१३ फागुन, काठमाडौं । भारतले स्वीकृति नदिँदा नेपाल वायु सेवा निगमको नयाँ एयरबसको पहिलो अन्तराष्ट्रिय उडान नै स्थगित भएको छ । उडान स्थगित भएको सूचना बुधबार विहान मात्रै पाएका झण्डै २ सय यात्रुहरु अलपत्र परेका छन् ।
भारतले मागेका बिभिन्न कागजपत्र निगमले समयमा बुझाउन नसकेपछि सगरमाथा नाम दिइएको ए ३२०-२०० एयरबसको पहिलो उडान नै प्रभावित भएको हो ।
शुक्रबार उडाउने योजना
निगमका प्रवक्ता रामहरी शर्माले अनलाइनखबरसँग भने, ‘हाम्रो अपरेसन अथोरिटी पाँच बर्षको थियो, जुन २०१५ सम्म भ्यालिड नै छ । तर, भारतले अरु धेरै कागजात माग्यो, मंगलबार राति १० बजेसम्म पनि मिलाउने प्रयास गर्यौं तर नसकेपछि क्यान्सिल गर्नै पर्ने स्थिति आयो ।’
भारतले अस्थायी उडान अनुमतिपत्रको सट्टा स्थायी अनुमति पत्र मागेको छ । यसैगरी नयाँ विमान दर्ता, ५ वर्ष भित्रमा भएका विमान दुर्घटना विवरण लगायतका कागजपत्र पनि मागेको छ । भारतले मागेअनुसारको कागजपत्र लिएर निगमका कर्मचारी दिल्लीमा दौडधूप गर्न व्यस्त छन् ।
‘आज दिनभरको प्रयासमा कागजात मिलाउने र शुक्रबार उडान भर्ने योजना छ,’ प्रवक्ता शर्माले भने ।
यात्रु अलपत्र
गत माघ २५ गते ‘सगरमाथा’ नाम दिइएको एयरवस काठमाडौं अवतरण गरेको थियो । बुधबार विहान ८ बजे दिल्लीमा पहिलो उडान भर्ने योजना बनाइएको थियो । सोही अनुसार अग्रिम टिकट बिक्री भएका थिए । नेपालबाट दिल्ली जानका लागि १३० र दिल्लीबाट नेपाल आउनका लागि ६५ टिकट बिक्री भएका थिए । तर एकाएक उडान स्थगित भएपछि यात्रुहरु समस्यामा परेका छन् ।
वैकल्पिक व्यवस्था
टिकट लिइसकेकाहरुलाई अर्को विमानमा पठाउने प्रयास भैरहेको छ । ‘तर सिट टाइट-टाइट छ, मिलाउने प्रयास गर्दैछौं,’ प्रवक्ता शर्माले भने ।
निगमको नयाँ एयरबसको सस्तो टिकट किनेकाहरु अब अर्को विमानमा जान पर्ने भएपछि महंगो टिकट तिर्नुपर्ने बाध्यता छ । तर, पनि सकेसम्म सहुलियतमा पठाउने प्रयास भैरहेको निगमले जनाएको छ ।
दिल्ली-काठमाण्डौंका लागि नेपाली यात्रुका लागि एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ छ । विदेशीको हकमा भने ८ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।
नयाँदिल्लीका लागि निगमले सातामा चार दिन उडान भर्ने तालिका बनाएको छ । विमान अभावमा निगमले दिल्ली-काठमाडौं उडान ०६८ मंसिर पछि गरेको छैन ।
प्रतिक्रिया 4