Comments Add Comment

बिहारकी रेणुदेवीको अभिव्यक्तिले खोल्यो नयाँ रहस्य

दीपेश केसी 

‘जातीय राज्य बनाए नेपाल टुक्राटुक्रा हुन्छ, नेपालको विनाश हुन्छ,’ मंगलबार रिपोर्टर्स क्लबमा भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणुदेवीले यस्तै कडा अभिव्यक्ति दिइन् । त्यसअघि पशुपतिनाथको दर्शन गरेर उनी भारतीय झण्डाअंकित स्कारपियो जीपमा पुतलीसडक ओर्लेर क्लबको हलभित्र पसेकी थिइन् ।

रेणुदेवी
रेणुदेवी

रेणुको गलामा सयपत्री फूलको माला थियो । निधारमा चन्दन र रातो टीका थियो । धार्मिक भ्रमणमा भए पनि सहयोगीसहित थिइन् उनी । ती सहयोगीमध्ये बिहारका विधायक पनि थिए ।

महाशिवरात्रीमा पशुपतिको दर्शन गर्ने उद्देश्यले काठमाडौं उत्रेकी रेणु दर्शनपछि निकै उत्साही देखिन्थिन् । जोसका साथ क्लबको मञ्चमा भाषण गर्ने क्रममा उनले एकाएक विवादास्पद अभिव्यक्ति दिन थालिन् ।

जातीय पहिचानसहितको राज्य र धर्मनिरपेक्ष कि सापेक्षको मुद्दाले नेपालको संविधान निर्माण प्रक्रिया अन्योलमा परिरहेका बेला त्यही सेरोफेरोमा रेणुका भनाइहरु छताछुल्ल भए ।

मन्तव्य सकेर प्रश्नोत्तर शुरू नहुँदै उनले पुनः भनिन्, ‘मलाई विवादमा आउने कुरा नबोल्न भन्छन्, तर यथार्थ जे छ, त्यही बोल्छु ।’ उपाध्यक्ष रेणुले भाजपाको आधिकारिक लाइनभन्दा बाहिर गएर बोलिन् होला भन्ने पत्याउन गाह्रो पर्छ ।

भारतको सत्तारूढ दलको उपाध्यक्षजस्तो पदमा रहेकी नेतृको अभिव्यक्तिलाई भारतीय दुतावासले भनेजसरी सहजै ‘व्यक्तिगत’ मान्न सकिन्न । भलै पत्रकारसँगको प्रश्नोत्तरका क्रममा उनले बोलेको विषय अहिले विवादमा परेको किन नहोस् । यथार्थमा उनको अभिव्यक्ति भारतीय जनता पार्टीको आधिकारिक धारणा नै हो ।

यद्यपि उपाध्यक्षको अभिव्यक्तिलाई दिल्लीबाट भाजपा महासचिव राममाधवले खण्डन गरेका छन् । विवादास्पद अभिव्यक्तिका कारण भाजपा असजिलोमा परेपछि वाध्य भएर खण्डन गरेको हो । यथार्थमा भाजपाको भित्री लाइन मुखरित भएको हो ।

भाजपाका अर्का नेता विजय जोलीले रिपोर्टर्स क्लब नेपालमा विहीबार बोल्दै रेणुदेवीको भनाईको खण्डन गर्न मानेनन् । उनले कुटनीतिक विषय संवेदनशील भएकाले भित्री विषय बाहिर प्रकाशमा ल्याउँदा विचार पुर्‍याउनुपर्ने बताएर आफै कुरा बुझ्न भने ।

NARENDRA-MODIभाजपाले किन खण्डन गर्‍यो ?

भाजपाले रेणुदेवीको अभिव्यक्ति ढिलो गरी खण्डन गर्‍यो । काठमाडौंस्थित भारतीय राजदूतावासले खण्डन गरेपछि मात्र खण्डन आएको हो । भारतीय राजदूतावासले प्रेस वक्तव्यमार्फत रेणुदेवीको विचारले भारत सरकारको नीति प्रतिविम्वित नगर्ने उल्लेख गरेको छ । रेणुदेवीको वक्तव्यहरूको सम्बन्धमा भारतीय राजदूतावासलाई जानकारी नभएको समेत भनिएको छ ।

भाजपाको लाइन र दूतावासको लाइन बाझिएको हो कि भन्ने आशय उत्पन्न भएपछि काठमाडौंबाट गएको सूचनाका आधारमा भाजपाले खण्डन त गर्‍यो तर अझै आशंका मेटिएकोेे छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा जे चाहन्छन्, त्यो भारतीय कर्मचारीतन्त्रको चाहनाभन्दा फरक रहेको आशंकालाई तत्काल मेट्न दुईवटा खण्डनसहितको विज्ञप्तिले भूमिका खेलेपनि आशंकालाई पूर्ण रूपमा मेट्न सकेको छैन ।

रेणुदेवीले किन बोलिन् ?

