Comments Add Comment

‘रेडलाइट’ खोज्दैछ काठमाडौं, ध्यान गर्दैछ थिम्पू !

नविन अर्याल/टिप्पणी

९ फागुन, भुटान । सामान्यतः पर्यटकलाई आकर्षित गर्न पश्चिमा शैलीको ‘रात्री जीवन’ आवश्यक पर्छ भन्ने नेपालीहरुको सोचाइ छ । तर, भुटान बुद्ध दर्शनमा उभिएर आफ्नै पूर्वीय मौलिक संस्कृतिका आधारमा सम्वृद्धितर्फ लम्किइरहेको छ ।

bhutan

सांस्कृतिक हिसाबले हेर्दा यस्तो लाग्छ, स्वयंभुको काखमा रहेको काठमाडौं ‘रेडलाइट एरिया’ खोजिरहेको छ । तर, थिम्पु भने चुपचाप ध्यान र आध्यात्मलाई पछ्याइरहेको छ । भनिन्छ, बिहानीले दिउँसोको संकेत गर्छ । यो यात्राले हामीलाई कहाँ पुर्‍याउला ? अनि भुटानलाई कता लैजाला ?

महिलाहरुका लागि नेपाल जति असुरक्षित बन्दैछ, उता भुटान महिलाका लागि स्वर्गजस्तो बनिरहेको छ । नेपालका क्याबिन रेष्टुरेन्टमा काम गर्ने महिला असुरक्षित बनिरहेका छन् । समाजको नैतिक मूल्य मान्यता स्खलित बन्दैछ । उता भुटानले चाहिँ पूर्वीय दर्शन र संस्कृतिलाई पछ्याएर शान्ति र सम्वृद्धि हासिल गरिरहेको छ । भुटानमा पाश्चात्य संस्कृतिलाई ठाउँ छैन ।

भुटानले खर्चालु पर्यटक भित्र्याउन रात्री जीवन नै चाहिन्छ भन्ने मान्यतालाई गलत सावित गरिदिएको छ । रात्री जीवन गैह्रकानुनी रहेको भुटानमा पर्यटकको आकर्षण बढिरहेकै छ । एकाध अबैध डिस्को क्लबहरु भेटिए पनि त्यहाँ युवतीलाई नांगै नचाइँदैन ।

नेपालमा पर्यटक आकर्षित गर्न रात्री जीवनलाई वैधानिकता दिएर सरकारले नै संरक्षण गर्नुपर्छ भन्ने बहस चलिरहेको छ । काठमाडौंको पर्यटकीयस्थल ठमेलमा रात्री जीवनको विकास हुँदै गइरहेको पाइन्छ । तर, यस्तो मान्यताप्रति भुटानको रुची छैन ।

भुटानमा रात्री जीवनमा मात्रै कडाइ छैन, लगाउने कपडादेखि निजी घर बनाउने मामिलामा समेत राज्यले चासो राख्ने गरेको छ ।

राजतन्त्र रहेको भुटानले पाश्चात्य जीवन शैलीप्रति अरुची देखाएको छ । स्थानीय मौलिक पहिरन, संस्कृति र रहन-सहनलाई उसले प्राथमिकतामा राखेको छ ।

अध्यात्मिक पर्यटनमा जोड

भुटानमा खासगरी अध्यात्मिक टुरिज्म अपनाइएको छ । भुटानमा आउने पर्यटक बुद्ध गुम्बामा गई ध्यान गरेर सन्तुष्टि लिने गर्छन् । परम्परादेखि मान्दै आएको बुद्धिष्ट संस्कृति र गुम्बामार्फत भुटानमा पर्यटकहरु आकर्षित गरिन्छ ।

नेपालमा भने मौलिक परम्परा र संस्कृति हराउँदै गएको गुनासो परम्परावादीहरुले गर्दै आएका छन् । भुटान अनुशासित र शान्त छ ।

