Comments Add Comment

सार्वजनिक अपराधका मुद्दा एकैदिनमा छिनोफानो

१३ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयमा दर्ता हुन आएका सार्वजनिक अपराधसम्बन्धी मुद्दा एकैदिनमा फस्र्यौट गर्न थालेको छ । यस कदमपछि मुद्दा फर्स्योट हुने दरमा समेत तीब्रता आउन थालेको काठमाडौं प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले दोषीमाथि तत्काल कारबाही गरी निर्दोषलाई तत्काल न्याय पाएको अनुभूति दिलाउने उद्देश्यले सार्वजनिक अपराध मुद्दा एकैदिनमा फर्स्योट गर्न थालिएको जानकारी दिए । अर्यालले आइतबार एक घन्टाको अवधिमा १३ वटा मुद्दा फर्स्योट गरेको नयाँ पत्रिकामा खबर छ । ‘सार्वजनिक अपराधका मुद्दा त हामी एकैदिनमा टुंग्याउन थालेका छौं,’ अर्यालले भने, ‘अन्य मुद्दा पनि सकेसम्म चाँडो टुंग्याउने गरी आवश्यक गृहकार्य गरिरहेका छौं ।’

कार्यालयका अनुसार अर्याल प्रजिअ भएर आएपछि तीन महिनामा मात्रै सार्वजनिक अपराधसम्बन्धी एक हजार तीन सय ७५ वटा मुद्दा फर्स्योट भइसकेका छन् । चालू आर्थिक वर्षमा सार्वजनिक अपराधका तीन हजार दुई सय ८६ वटा मुद्दा दर्ता भएका छन् । हाल जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधलगायत विभिन्न प्रकृतिका गरी दैनिक २० वटाभन्दा बढी मुद्दा दर्ता हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment