६ फागुन, काठमाडौं । दुई छिमेकी देशमध्ये भारतसँगको नेपालको निर्यात घटेको छ भने चीनसँग बढेको छ । समग्रमा छ महिनायता नेपालको निर्यात ३.९ प्रतिशत घटेको छ ।
अघिल्लो वर्षको पहिलो ६ महिनामा ४५ अर्ब १४ करोड रुपैयाँ बरारबरको वस्तुहरु नेपालबाट निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ४३ अर्ब ३९ रुपैयाँ बराबरको मात्र वस्तुहरु निर्यात भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा भारतसँगको निर्यात ८.१ प्रतिशतले घटेको देखाइएको छ । भारतमा हुने निर्यात घटेपछि यसले समग्र निर्यात घटेको देखिएको हो ।
भारतमा अघिल्लो वर्ष २९ अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष जम्मा २७ अर्ब १६ करोड रुपैयाँ बरारबरको बस्तुहरु निर्यात भएको छ ।
तर, यस अवधिमा चीनतर्फको नेपालको निर्यात भने १६.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । ६ महिनाको अवधिमा चीनमा १ अर्ब ८ करोड रुपैयाँको वस्तुहरु निर्यात भएको छ । अघिल्लो वर्षको ६ महिनामा चीनमा ७५ हजार रुपैयाँ बरारबरको वस्तुहरु निर्यात भएको थियो ।
यस अन्य मुलुकसँगको निर्यात पनि बढेको छ । तर, यो वृद्धिदर चीनमाजस्तो नभई ३ प्रतिशतमात्र छ । राष्ट्र बैंकका अनुसार यस अवधिसम्म अन्य मुलुकतर्फ १४ अर्ब ६५ करोड रुपैयाँको वस्तुहरु निर्यात भएको छ ।
राष्ट्र बैंकका अनुसार नेपालबाट चीनमा प्रशोधित छाला, उनी गलैंचा, नुडल्सको निर्यात बढेको छ । त्यस्तै अन्य मुलुकतर्फ पश्मिना, तयारी पोशाक, चिया र चाँदीका गरगहना लगायतका वस्तुको बढेको छ ।
भारतसँग दुई तिहाइ व्यापार घाटा
यसैवीच चामल, यातायात र घर निर्माणमा प्रयोग गरिने बिलेट लगायतका वस्तुहरुको आयात बढेपछि भारतसँगको व्यापार घाटा ६ महिनामा दुई खर्ब १३ अर्ब नाघेको छ ।
अघिल्लो वर्षको यही अवधिमा भारतसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । नेपालको वैदेशिक व्यापारमा भारतले कुल व्यापारको दुई तिहाइ हिस्सा ओगट्दै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जसमध्ये झण्डै सवा दुई खर्ब भारसँगमात्र रहेको छ ।
पछिल्ला महिनामा पेट्रोलियको मूल्यमा आएको भारी गिरावटले भारतसँगको आयात वृद्धिदर भने घटेको छ । अघिल्लो वर्षको ६ महिनामा २५ प्रतिशतले बढेको आयात यो ६ महिनामा ९ प्रतिशतले मात्र बढ्न पुगेको छ ।
नेपालको व्यापार घाटामा पेट्रोलियम पदार्थको ठूलो हिस्सा रहेको छ । यस अवधिमा भारतबाट ५६ अर्ब ५२ करोड रुपैयाँ बराबरको पेट्रोलिय आयात भएको छ । अघिल्लो वर्षको यही अवधिमा ६० अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम आयात गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार ६ महिनामा भारतबाट दुई खर्ब ४१ अर्ब रुपैयाँ बराबरको वस्तुहरु आयात भएको छ भने २७ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएको छ । यस अवधिमा भारतसँमा हुने निर्यात ८ प्रतिसतले खस्किएको छ भने आयात ९.३ प्रतिशतले बढेको छ ।
भारतबाट आयात हुने मुख्य १० वस्तु
वस्तुहरु | रकम (दश लाखमा) |
---|---|
पेट्रोलियम | ५६५२६.३ |
एमएस बिलेट | १५७७६.३ |
सवारी तथा पार्टस् | २३०५९.६ |
औषधि | ८८७२.४ |
अन्य मेसिनरी पार्टस् | ८५५७.३ |
चामल | ६७४६.६ |
हटरोटल शीट इन क्वेल | ६१८२.८ |
इलेक्ट्रिकल उपकरण | ४२८५.१ |
धागो | ४८३८.८ |
कृषि औजार तथा पार्टस् | ४६७९.१ |
भारतसँगको व्यापार घाटा उच्च बनाउन सवारी साधन तथा पार्टसहरुको पनि ठूलो भूमिका रहेको देखिन्छ । विलासिताको वस्तुका रुपमा लिइने सवारी अत्यावश्यक हुन थालेपछि पछिल्ला वर्षहरुमा यातायातको साधनको आयात उच्च दरले बढिरहेको छ ।
गत वर्षको पहिलो ६ महिनामा १८ अर्ब ५८ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा स्पेर्यस पार्टसहरु आयात गरिएकोमा यस वर्षको सोही अवधिमा २३ अर्ब ५ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । जुन आयात झण्डै ५ अर्ब रुपैयाँले बढी हो ।
कृषि प्रधान मुलुक भएपनि नेपाल चामलमा पनि भारतसँग निर्भर हुनुपरेको छ । हरेक वर्ष भारतबाट आयात हुने चामलको परिमाण बढ्दै गइरहेको छ । समिक्षा अवधिमा पनि चामलको आयात ३४ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म भारतबाट ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिसम्म ५ अर्ब तीन करोड रुपैयाँको मात्र चामल आयत भएको थियो ।
एमएस बिलेटको आयात पनि ५१.८ प्रतिशतले बढेर १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिसम्म एमएस बिलेटको आयात १० अर्ब ३९ करोड रुपैयाँ थियो ।
भारुको मागले हाहाकार
भारतसँगको उच्च व्यापार घाटाका कारण राष्ट्र बैंकलाई भारुको माग व्यवस्थापन गर्न समेत धौ-धौ पर्ने गरेको छ । भारतीय रुपैयाँको माग व्यवस्थापन गर्न राष्ट्र बैंकले डलर भुक्तानी गरी समान आयात गर्न सकिने व्यवस्था गरेको छ । साथै, भारतीय मुद्राको अपूर्ति गर्न अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गर्ने काम पनि गर्दै आएको छ ।
यस अवधिसम्म अमेरिकी डलर भुक्तानी गरी ४० अर्ब ६५ करोड रुपैयाँ बराबरको भारतबाट सामान आयात गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशतले बढी हो ।
त्यसैगरी, ६ महिनाको अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर १ अर्ब ७४ करोड बिक्री गरी भारतीय रुपैयाँ १ खर्ब ६ अर्ब ९३ करोड रुपैयाँ खरिद गरेको गभर्नर खतिवडाले बताएका छन् ।
अघिल्लो वर्षको यसै अवधिसम्म राष्ट्र बैंकले अमेरिकी डलर १ अर्ब ४४ करोड बिक्री गरी भारतीय रुपैयाँ ८९ अर्ब ४१ करोड खरिद गरेको थियो ।
प्रतिक्रिया 4