भुटानले डिस्कोमाथि प्रतिवन्ध लगाउँदा नेपालमा ‘रेड एरिया’लाई कानुनी मान्यता दिनुपर्ने बहस चलिरहेको छ । नेपालमा च्याउसरी खुलेका कतिपय डान्सबारमा महिलामाथि यौनजन्य हिंसा हुने गरेको समाचार आइरहन्छ । प्रहरीले पटक-पटक होटल, क्लब, डिस्को तथा डान्स बारमा छापा मारेर जोडीहरु समात्ने गरेको छ । यसले नेपाली युवापुस्ता विकृतितर्फ लागेको प्रष्ट संकेत गर्छ ।

नेपाली युवतीहरु खुल्लारुपमा वन पिस ड्रेसअपमा हिँड्न सक्छन् । तर, भुटानी युवती वान पिसमा भेटिँदैनन् । अवैधरुपमा खुलेका डिस्कोमा नाच्दै गरेका त्यहाँका युवती पनि बख्खुमै भेटिन्छन् ।

महिलाको सक्रिय सहभागिता

यसको अर्थ यो होइन कि भुटानी युवतीहरु घरभित्र सीमित छन् । भुटानको सामाजिक र आर्थिक जीवनमा महिलाको उल्लेख्य सहभागिता छ । त्यहाँ आतिथ्य सत्कारमा महिलालाई प्राथमिकता दिइन्छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भुटान पर्यटन परिषदकी निर्देशक छिम्मी पेम
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भुटान पर्यटन परिषदकी निर्देशक छिम्मी पेम

हस्पिटालिटी इन्डष्ट्रिजमा महिला अगाडि छन् । महिलाहरु सुरक्षित र सम्मानित छन् । होटल र रेष्टुरेन्टहरुमा हाउस किपिङदेखि म्यानेजरसम्म सबै महिला नै देखिन्छन् ।

नेपाली पत्रकारको टोली राजधानी थिम्पु, पुनखा, पारो, बुमथाङ जहाँ पुग्दा पनि होटल तथा रेष्टुरेन्टमा सेवा गर्न महिला नै अगाडि आए ।

बख्खु लगाएर निकै शिष्ट ढंगबाट आतिथ्य सत्कार गर्ने भुटानी महिलाको व्यवहारबाट जो कोही आकर्षित हुन्छन् ।

राष्ट्रिय पोशाकको सम्मान

भुटान सरकारले आफ्ना नागरिकलाई अनिवार्यरुपमा राष्ट्रिय पोसाक लगाउनुपर्ने बाध्यत्मक नियम लागू गरेको छ । सरकारी तथा निजी कार्यालयमा काम गर्दा महिला पुरुषले राष्ट्रिय पोशाक लगाउनैपर्छ ।

बाटोमा भेटिने अधिकांश भुटानीहरु राष्ट्रिय पोशाक बक्खुमा देखिन्छन् ।

नेपालमा राष्ट्रिय पोषाक लगाउँदा एक्लो भइन्छ, भुटानमा नलगाँदा एक्लो भइन्छ । बख्खु नलगाइकन सर्वसाधारण नागरिकसमेत मन्दिर तथा सरकारी कार्यालयमा प्रवेश गर्न पाउँदैनन् । खासमा भन्ने हो भने नेपालसँग साझा राष्ट्रिय पोशाक नै छैन ।

आधुनिक जीवनबाट टाढा राखिएका भुटानीहरु आफ्नो पोशाक लगाउन पाउँदा गर्व महसुस हुने बताउँछन् । टुरिष्ट गाइड होस् वा सरकारी कर्मचारी होस्, होटलको कर्मचारी होस् वा सवारी चालक होस, राजा होउन वा मन्त्रीहरु सबै राष्ट्रिय पोशाक लगाउँछन् ।

गुम्बाजस्तै घर

भुटानी जनताको जीवनशैलीसमेत सामान्य छ । आधुनिक संस्कृतिबाट टाढा राखिएको हुँदा फुर्सदिला भुटानीहरुको दिनचर्या मन्दिरमा पूजापाठ र ध्यान गरेर बित्छ ।

भुटानी घर
भुटानी घर

भुटानको अर्को रमाइलो पक्ष हो एकै प्रकारको घर । भुटानमा आफुले चाहेजस्तो घर बनाउन पाइँदैन । जतिसुकै ठूलो घर ठड्याए पनि टिनले छाएर प्यागोडा शैलीमा बनाउनुपर्छ ।

घरमा पनि गुम्बामा जस्तै फूल-बुट्टाहरु कुँद्नुपर्छ । जसले गर्दा भुटानका घरहरु गुम्बालय जस्ता देखिन्छन् । सम्पूर्ण गाउँ तथा शहर नै गुम्बालय जस्तो देखिनु यहाँको मुख्य आकर्षण हो । भुटानी सरकारले मौलिक पहिरन र परम्परागत शैलीमा घरहरु बनाउनुपर्ने नियम लागू गरेको छ ।

घरहरु ठूला र खर्चिला देखिँदैनन् । प्रायः साना तर कलात्मक घरमा बस्छन् भुटानीहरु ।

भुटान सरकारले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्न कडा कानुनी व्यवस्था लागू गरेको छ । नेपालमा मौलिकपन खोज्न दुर्गम गाउँमा पुग्नुपर्छ । नभए म्युजियममै धाउनुपर्ने हुन्छ ।

राजासमेत सामान्य जीवन बिताउँछन्

भुटानका राजा पनि सर्वसाधारणजस्तै सामान्य जीवन बिताएको देखिन्छ । भुटानको राजदरबार कुनै भव्य महलजस्तो नदेखिएर कटेज जस्तो देखिन्छ । भित्र जस्तो भए पनि बाहिरबाट हेर्दा भुटानी राजाले सामान्य जीवन बिताएको महसुस हुन्छ ।

नागरिकलाई राष्ट्रिय पोशाक अनिवार्य गरेका राजाले आफै पनि राष्ट्रिय पोशाक लगाउँछन् । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे निजी गाडी प्रयोग गरेर हिँड्छन् ।

प्यासिफिक एशियन ट्राभल एशोसियसन (पाटा) सम्मेलनमा आउँदा उनी साधारण व्यक्तिजस्तै बनेर आएका थिए । उनका सुरक्षा गार्डसमेत त्यति धेरै देखिँदैनथे । नेपालमा अगाडि-पछडि सुरक्षाकर्मी राखेर साइरन बजाउँदै प्रधानमन्त्रीको सवारी हुने गर्छ ।

भुटान सवा ७ लाख जनसंख्या भएको मुुलुक हो । यहाँको जोङ (किल्ला) मा एकैठाउँ सरकारी कार्यालय र बुद्ध मन्दिर रहेको भेटिन्छ । यसलाई ब्रान्डिङ गरेर भुटानीहरुले पर्यटक आकर्षित गरिरहेका छन् ।

थिम्पुमा रहेको तासीछोदाङमा एकै ठाउँ मन्दिर र सरकारी कार्यालय छन् । प्रधानमन्त्रीको कार्यालयदेखि अन्य मन्त्रालयसम्म रहेको यस किल्लालाई युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृतका लागि प्रस्ताव गरिएको छ ।

जिल्लामा रहेका सरकारी कार्यालय पनि यस्तै जोङमा रहेका छन् । जहाँ सरकारी कार्यालय र मन्दिर एकै ठाउँमा छन् ।

नेपाली भाषामा स्वागत

नोर्बु भुटान ट्राभल्सका गाइड तेन्दिन दोर्जीका अनुसार झण्डै ९९ प्रतिशत भुटानीहरु नेपाली बुझ्छन् । ९५ प्रतिशतले नेपाली बोल्न पनि सक्छन् । भुटान पुग्ने नेपालीहरुलाई स्थानीय भाषा जोङ्खा वा अंग्रेजी बोल्नुपर्दैन, नेपाली बोले पुग्छ ।

भुटानी भाषा जोङ्खा भन्दा नेपाली भाषा बोल्न सजिलो रहेको स्थानीय बताउँछन् । तर, भुटान सरकारले यतिबेला नेपाली भाषामा निकै कडाइ गरेको छ ।

यो पनि पढ्नुहोस्
यस्तो पो देखियो भूटानको नालीबेली (फोटोफिचर सहित)
भुटानको पर्यटनबाट नेपालले के सिक्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment