Comments Add Comment

ओलीको अर्थमन्त्री बन्ने दाउमा गभर्नर खतिवडा

Governer
पुष्प दुलाल
५ फागुन, काठमाडौं । एक महिनाभित्र अवकाश पाउन लागेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले अवकाशपछि आफू राजनीतिमा लाग्ने बताएका छन् । उनको ध्यान आगामी दिनमा अर्थमन्त्री बन्नेतिर देखिएको छ ।

सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेपश्चात एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र सो सरकारको अर्थमन्त्री डा. युवराज खतिवडा बन्ने भन्ने चर्चा चलिरहेकै बेला उनले आफू राजनीतिमा लाग्ने बताएका हुन् ।

एमालेको सिफारिसबाट राष्ट्र बैंकको गर्भनर बनेका खतिवडाको पाँच वर्षे कार्यकाल आगामी चैत ६ गते सकिँदैछ । त्यसपछि उनलाई राजनीतिमा प्रवेश गर्ने बाटो खुल्नेछ ।

सरकारी सेवामा आर्जन गरेको ३० वर्षे ज्ञान र प्राप्त क्षमता राष्ट्रको नीति निर्माणमा लगाउन इच्छुक रहेको खतिवडाले बताए ।

‘योजना आयोगको उपाध्यक्ष पनि भएँ । गभर्नर पनि भएँ, गभर्नर खतिवडाले अनलाइनखबरसँग भने, ‘अब तपाई नै भन्नुहोस्, म पत्रिकामा लेख लेख्दै बसूँ कि ? काम नगरी खाली बसूँ वा, राजनीतिमा जाउँ ?’
मंगलबार बिहान आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै खतिवडाले भने- ‘आफूले प्राप्त गरेको ज्ञान र क्षमता राष्ट्र विकासमा लगाउन त कुनै न कुनै रुपमा राजनीतिमा रहनैपर्‍यो नि, होइन र ?’

हाल सरकारमा सहभागी १० मन्त्री मध्ये एमालेले ८ जना गैरसभासदलाई पठाएका बेला खतिवडाको अर्थमन्त्री बन्ने बाटो रोकिने अवस्था छैन ।

एमालेमा अर्थमन्त्रीको रुपमा चर्चामा आउने गरेका सुरेन्द्र पाण्डे माधव नेपाल पक्षमा भएकाले केपी ओलीलाई आफ्नो सम्भावित सरकारमा एकजना अर्थविदको खाँचो पनि छ ।

यद्यपि कसरी राजनीतिमा जाने भन्ने निर्णय गरिनसकेको खतिवडाले बताए । ‘राजनीतिमा जाने निश्चत हो तर, सक्रिय राजनीतिमा जाने निर्णयचाहिँ गरिसकेको छैन,’ उनले भने- ‘यत्ति बुझ्नुहोस्, झापा गएर चुनाव लड्ने पक्षमा छैन ।’

कसरी र कुन पार्टीको राजनीतिमा लाग्ने भन्ने खतिवडाले खुलाएका छैनन् । तर, उनको पृष्ठभूमि हेर्दा उनले एमालेबाटै राजनीतिमा सहभागिता जनाउने सम्भावना प्रष्ट छ ।

गभर्नर खतिवडाको राजनीतिक पृष्ठभूमि एमाले नै हो । ०४१ साल चैतमा राष्ट्र बैंकमा जागिर सुरु गरेका खतिवडाले ०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । राष्ट्र बैंकमा रहँदा नै डा. भीम न्यौपाने, केशव आचार्य र युवराज खतिवडाले पहिलोपटक कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताइन्छ ।

खतिवडालाई माधव नेपाल नेतृत्वको सरकारले ०६६ साल चैत ६ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छाडेर उनी गभर्नर भएका हुन् ।

मन्त्रिपरिषद अध्यक्ष चलाएका खिलराज रेग्मी र पूर्वअर्थमन्त्री शंकर कोइरालाले पनि राजनीति नगरी सरकारको नेतृत्व गरेको स्मरण गर्दै खतिवडाले यदि राज्यले आवश्यक ठाने उचित जिम्मेवारी लिन आफू तयार रहेको बताए ।

राजनीतिमा नलागी आफूले प्राप्त गरेको ज्ञान र क्षमता राष्ट्र निर्माणमा लगाउन नसकिने खतिवडाको ठहर छ । खतिवडाको संकेत राजनीतिमा लागेर अर्थमन्त्री बन्नेतर्फ देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment