Comments Add Comment

बुढानीलकण्ठमा क्रिकेट रंगशाला निर्माणको शिलान्यास

Subarna-Shamsher-Cricket-Stadium

१७ फागुन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित गाम्चामा क्रिकेट रंगशाला निर्माणको आइतबार शिलान्यास गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका-१७ को गाम्चामा निर्माण गरिने सुवर्ण शमशेर स्मृति क्रिकेट स्टेडियमको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरे । कांग्रेस संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणाको नाममा रहने उक्त रंगशाला ९५ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कोइरालाले गरिबी र अभावग्रस्त मुलुकका रुपमा बदनाम हुँदै गएको नेपाललाई क्रिकेटको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै नेपाली त्रिकेट टीमलाई धन्यवाद दिए ।

रंगशाला तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३ वर्षभित्र उक्त रंगशालाले अहिलेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरुप पाउने सुवर्णशमशेर अध्ययन प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्काले बताए । पूरै निर्माण कार्य सकिन ५ देखि ७ वर्ष लाग्ने अध्यक्ष खड्काले जनाएका छन् ।

रंगशाला बन्ने सामुदायिक वनको जग्गालाई गत माघ १२ गतेको मन्त्रिपरिषद बैठकले  प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गरेको थियो ।

लगानी अनिश्चित, गगन थापाको प्रस्ताव पीपीपी मोडल 

स्टेडियम शिलान्यास भएपनि लगानी भने अझै अन्यौलमा नै देखिएको छ । रंगशालाको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

सुवर्णशमशेर अध्ययन प्रतिष्ठानले सरकारको लगानीमा नै रंगशाला निर्माण गर्ने सोच बनाएको देखिन्छ । हाल निर्वाचन क्षेत्र कोषबाट दिएको १० लाखले सामान्य काम भएको छ ।

तर, काठमाडौं चारका सभासद गगन थापाले भने पीपीपी मोडलबाट रंगशाला निर्माण गर्न प्रस्ताव गरेका छन् । उनले भने-‘सरकारले रकम दिन्छ र बनाउने भन्ने हो भने १० वर्षमा पनि बन्दैन ।’

सरकारले ५ करोड दिए २ करोड नगपालिका र ३ करोड नगरबासीबाट उठाएर रंगशाला निर्माण गर्ने कांग्रेस सभासद थापाको प्रस्ताव छ ।

कार्यक्रममा वनमन्त्री महेश आचार्य, कानूनमन्त्री नरहरि आचार्य र खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले रंगशाला निर्माणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले क्रिकेटमा राज्यले विशेष लगानी गर्नु पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment