२० फागुन काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा आवेदन दिन राजधानीमा सर्वसाधारणको भीड लागेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ४ लाख ८६ हजार कित्ता सेयर निष्कासन गरेको हो । निष्काशित सेयरमध्ये कम्पनीले २४ हजार ३ सय कित्ता सामूहिक लगानी कोषका लागि र ९ हजार ७ सय २० कित्ता सेयर कर्मचारीले पाउने छन् ।
बाँकी रहेको ४ लाख ५१ हजार ९८० कित्ता मात्रै सर्वसाधारणले पाउने छन् ।
सेयरका लागि आवेदन दिने बुधबार अन्तिम दिन भएकाले निष्काशनको जिम्मा पाएको बानेश्वरस्थित जनता बैंक सर्वसाधारणको ठूलो भिड लागेको छ ।
बरुण हाइड्रोले विद्युत उत्पादन केन्द्र संखुवासभाको जलजला गाविसमा ४.८ मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
त्यसैगरी ४१ अर्ब रुपैयाँको लागतमा ४ सय ५६ मेगावाट विद्यतु उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरको र्फम भर्न पनि कर्मचारीहरुको उत्तिकै भीड लागेको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतमा तामाकोशीको फर्म भर्न पाइन्छ । ०६७ साउन १४ गतेपछि अवकाश पाएका र त्यसअघि सेवा प्रवेश गरेका निजामती कर्मचारीले मात्रै सेयरमा आवेदन दिन पाउने छन् ।
प्रतिक्रिया 4