७ फागुन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिए लोकतन्त्र प्राप्तिको ७५ वर्ष अगाडि सुरु भएको आन्दोलनले सापेक्षिक पूर्णता पाउने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवम् राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा रहेको भन्दै लोकतान्त्रिक संविधान ल्याउनु नै नेपाललाई समृद्धि प्राप्तिको जीवन उत्सर्ग गर्ने प्रातःस्मरणीय सहिदहरूप्रति साँचो श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
१०४ वर्षे जहाँनिया राणाशासनलाई समाप्त पारी नेपाललाई प्रजातन्त्र, खुल्लापन र नागरिक शासनको दिशामा उन्मुख गराउने २००७ सालको क्रान्ति एउटा ऐतिहासिक परिघटना भएको स्मरण गर्दै तत्कालीन परिस्थितिमा त्यसका उपलब्धिलाई संस्थागत गर्न र निरन्तरता दिन नसकिएको भए तापनि यसले निर्माण गरेको प्रजातन्त्रको आधारशीला दूरगामी महत्वको रहेको उनको भनाइ छ ।
यस्तै २०४६ को संयुक्त जनआन्दोलनले स्थापना गरेको बहुदलीय व्यवस्था र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र २००७ सालले ल्याएको उन्नत राजनीतिक चेतना र अधिकार प्राप्तिको जगमा आधारित ऐतिहासिक उपलब्धि भएको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया 4