- उडान सुरु भए नभएको जानकारी लिन सूचनापाटीमा झुम्मिदै यात्रुहरु ।
२१ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमान रनवेमा दुर्घटना भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बुधबारदेखि ठप्प छ । विहीबार अनलाइनखबरको टोली एयरपोर्टमा पुग्दा कोही यात्रुहरु सडकमै सुतेका थिए, कोही झोक्राइरहेका थिए भने कोही समान बोक्ने ट्रलीमा झकाइरहेका भेटिए ।
विमानस्थलमा अलपत्र पर्नेहरुमा नेपाल घुमेर स्वदेश फर्किन लागेका पर्यटकदेखि अरबको भूमिमा श्रम गर्न जान लागेका युवा युवती र डिभि भरेर विदेशिनेहरुसमेत थिए ।
विमानस्थलमा पुगेका कतिपय यात्रुहरुमा उडान अवतरण रद्ध भएकोबारे जानकारी नै नभएको पाइयो । कतिपय भने विहीबार साँझ ५ बजेदेखि उडान सुरु हुने विश्वासमा विमानस्थल पुगेका थिए ।
म्यानपावर कम्पनिहरुले आफ्ना कर्मचारीहरु सहित यात्रुहरुलाई विमानस्थल लगेका थिए । तर, उडान नभएपछि ति यात्रुहरुको कन्तविजोग भयो ।
खोटाङका दिनेशकुमार राईलाई वैदेशिक रोजगारीका लागि बहराइन जानुपर्ने थियो । आजैको टिकट भएकाले उनी विहीबार बिहानै त्रिभुवन विमानस्थलमा पुगे । तर, त्यहाँ पसेपछिमात्र राईले थाहा पाए कि दुईदिनदेखि बाह्य उडान ठप्पै भएको रहेछ ।
‘बुधबार बिहान टर्किस एयरको विमान दुर्घटना भएको त मैले सुनेको थिएँ,’ राईले अनलाइनखबरसँग भने, ‘तर यो विमानका कारण बहराइन जाने बाटो नै बन्द होला भन्ने लागेको थिएन ।’
तनहुँका मणि थापाले वैदेशिक रोजगारीका लागि आज कतार जाने टिकट काटेका थिए । उनले पनि विमानस्थलमै आएपछि थाहा पाए कि दुर्घटनाग्रस्त टर्किस एयरको विमानको पखेटाले धावनमार्ग छेकेपछि अन्तरराष्ट्रिय उडान बुधबारदेखि नै ठप्प भएको रहेछ ।
‘विमानस्थलमा फोन गर्दा पनि लागेन, हामीलाई पूर्वसूचना नदिइएकाले दुख पाइयो,’ थापाले अनलाइनखबरसँग भने,’अहिले पनि विमानस्थल प्रशासनले हामीलाई कुनै सूचना दिएको छैन, यति धेरै यात्रुहरुले दुख पाइरहनु परेको छ ।’
राई र थापाजस्तै रोल्पाका टेकबहादुर बिक पनि बैदेशिक रोजगारीको सिलसिलामा भारत हुँदै साउदी अरेबिया जानका लागि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।’
सेवा ठप्प भए पनि एयरपोर्टमा भिडभाड
बुधबारदेखि विहीबार बेलुका पाँच बजेसम्म अन्तराष्ट्रिय उडान ठप्प हुने बताइए पनि विमानस्थलमा विहीबार बिहानैदेखि भीड लागेको छ । यहाँ १ हजारभन्दा बढी मानिसहरु देखिन्छन् ।
वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि विदेश जान टिकट लिएर विमानस्थलमा आएका एक हजारभन्दा बढी यात्रुहरुले ड्युटीमा खटिएका प्रहरीसँग विमान सेवा कतिबेला सुचारु हुन्छ भन्ने प्रश्न गरेर हैरान पारेका छन् ।
विमानसेवा ठप्प रहे पनि सुरक्षाकर्मीले विमानस्थलको गोल्डेन गेटबाट मानिसहरुलाई भित्र जान दिइरहेका कारण भीड बढेको छ । गेटमै रोक्दा नागरिकमा आक्रोश आउन सक्ने देखेर वास्तविकता बुझन दिइएको सुरक्षाकर्मी बताउँछन् ।
विमान चल्ने नचल्ने बुझेर फर्कने र विमानस्थलतर्फ जानेहरुको दोहोरो आवत जावत बाक्लै देखिएको छ ।
सेवा सुचारु हुनेबारे अन्योल
दुर्घटनाग्रस्त विमान हटाउन भारतीय फोर्स काठमाडौंमा आइसकेको छ । तर, आज विमान सेवा नखुल्ने भएको छ । भारतबाट आएको प्राविधिक टोलीले शुक्रबार विहान १० बजेसम्म टर्किस एयरलाइन्सको विमान पन्छाउन नसकिने बताएको छ ।
विहीबार बिहान ८ बजे भारतीय उद्धार टोली आइपुग्ने र बेलुका पाँच बजे विमान सेवा सुचारु हुने बताइएको थियो । भारतीय उद्दार टोली पाँच घण्टा ढीलो काठमाडौंमा ओर्लिएको छ ।
अलपत्र यात्रुका थप तस्वीरहरू हेर्नुहोस् –
प्रतिक्रिया 4