नो बाटोमा लाग्नु होला । त्यो सम्भावना त हो । त्यसैभएर त १२ बुँदे गरियो सारा गरियो ।
अहिले उहाँहरु चाँही संसदमा बहुमत भएपछि १२ बुँदे पालना गर्नुनपर्ने, अन्तरिम संविधान पनि पालना गर्नुनपर्ने, शान्ति सम्झौतालाई सम्मान गर्नु नपर्ने, मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, थारु, सबैसँग त उहाँहरुले सम्झौता गर्नुभा’छ लिखितरुपमा । त्यो अनुसार अन्तरिम संविधान संसोधन गर्नुभाछ । त्यसलाई मान्यता दिनु नपर्ने भन्ने भयो भने यो देश निकै ठूलो राजनीतिक द्वन्द्वमा जान्छ ।
द्वन्द्व बहुआयामिक हुन सक्छ
मेरो भनाइ के छ भने यस्तो द्वन्द्वमा गयो भने यहाँ बहुआयामिक द्वन्द्व हुने खतरा छ । पहिला माओवादी एकातिर राज्य एकातिर हुने स्थिति छैन अहिले । अहिले धार्मिक पनि द्वन्द्व हुन सक्ने, जातीय द्वन्द्व पनि हुन सक्ने, वर्गीय द्वन्द्व त आफ्नो ठाउँमा छँदैछ । तथापि बहुआयामिक द्वन्द्व भयो भने देशका लागि यो घातक हुन्छ, त्यसकारण कांग्रेस, एमालेलाई मैले त जोड दिएर भन्न चाहिराख्या छु, तपाईँहरु त्यसलाई सम्मान गर्नुस्, गर्छु भन्याजति परिर्वतन संस्थागत गर्न इमान्दार भएर आउनुस् । होइन भने, यो देशचाहिँ तपाईँहरुकै कारणले बर्बाद भयो भन्ने हुन्छ ।
मैले देखेको विकल्प सम्भावना
एउटा सम्भावना देख्या छु मैले । मैले भनें नि, कि हामी शान्ति सम्झौतामा र अन्तरिम संविधानलाई सम्मान गर्नेहरु एक ठाउँमा अहिले जसरी बसेका छौं, भनौं न संविधानसभा भित्रैको १९ दल, या बाहिरका ३० दल, अरु पनि शक्तिहरुसँग हाम्रो कुराकानी चलिराख्या छ । त्यो शक्ति एक ठाउँमा केन्दि्रत भयो भने विल्पक चाँही हुन्छ यो । जनताले हेर्दाखेरि ए एउटा ठूलै विकल्प छ त देशमा भन्ने हुन्छ र त्यो बहुआयामिक द्वन्द्वलाई रोक्न सकिन्छ । र एउटा कोर्षतिर देशलाई लान सकिन्छ कि भन्ने मेरो दिमागमा त्यो छ र जो जोड गरिराख्या हुन्छु र त्यसखालको एउटा राष्ट्र असफल हुनेतिर नजाओस् । बैकल्पिक बाटो त छ भनेर जनतालाई विश्वस्त हुने बाटो बनोस् भन्ने गहिराइबाट नै म विचार गर्न खोजिराख्या छु ।
प्रचण्डको थप अन्तरवार्ता यहाँ पढ्नुहोस्
प्रतिक्रिया 4