+
+
Shares

ज्ञानेन्द्रले मुख खोले : मसँग भएका सहमति कार्यान्वयन गर

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते २३:२२

Ex-king-Gyanendra-shah

६ फागुन, काठमाडौं । एमाओवादी, मधेसवादी दल र आदिवासी-जनजातिले सरकारसँग विगतका सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र साहले पनि आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

तत्कालीन राजनीतिक दलहरु र मेरावीच जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसकोे सार्थकता रहन्छ

पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुको के सहमति भएको थियो भन्ने खुलाएका छैनन् । तर, उनले आफूसँग भएका ती सहमति र समझदारीलाई कार्यान्वयन गराउन आवश्यक रहेको बताएका छन् ।

फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै प्रष्टरुपमा भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसकोे सार्थकता रहन्छ ।’

के थियो सहमति ?

जनआन्दोलन भइरहेका बेला ०६३ साल बैसाख ८ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, आन्दोलन नरोकिएपछि बैसाख ११ गते उनले पुनः अर्को सम्बोधनमार्फत जनताको नासो जनतालाई फिर्ता गरेको भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरेका थिए ।

त्यतिबेला माओवादी नेताहरु शान्ति प्रक्रियामा आइसकेका थिएनन् । प्रतिनिधिसभा पुनस्थापनाका बेला कांग्रेस एमालेलगायतका संसदवादी दल र तत्कालीन राजावीच संवैधानिक राजतन्त्र राख्ने भित्री सहमति भएको चर्चा चलेको थियो ।

तर, त्यसबेला ज्ञानेन्द्रसँग संसदवादी दलले गरेको भनिएको सहमति गुपचुप अवस्थामै रहेको थियो । सो परिस्थितिबारे ९ वर्षपछि आएर पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुले सहमति र समझदारी गरेको औपचारिक स्वीकारोक्ति दिएका छन् ।

पूर्वराजाले आफूसँग भएको सहमतिको खुलासा मात्रै गरेका छैनन्, सार्वजनिकरुपमै त्यसलाई कार्यान्वयन गर्नसमेत भनेका छन् ।

एमाओवादी, मधेसवादी र जनजातिले नयाँ संविधानमा विगतका सहमति र सम्झौताको भाग खोजिरहेका बेला पूर्वराजाले पनि कांग्रेस र एमालेसँग आफूसँग भएको सहमति र समझदारीको अंश मागेका हुन् ।

‘नेपालको मूल कानून (संविधान) परिपूर्ण रुपमा आओस्,’ पूर्वराजा ज्ञानेन्द्र भन्छन्, ‘मुलुकको राज्य व्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस्, यही मेरो शुभकामना छ ।

००७ साल र ०६३ सालको सम्झना

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मन्तव्य दिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले ००७ सालको परिघटनासँग ०६३ सालको परिघटनालाई तुलना गर्दै भनेका छन्- ‘६४ वर्षअघि हाम्रा जिज्यू बुबा (त्रिभुवन) ले र ९ वर्ष अघिको बर्षारम्भ (०६३ बैसाख) मै म स्वयंले गरे/गराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कुरा म पुनःस्मरण गराउन चाहन्छु ।’

कचिंगल नगर, राष्ट्रिय धर्म अपनाऊ

पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई अलमल र कचिंगल छाडेर राष्ट्रिय धर्म र परम्पराअनुसार अघि बढ्न भनेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र भन्छन्- ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’

प्रजातन्त्र भनेको राष्ट्रको अलंकार हो भन्दै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र प्राप्तिका लागि बलिदान गर्ने सहिदहरुप्रति श्रद्धान्जली समेत अपूर्ण गरेका छन् ।

ganendra shah

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?