रेणुदेवीले मन्तव्यको प्रारम्भमा नेपालमा समयमा संविधान निर्माण गर्न आग्रह गर्दै यहाँको दीगो विकासमा केन्द्रित हुन जोड दिइन् । संविधान नबनेसम्म नेपाल अगाडि बढ्न नसक्ने भन्दै नेताहरूलाई नअल्मलिन सुझाव दिइन् ।

मन्तव्य सक्नेवित्तिकै क्लबका अध्यक्ष ऋषि धमलाले फ्लोर ओपन गरे । नेपाल बसाईंका क्रममा क्लबमा पुगिरहने पंक्तिकार पनि रेणुदेवीको अभिव्यक्ति सुनिरहेथ्यो । धमलाले पंक्तिकारलाई प्रश्नका लागि आग्रह गरेपछि यो पंक्तिकारले दुईवटा प्रश्न गर्‍यो, एक-नेपालमा जातीय पहिचानसहितको राज्यको माग उठिरहँदा भारतको औपचारिक धारणा के हो ? दोस्रो-के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?

भारतीय नेतादेखि कर्मचारीसम्मले कुटनीतिक मर्यादा तोडेर अभिव्यक्ति दिनु नौलो रहेन । बन्द कोठामा बसेर बलिया देशका नेताले कमजोर देशका नेतालाई यो या त्यो गर भन्छन्

रणुदेवीले जातीय राज्यको मागको आलोचना गर्दै त्यसले नेपालको विनाश हुने खतरा औंल्याइन् । जातीय मुद्दामा नअल्मलिन सुझाव दिइन् । नेपाल विगतमा पनि हिन्दु राज्य रहेको, अहिले पनि हिन्दु राज्य नै रहेको र भोलि पनि रहने अभिव्यक्ति दिइन् ।

हिन्दुको अर्थ संस्कार, सहिष्णुता र परम्परा हो भन्दै नेपालले यस्तो संस्कार अबलम्बन गरिरहेको बताइन् ।

पंक्तिकारले प्रतिप्रश्न गर्दै सोध्यो-मधेसी समुदायले आफ्नो अधिकारका लागि आवाज उठाइरहँदा मधेससँग सीमा जोडिएको बिहारकी बासिन्दा हुनुका नाताले के भन्नुहुन्छ ?

रेणुको उत्तर थियो-मलाई नेपाली थाहा छ, कुनै एक जाति वा समुदाय विशेषको कुरा नगर्नुहोस् । नेपालको विकास र प्रगति सबैले मिलेर गर्नुहोस् । कुनै एक जाति वा समुदायको कुरामा अल्मलिएर नेपालको हित हुँदैन । नेपाललाई बनाउने हो भने सबै नेपालीले एकसाथ हात उठाएर बढ्नुपर्छ ।

जातीयताको राजनीतिले कसैको हित नहुने उनको तर्क थियो ।

भाजपाको चाहना प्रतिविम्वित

रेणुदेवीको अभिव्यक्ति विवादमा आयो । तर, उनको विचार भारतीय जनता पार्टी नेपालमा के चाहन्छ भन्ने संकेत गर्छ । जातीय राज्यको पक्षमा भाजपा छैन ।

दीपेश केसी
दीपेश केसी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले भारतमा जातीयताका नाममा हुने गतिविधिको चर्को आलोचना गर्दै आएका छन् । जातीय द्वन्द्व र मुद्दाले भारतको आर्थिक विकासमा असर पुर्‍याएको निष्कर्ष भाजपाले धेरै पहिलेदेखि गर्दै आएको हो ।

हिन्दुवादी नेताको परिचय बोकेका मोदीले सत्तारोहणसँगै धार्मिक कट्टरता कम गरिसके । हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघका नाममा दिल्लीस्थित पाँचवटा चर्चमा आक्रमण भएपछि मौनता भंग गर्दै मोदीले मंगलबार सार्वजनिकरूपमा विना करकाप र प्रभावविना स्वेच्छाले कुनै पनि नागरिकले धर्म अंगीकार गर्न र मान्ने अधिकारलाई सरकारले सुनिश्चित गर्ने अभिव्यक्ति दिएका छन् । हरेक भारतीयको डीएनएमा सबै धर्मप्रति बराबर सम्मानभाव रहेको मोदीले बताएका छन् ।

भारतीय जनता पार्टी नेपाल हिन्दु राष्ट्र कायम भएको हेर्न चाहन्छ भन्ने धेरैलाई लाग्नु स्वाभाविक हो । भाजपाका प्रभावशाली नेताहरूले नेपाली नेताहरूसँगको भेटमा यसबारे चासो राख्दै आएका छन् । भाजपा अध्यक्ष हुँदा राजनाथ सिंहले नेपाली नेताहरूसँगको भेटमा हिन्दु राष्ट्र बनाउनेबारे सोच्न आग्रह गरेका थिए । हाल गृहमन्त्री भएका उनले चासो कम गरिसके नेपालमा धर्म परिवर्तन भइरहेको भन्दै भाजपाले कुरा उठाएको छ ।

विजय जोलीले प्रधानमन्त्री सुशील कोइरालादेखि एमाओवादी अध्यक्षसम्मलाई भेटेर नेपालमा भइरहेको धर्म परिवर्तनले भारतलाई समेत चुनौती दिएको औंल्याए । भाजपा हिन्दु राज्य कायम गर्नमा भन्दा धर्म परिवर्तन रोक्न दबाब दिने विषयमा केन्दि्रत रहने संकेत हो यो ।

हिन्दु राष्ट्र कायम गर्न सहयोगको याचना गर्दै दिल्ली पुग्ने नेताहरू भाजपा नेताहरूलाई भेटेपछि निराश भएर फर्कन्छन् । हिन्दुको विश्वसनीय नेता खोई ? यस्ता प्रश्न तेर्साएर हैरान पार्छन् । नेपालमा आएर भ्रामक हल्ला फैलाउने तिनै हुन् ।

धर्मनिरपेक्षबारे असन्तुष्ट भए पनि भाजपा उक्त मुद्दामा केन्दि्रत हुन चाहँदैन । नेपालको सवालमा पनि असन्तुष्टिका बाबजुद हिन्दु राष्ट्र कायम गर्नेबारे दबावमूलक गतिविधि बढाएको छैन । रेणुदेवीले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने-नपर्ने पक्षमा बोल्न चाहिनन् । उनले नेपाल हिन्दु राज्य नै रहेको उत्तर दिइन् ।

भारतको दोहोरो भूमिका

भारतीय नेतादेखि कर्मचारीसम्मले कुटनीतिक मर्यादा तोडेर अभिव्यक्ति दिनु नौलो रहेन । रेणुदेवीको अभिव्यक्तिले पनि कुटनीतिक मर्यादा नाघेका छन् । नेपालमा यो वा त्यो हुनुपर्छ भन्ने प्रकारको अभिव्यक्ति दिइन् । बन्द कोठामा बसेर बलिया देशका नेताले कमजोर देशका नेतालाई यो या त्यो गर भन्छन् ।

नेपालको राजनीतिमा प्रभावशाली रहँदै आएको भारतले बेला बेलामा त्यस्तै भूमिका देखाउने गरेको छ । राजनीतिक संकट र विवादका समयमा भारतीय नेतादेखि दूतसम्मको बाक्लो आवतजावत् हुनेगर्छ ।

संविधान निर्माण प्रक्रियामा दलहरूबीच विवाद उत्पन्न हुँदा भारतीय पक्षको चासो बढेको छ । भारतीय राजदूत रणजीत रोय नेताहरूसँगको भेटघाटमा सक्रिय भए । प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित राष्ट्रिय सुरक्षा सल्लाहकार अजितसिंह दोभल आए । उनको साथमा भाजपा उपाध्यक्ष भगतसिंह कोसियारी रहेबाट मोदीनिकटस्थहरू नेपालको राजनीतिक अवस्थाबारे नेताहरूसँग छुट्टाछुट्टै (वन टु वन) कुरा गर्ने निष्कर्षमा पुगेको हुनुपर्छ ।

अहिले कसको लाइन के हो भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लाइनमा दोभलले छलफल गरेर सन्देश पुर्‍याउलान् । नेपालको यथार्थ घटनाक्रमबारे दिल्लीमा सही सूचना नपुग्ने गरेको सवाल उठेपछि दोभल सीधा कुरा गर्न आएको बुझिएको छ । दोभलको भ्रमणले नयाँ सम्भावना जन्माउन सक्छ ।

दूतावास कर्मचारीसँग मोदीको अविश्वास

मोदीले काग्रेस आई नेतृत्वको सरकारका पालामा बढुवा भएका दुईजना सचिवलाई पदबाट हटाए । विदेश सचिव सुजाता सिंहलाई कार्यकाल छँदै हटाएर सुब्रमण्यम जयंशकरलाई ल्याए । गृहसचिव अनिल गोस्वामी राजीनामाका लागि बाध्य पारिए । यसबाट मोदीको उच्च तहका केही कर्मचारीहरूप्रतिको असन्तुष्टि मुखरित भयो ।

नेपाल मामलामा पनि दूतावासका कर्मचारीहरूप्रतिको असन्तुष्ट चर्चामा छ । सार्क शिखर सम्मेलनताका स्थलमार्ग हुँदै जनकपुर प्रवेश गर्ने निर्णयपछि कर्मचारीवृत्तको खल्बली पैदा भएको अभिव्यक्ति स्वयं मोदीले सार्वजनिकरूपमा दिएका थिए । नेपाल मामलामा यथार्थ सूचना नपुगिरहेकोतर्फ मोदीलाई भेटेरै केही विज्ञहरूले गुनासो गरेबाट उनी सचेत भएका छन् । नेपाल मामलामा आफैले बढी चासो लिएर काम गर्ने पहल गरिरहेको देखिन्छ । अहिले काठमाडौंमा देखिएको बिजेपी नेताहरुको भीडले यही संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment