४ फागुन, काठमाडौं । यस वर्ष सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ ।
सरकारले बजेट वक्तव्यमा यस वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । राष्ट्र बैंकले गरेको प्रक्षेपण गत वर्षको वृद्धिदर भन्दा कम छ । गत वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।
सोमबार राष्ट्र बैंकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै गभर्नर डा. युवराज खतिवडाले कृषि क्षेत्रको उत्पादन वृद्धिदर कम देखिएको हुँदा लक्ष्य हासिल गर्न गाह्रो परेको बताए ।
‘कृषि क्षेत्रको उत्पादन वृद्धिदर जम्मा २ प्रतिशतको हाराहारीमा छ, यस्तो अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न अन्य क्षेत्रको वृद्धिदर ८ प्रतिशत भन्दा माथि हुनुपर्छ, जुन अहिलेको अवस्थामा सम्भव देखिदैन,’ गभर्नर खतिवडाले भने- ‘यही कारण लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सम्भव देखिँदैन ।’
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा एक तिहाइ छ । उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर पनि यस वर्ष सामान्य रहने खतिवडाको भनाइ छ । कृषि क्षेत्रको वृद्धिदरमा संकुचन आइरहेको र उद्योग तथा सेवा क्षेत्रले पनि अपेक्षित गति लिन नसक्दा सरकारले लक्ष्य पछ्याउन समस्या पर्ने गरेको उनले बताए ।
यस वर्ष मुद्रास्फीति ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य हासिल हुने राष्ट्रबैंकले जनाएको छ । मुद्रास्फीति यस वर्ष लक्ष्यभन्दा १ प्रतिशत कम अर्थात ७ प्रतिशतको हाराहारीमा सीमित राख्ने प्रयास भइरहेको बताउँदै गभर्नर खतिवडाले अन्य सम्भावित जोखिमका कारण पूर्वनिर्धारित लक्ष्य नघटाएको जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार यस वर्षको छैठौं महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ९.७ प्रतिशत थियो । तथ्यांकले पनि यस वर्ष मुद्रास्फीति सुधारोन्मुख रहेको देखाएकाे छ ।
त्यसैगरी, मौद्रिक नीतिमा राखिएको ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने गरी विदेशी मुद्रा सञ्चिती कायम गर्ने लक्ष्य पनि हासिल हुने गभर्नर खतिवडाले बताए । यस वर्ष ५५ अर्बको शोधानान्तर बचत कायम रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।
प्रतिक्रिया 4